नाटककार जीतबहादुर देउजा सम्मानित

हिमाल प्रेस ९ वैशाख २०८० २१:०९
28
SHARES
नाटककार जीतबहादुर देउजा सम्मानित

भक्तपुर– वरिष्ठ नाट्यकार र एवम् पत्रकार जीतबहादुर देउजा (विजय विस्फोट) सम्मानित भएका छन्। स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले उनलाई शनिबार एक कार्यक्रमबीच बधाई तथा सम्मान गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री पदकबाट हालै विभुषित हुन सफल भएकोमा संघमा आबद्ध जिल्लावासीले उनलाई बधाई तथा सम्मान गरेका हुन्। स्वतन्त्र पत्रकार संघका केन्द्रीय सल्लाहकार डा. इन्दुल केसी र जिल्ला अध्यक्ष सुरेश सैंजुले संयुक्त रूपमा विभुषित विस्फोटलाई खादा ओढाई प्रमाण पत्र दिएर सम्मान गरिएको हो।

विभुषित विस्फोट भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुबासी हुन्। जिल्लातर्फ बाट विभुषित हुन सफल भएकोमा उनलाई बधाई तथा सम्मान गरिएको हो। नाटक क्षेत्रमा ४ दशक विताएका विस्फोटलाई नाटक क्षेत्रमा गरेको योगदानको कदरस्वरूप  उनी विभुषित भएका हुन्।

कार्यक्रममा सम्मानित व्यक्तित्व विस्फोटले राज्यको सर्वोच्च निकायबाट पाएको यो सम्मान पाउनुमा जिल्लाबासीको पनि प्रत्यक्ष अप्रत्यक्ष हात रहेको चर्चा गर्दै यही कारण आफनो सम्मानमा सम्पूर्ण जिल्लाबासीको गर्वको विषय भएको बताए।

उनले राष्टपतिबाट हुने सम्मान दलगत नभई योगदानको आधारमा स्वच्छ रूपमा हुनुपर्नेमा विशेष जोड दिए। आफ्नो व्यक्तित्वबारे चर्चा गर्दै उनी नेपालमा जन्मेको र बुबा भारतीय सेनामा कार्यरत रहँदा आफू भारतको नयाँ दिल्लीमा हुर्केको बताए।

भारतमा हुर्केबढेकाले आफूलाई नेपाली बोल्न नआउने र यही कारण जिल्ला प्रशासन कार्यालय भक्तपुरले नागरिकता लिन जाँदा आफूलाई पक्राउ गरी नजरबन्दमा राखेको स्मरण गरे। घटनापछि सारा आफनो गाउँ गुण्डुका जनप्रतिनिधि तथा गाउँले आई प्रमाणित गरेपछि आफूले नागरिकता पाएको उनले सम्झिए।

यही घटनाबाट आफूले नेपाली भाषाको स्वअध्ययन गर्न सुरु गरेको र यही क्रममा पत्रकार तथा नाटककार भएको उनले खुलासा गरे। ‘कुनै-कुनै घटनाले मानिसको जीवनलाई अर्कोतिर मोडदो रहेछ,’ उनले भने। कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार डा. इन्दुल केसीले स्वतन्त्र पत्रकारितामा जोड दिए। उनले व्यक्तिले जुनसुकै विचार राख्न पाउने तर त्यो समाचारमा पोख्न नपाउने बताए।

संघका केन्द्रीय पार्षद् स्वतन्त्र पत्रकार कृष्ण किसीले पत्रकारिताको स्वच्छतामा जोड दिए। पत्रकारिता पेशा सम्मानित पेशा भएको भन्दै उनले पत्रकारिता स्वच्छ हुनुपर्ने बताए। कार्यक्रममा स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरका सचिव प्रेम प्रजापति, सदस्य रामकृष्ण प्रजापतिलगायतले पत्रकारिताको महत्त्वबारे चर्चा गरे।

स्वतन्त्र पत्रकार संघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यक्रममा बधाई ज्ञापन गर्दै अघिल्लो कार्यकालका पदाधिकारी र सल्लाहकारहरूलाई प्रमाण पत्र प्रदान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =