नर्भिकमा फरक ब्लड ग्रुपको मिर्गौला प्रत्यारोपण

हिमाल प्रेस २१ वैशाख २०८० १२:३७
नर्भिकमा फरक ब्लड ग्रुपको मिर्गौला प्रत्यारोपण

काठमाडौँ- थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले निकै जटिल र दुर्लभ मानिएको ‘एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट’मा सफलता प्राप्त गरेका छन्। एउटा ब्लड ग्रुपको व्यक्तिलाई अर्को ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मिर्गौला ट्रान्सप्लान्ट गर्ने विधि नै ‘एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट’ हो ।

सामान्यतया मिर्गौला फेल भएको व्यक्तिलाई उसैको ब्लड ग्रुपसँग मिल्ने व्यक्तिले मात्र दिन सक्ने र त्यस्ता मिर्गौला मात्र प्रत्यारोपण हुँदै आएकोमा नर्भिकमा फरक ब्लड ग्रुपबाट प्राप्त मिर्गौलाको प्रत्यारोपण गरिएको हो।

मिर्गौला फेल भई नर्भिकमा उपचाररत ७२ वर्षीय पुरुषलाई ६५ वर्षीया महिला दाताबाट प्राप्त मिर्गौला प्रत्यारोपण गरिएको हो। मिर्गौला प्राप्त गर्ने बिरामीको ब्लड ग्रुप ‘ओ’ थियो भने दाताको ‘ए’ थियो।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. आरके अग्रवाल र डा. सुमित आचार्य नेतृत्वको टिमले मिर्गौला प्रत्यारोपण गरेको हो। डा. आचार्यले भने, ‘जटिल विधिबाट उपचार गरी मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिलाई हामीले ६ दिनमै डिस्चार्ज गरेका थियौँ। उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ।’

उपचारमा संलग्न चिकित्सकका अनुसार मिर्गौला प्रत्यारोपण अघि र पछि रगतमा एन्टिबडीको स्तर कम गर्न र दाताको मिर्गौलालाई अस्वीकार गर्ने एन्टिबडीको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो। यस उपचारमा रगतबाट एन्टिबडी हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ। सामान्य खालको मिर्गौला प्रत्यारोपणको तुलनामा यो जटिल विधि रहेकोले यसको शुल्क भने केही महँगो पर्ने अस्पतालले जनाएको छ।

नर्भिकमा हालसम्म शतप्रतिशत सफलतासहित ७ वटा मिर्गौला प्रत्यारोपण भइसकेको छ।

प्रकाशित: २१ वैशाख २०८० १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fourteen =