यस वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने

हिमाल प्रेस २१ वैशाख २०८० १५:१०
2
SHARE
यस वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौँ- यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार एक कार्यक्रम गर्दै यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने जानकारी गराएको हो।

विभागले सन् २०१३ देखि प्रत्येक वर्ष मनसुन सुरु हुनुपूर्व जेठ १८ गतेदेखि असोज १३ गतेसम्मको अवधिलाई मनसुन अवधि आकलन गर्दै सो अवधिको हावापानी प्रक्षेपण गर्दै आएको छ।

सोहीअनुसार बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरेको हो। सोही क्रममा मनसुन समयको वर्षा तथा तापक्रमको आकलनबारे जानकारी गराएको हो।

विभागको आकलनअनुसार आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ। कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

यसैगरी अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ रहेको छ। न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ। धेरैजसो भू–भागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्यपश्चिमी भू–भागमा पनि सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको भनाइ छ। त्यस्तै गण्डकी र बागमती प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

यस कार्यक्रमको प्रमुख उद्देश्य सरोकारवालालाई मौसम तथा जलवायु सूचनाबारे जानकारी गराउनु रहेको विभागले जानकारी दिएको छ। रासस

प्रकाशित: २१ वैशाख २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =