बेमौसमी झरीले भेडा मर्न थाले, किसान चिन्तित

हिमाल प्रेस १८ वैशाख २०८० २०:२६
4
SHARES
बेमौसमी झरीले भेडा मर्न थाले, किसान चिन्तित बेमौसमी वर्षाका कारण पाटीहाल्ने क्षेत्रमा चिसोले भेंडा मर्न थालेपछि न्यानो बनाउँदै भेंडापालक। एक सातादेखिको निरन्तर वर्षाले यहाँ दर्जनौँ भेंडा मरेका छन् । तस्बिर : डम्मर बुढा मगर/रासस

ढोरपाटन- चिसोले कठ्यांग्रिएर भेडा मर्दा किसानले लाखौँ रुपैयाँको नोक्सानी व्यहोर्नु परेको छ। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा कृषकले चरनका लागि ल्याएका ६० भेडा एक सातादेखि परेको अविरल वर्षाका कारण चिसाे हुँदा मरेका छन्।

उक्त भेडाको बजार मूल्य करिब १० लाख रुपैयाँ हुने र सो रकम बराबरको क्षति भएको भेडापालक जोरप्रसाद घर्ती मगरले जानकारी दिए। वैशाख ८ गतेदेखि लगातार पानी परिरहेको छ।

पानी परेका कारण भेडाले घाँस र दाना खान नपाउँदा भेडा मरेको घर्ती मगरको भनाइ छ। ‘पानी परेको धेरै दिन भयो, सुरुमा केही दिन हिउँ पनि थियो,’ उनले भने, ‘पानीले गर्दा घाँस काटेर खुवाउन पनि सकेका छैनौँ, यहाँ हजारभन्दा बढी भेडा हुँदा सबैलाई काटेर खुवाउन सक्ने अवस्था पनि छैन। अहिलेसम्म ६० भन्दाबढी भेडा मरिसके। अझ मर्ने सम्भावना छ।’

पातीहाल्ने क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। चिसोले गर्दा जनजीवन अत्यन्तै कष्टकर बनेको छ। हालसम्म जोरप्रसाद घर्ती मगरको २० वटा, सत गुरुङको २५, रास गुरुङको ३ वटा र प्रताप रोकाको १२ वटा भेडा मरेका छन्।

बेँसीमा घाँस सकिएपछि वैशाख ४ गते पातीहाल्ने भेडा लिएर आएका पूर्वीरुकुमको भूमे गाउँपालिका-१ का सत गुरुङले बताए। अझै केही दिन निरन्तर वर्षा भए यहाँ भएका सबै भेडा मर्ने गुरुङको भनाइ छ।

आफूहरूको मुख्य पेसा भेडापालन भएको भन्दै वर्षाले एकै सातामा लाखौँ नोक्सानी व्यहोर्नु परेको गुनासो उनको थियो। ‘भेडा पालेरै परिवार चलाएको थिएँ, तीन सय भेडामध्ये २५ वटा मरे अझै मर्न थालेका छन्,’ उनले भने, ‘निकै दुःख भयो, हामीले भेडा पाल्न थालेको धेरै वर्ष भयो, अहिलेसम्म यस्तो अनिष्ट भएको थिएन।’

अहिले गर्मी याम सुरु भएर पनि एकदमै चिसो रहेकाले सबै सकिने डर रहेको उनको भनाइ थियो। बेँसी लगौँ भने पनि भोकाएका भेडा बाटैमा मर्ने डर लागिरहेको उनले बताए।

पातीहाल्ने क्षेत्रमा तीनवटै जिल्लाका भेडापालक कृषकहरू भेडा लिएर आएका छन्। उनीहरूको गोठ तथा वरपर धमाधम भेडा मर्न थालेका छन्। दिनमै दर्जन भेडा मर्ने गरेको उनीहरूको भनाइ छ। पातीहाल्ने क्षेत्र ३ हजार २ सय मिटरको उचाइमा पर्छ। रासस

प्रकाशित: १८ वैशाख २०८० २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =