जनतालाई चिसोबाट जोगाउन राष्ट्रियसभा सदस्यले गराए सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ५ माघ २०७९ १६:१५
10
SHARES
जनतालाई चिसोबाट जोगाउन राष्ट्रियसभा सदस्यले गराए सरकारको ध्यानाकर्षण फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रियसभामाका सदस्यहरूले जनतालाई चिसोबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विशेष समयमा भाग लिने सदस्यले नवगठित राष्ट्रिय एकताको सरकारले मुलुकलाई विकास, समृद्धि र सुशासनतर्फ अघि बढाउन ढोका खुला भएको बताए।

नेकपा माओवादी केन्द्रका नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिए।

‘सबै उमेर समूहका व्यक्ति समेटिएको वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको आकाक्षालाई सम्बोधन गर्न सक्षम हुनेछ,’ उनले भने।

नेपाली कांग्रेसकी कमलादेवी पन्तले मुलुकको सडक यातायात अस्तव्यस्थ र पीडादायक रहेकाले तत्काल सुधारको आवश्यकता औंल्याइन्। ‘यात्राका लागि टिकट पाइन्न, कोचाकोच हुँदा महिला हिंसा हुन्छ, महिलाको अस्मिता जोगाउन कठिनछ, भाडादर मुखको बोलीअनुसार छ, यसमा सरकारको विशेष ध्यान पुगोस्, ई-टिकटको व्यवस्था गरियोस्,’ उनले भनिन्।

एमालेका तुलसादेवी दाहाल देशभित्रको आन्तरिक बसाइँसराइले भूगोलका आधारमा जनसंख्याको सन्तुलन र सामाजिक विविधतामा असर परेकाले बेलैमा त्यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइन्।

‘भ्रष्टाचार न्यूनीकरण र सुशसान कायम गर्नु आजको प्राथमिकता हो, तराईमा भइरहेको शीतलहर र हिमाली क्षेत्रमा बढिरहेको चिसोबाट नागरिकलाई जोगाउन न्यानो कपडा र दाउराको व्यवस्था गर्न आवश्यक छ,’ उनले भनिन्।

नेकपा एकीकृत समाजवादीकी गरिमा शाहले नेपाली तीर्थयात्रु बोकेर गएको बस भारतको लखनउमा दुर्घटना हुँदा त्यसमा सवारको निधन भएकामा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरिन्। माओवादी केन्द्रकी बिना पोखरेलले नयाँ सरकार इन्द्रेणीका रूपमा राष्ट्रिय सरकारकारूपमा परिणत भएकाले सबै नेपाली जनतामा उत्साह बढेको धारणा राखिन्।

एमालेका सुमित्रादेवी बिसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटक-पटक दोहरिएको बताइन्। -रासस

प्रकाशित: ५ माघ २०७९ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =