रविप्रति बाबुरामको कटाक्ष- सिद्धान्तबिना राजनीतिमा आउनु नराम्रो संकेत

हिमाल प्रेस ९ वैशाख २०८० १७:१०
8
SHARES
रविप्रति बाबुरामको कटाक्ष- सिद्धान्तबिना राजनीतिमा आउनु नराम्रो संकेत फाइल तस्बिर

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अहिले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरूपी हावा बगिरहेको उनको भनाइ छ। वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको उनले जनाए।

देशभित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरूको उदय हुनु भनेको राम्रो संकेत नरहेको उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमा आइरहेको बताउँदै उनले लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको आरोप लगाए।

लामिछानेलाई चटके मानिसको संज्ञा दिँदै उनले यस्तो प्रवृत्तिबारे समाजले बेलैमा बुझ्न जरुरी रहेको उल्लेख गरे।

‘यो संविधान र हाम्रो लोकतन्त्र आधा गिलास भरिएको आधा गिलास खाली हो। अब हामीले गर्ने के हो भने यो आधा गिलासलाई जोगाउने हो। अब आधा गिलास पनि रिस उठेर घोप्ट्याउँछु भन्न थाल्नुभयो भने हेर्नुहोला के भइरहेको छ अहिले। पुराना शक्तिले त गरी खाँदै खाँदैनन्। हाम्रै पनि एउटा ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको छ,’ उनले भने, ‘हामी केही मान्छे बल्ल-तल्ल बच्ने कोशिस गरिरहेका छौँ। देश गम्भीर ढंगले प्रतिगमनतिर जाँदैछ। दक्षिणतिर हेर्नुहोस् जुन हावा बगिरहेको छ।, बडो डरलाग्दो प्रतिगामी हावा बगिरहेको छ।’

मार्क्सले बनाएका विचारहरूको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको उनको भनाइ छ।

प्रकाशित: ९ वैशाख २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =