हिमपहिरोमा परेका पाँच जनाको अवस्था अझै अज्ञात, खुल्यो पहिचान

हिमाल प्रेस २० वैशाख २०८० ९:४७
4
SHARES
हिमपहिरोमा परेका पाँच जनाको अवस्था अझै अज्ञात, खुल्यो पहिचान हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा खटिएको टोली।तस्बिर : रासस

काठमाडौँ- दार्चुला हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको अवस्था अझै अज्ञात छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक टर्कराज पाण्डेले मंगलबार राति अबेरसम्म खोजी भएपनि नभेटिएको जानकारी दिए।

मंगलबार दिउँसो पौने तीन बजे दार्चुलाको ब्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा १२ जना बेपत्ता भएका थिए।

बेपत्तामध्ये सात जना सम्पर्कमा आएको र पाँच जना अझै सम्पर्कविहीन भएको डीएसपी पाण्डेले जानकारी दिए।

बेपत्ता हुनेहरूमा चार महिला र एक पुरुष छन्। उनीहरूको खोजीका लागि बुधबार बिहानैबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको डीएसपी पाण्डेले जानकारी दिए।

सशस्त्र प्रहरी बलको नं ५० गुल्म छाङ्रु दार्चुलाबाट डीएसपी इश्वरी दत्त भट्टको नेतृत्वमा २१ जनाको टोली परिचालन भएको छ।
अहिले पनि वर्षा र हिमपात भइरहेका कारण खोजी तथा उद्दारमा समस्या हुनसक्ने डिएसपी पाण्डेले बताए।

खुल्यो पहिचान

बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन्।

दुवैजना आमाछोरा हुन्। यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन्।

प्रकाशित: २० वैशाख २०८० ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =