अनुदानले नपुगेपछि चन्दा उठाएर खेलमैदान निर्माण

हिमाल प्रेस १६ वैशाख २०८० ७:१५
4
SHARES
अनुदानले नपुगेपछि चन्दा उठाएर खेलमैदान निर्माण

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी चन्दा संकलन गरेर खेलमैदान निर्माण भएको छ।

घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा संकलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन्। क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट १४ लाख ३० हजार रुपैयाँ अनुदान प्राप्त भएको खेलमैदान बनाउन समुदायस्तरबाट ३४ लाख ७७ हजार रुपैयाँ सहयोग जुटेको बताए।

‘खेतबारी र घरको आगँनमा खेलअभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौँ’, उनले भने, ‘गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटाएर खेलमैदान निर्माण भएको छ।’

खेलमैदान निर्माण भएपछि भलिबल, बास्केटल खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभा समारोह आयोजना गर्न सहज भएको खेलाडी नवीन फगामीले बताए।

घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले रु चार लाख ५० हजारमा किनेर क्लबलाई उपलब्ध गराएको चार रोपनी जग्गामा ३० मिटर लम्बाइ र १७ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो।

खेलमैदान निर्माणका लागि फगामीले थप दुई लाख रुपैयाँ सहयोग गरेका थिए। उनीसहित स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले २७ लाख रुपैयाँ सहयोग गरेका छन्। गाउँका भूतपूर्व सैनिकले तीन लाख २७ हजार रुपैयाँ खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय बनाएका छन्।

गाउँपालिकाले प्याराफिट, घेराबार र स्टेज बनाउन १४ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ। अनुदान र चन्दाका अलावा एक सय घरधुरीको बसोबास रहेको घराम्दीका बासिन्दाले १०÷१० दिनभन्दा बढीका दरले श्रमदान पनि गरेका छन्।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्टेज बनाउन सात लाख ५० हजार रुपैयाँ विनियोजन भएको वडाध्यक्ष मइलन पुर्जाले बताए। उनका अनुसार यसअघि २०७८÷७९ मा दुई लाख असी हजार रुपैयाँ, २०७७÷७८ मा तीन लाख रुपैयाँ र २०७६÷०७७ मा एक लाख रुपैयाँ सहयोग गरिएको थियो।

‘गाउँपालिकाको अनुदानको तुलनामा दोब्बर बढी चन्दा र श्रमदान जुटाएर घराम्दीवासीले जनसहभागिताको नमूना प्रस्तुत गरेका छन’, वडाध्यक्ष पुर्जाले भने।

प्रकाशित: १६ वैशाख २०८० ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =