एसीसी प्रिमियर कप : नेपाल र हङकङको सहज सुरुवात

हिमाल प्रेस ५ वैशाख २०८० १७:०६
18
SHARES
एसीसी प्रिमियर कप : नेपाल र हङकङको सहज सुरुवात

काठमाडौँ- शीम शार्की र कुशल मल्लले अर्धशतक बनाएपछि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार नेपालले २३६ रनको लक्ष्य पाएको थियो। भीमले ७१ र कुशलले ७० रन बनाएपछि नेपालले ३६.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो।

घरेलु समर्थकसामु नेपालको सुरुवात भने सोचेजस्तो रहेन। ओपनर आशिफ शेख तीन बलमा एक रन बनाएर आउट भए। उनलाई मोहम्मल वाफिकले ‘कट एन्ड बोल्ड’ गरेका थिए। तेस्रो नम्बरका ब्याट्सम्यान भीमले भने नेपाली इनिङ्स सम्हाले। उनले र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्नसके।

कुशल ३१ बलमा दुई छक्का र पाँच चौकाको सहयोगमा ३८ रन बनाएर बाहिरिए। भीमले भने ९८ बलमा ७१ रन जोड्न सफल भए। जसमा पाँच चौका सम्मिलित थिए। कप्तान रोहित पौडेलले पनि उल्लेखनीय रन बटुले। उनको नाममा ४३ बलमा ४२ रन रह्यो। भीम र कप्तान रोहितले ६६ रनको साझेदारी गर्नसके।

त्यसैगरी प्लेयर अफ द म्याच कुशल मल्लले तीव्र गतिमा ब्याटिङ गरे। अविजित रहेका उनले ४० बल सामना गरेर पाँच-पाँच छक्का र चौकाको मद्दतमा ७० रन बनाए। दीपेन्द्र सिंह ऐरी पाँच रनमा नटआउट रहे।

बलिङतर्फ मलेसियाका वाफिकबाहेक रिज्वान् हैदर, विजय उनी र विरनदीप सिंहको नाममा एक-एक विकेट रह्यो।

टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनाएको थियो। कप्तान अहमद फैज र ओपनर विरनदीप सिंहले ११६ रनको साझेदारी गरेपछि मलेसियाले मध्यम योगफल तयार पार्न सकेको थियो।

फैजले ९५ बलमा एक छक्का र आठ चौका हिर्काउँदै कुल ७६ रन बटुले। सिंहको नाममा ४६ रन रह्यो। उनी र अर्का ओपनर मोहम्मद अमिरबीच पहिलो विकेटका लागि २२ रनको साझेदारी भएको थियो।

पहिलो विकेट गुल्शन झाले छैटौँ ओभरमै दिलाए पनि दोस्रो विकेट लिन ३४ औँ ओभरसम्म पखर्नु परेको थियो। सन्दीप लामिछानेले आशिफ शेखमार्फत कप्तान फैजलाई हाउट गराएपछि मलेसियाले खडा गरेको सुरुवाती बलियो साझेदारी भत्किएको थियो।

त्यसपछि आएका कुनै पनि मलेसियाली ब्याट्सम्यानले फेरि एकपटक बलियो साझेदारी स्थापना गर्न सकेनन्। खिजार हयात २२ रनमा समेटिए भने श्याज्रुल इद्रुसले २१ रन बटुले। त्यसैगरी मोहम्मद श्याहादत १५ रन बनाएर बाहिरिए। इद्रुस र श्याहादत आन्तिम ओभरमा सन्दीपको बलिङको सिकार बनेका थिए। मलेलिसयाका लागि सैयद अजिज र विजय युनीले क्रमशः १३ र १२ रनमा बटुले।

नेपालका लागि सन्दीपसँगै सोमपाल कामीले पनि तीन विकेट लिए। अन्तिम ओभरमा दुई विकेट हात पारेका सन्दीपले कुल ४८ रन खर्च गरे। नौ ओभर बलिङ गरेका सोमपालले भने ४० रन खर्चिए। त्यसैगरी ललित राजवंशीले दुई विकेट लिँदा गुल्शनको नाममा एक विकेट रह्यो।

समूह ‘ए’ मा नेपालले सहज जित हात पारेको दिन समूह ‘बी’ मा हङकङले सिंगापुरलाई आठ विकेटले पन्छायो। मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सिंगापुरले ४२.१ ओभरमा १७४ रनको योगफल तयार पारेको थियो। बाबर हायतले शतक प्रहार गरेपछि हङकङले ३३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो।

हायतले अविजित १०४ रन बनाए। ९४ बल सामना गरेका हायतले ६ छक्का र १० चौकाको सहयोगमा शतक बनाएका हुन्। त्यसअघि हङकङका लागि ओपनर तथा कप्तान निजाकत खानले ८९ बलमा ५१ रन जोडेका थिए। अर्का ओपनर अन्सी रथ भने ६ रनमै आउट भएका थिए।

कप्तान खानलाई सिंगापुरका रमेश कालिमथु र रथलाई अरित्रा दत्तले आउट गरेका थिए।

त्यसअघि सिंगापुर ४२.१ ओभरमा १७४ रन बनाएर अलआउट भएको थियो। सिंगापुरलाई सस्तोमा समेट्न हङकङका इशान खानले चार र यासिम मुर्ताजाले तीन विकेट हात पारे। खानले २४ र मुर्ताजाले २५ रन खर्चिए।

कप्तान अरित्रा दत्तले बनाएको ४९ रन सिंगापुरका लागि सर्वाधिक स्कोर रह्यो। इशानको बलमा आउट हुनुअघि उनले ५७ बल सामना गर्दै नौ चौका प्रहार गरे। पहिलो विकेटका लागि उनी र सुरेन्दन्र चन्द्रमोहनबीच २८ रनको साझेदारी भएको थियो।

चन्द्रमोहन १० रनमा आउट भए भने उनीपछि आएका अभी दिक्षित १२ रनमा सीमित भए। मध्यक्रमका आर्यान मोदीले २१ रन बनाए पनि सिंगापुरले बलियो साझेदारी स्थापना गर्न सकेन। थिलिपन ओमाईदुराई १२, प्रशिन परम १०, अमात्र्य कौल सात रन बनाएर पभेलियन फर्किए।

हङकङका लागि विकेट लिने अन्य खेलाडीमा आयुश शुक्ला, आइजाज खान र मोहम्मद घाजानफार रहे। उनीहरूले एक-एक विकेट हात परे।

प्रिमियर कपमा नेपालसहित कुल १० टिम सहभागी छन्। जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र मलेसियाबाहेक ओमान, कतार र साउदी अरब छन्। समूह ‘बी’ मा हङकङ र सिंगापुरसँगै बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।

लिग-कम नकआउटमा पद्धतिको यो प्रतियोगिताका खेल कीर्तिपुर र मूलपानीमा हुने तालिका छ। दुई समूहबाट विजेता र उप-विजेता अन्तिम चारमा पुग्नेछन्। प्रिमियर कप जित्ने टिम एसिया कप २०२३ का लागि छनोट हुनेछ। त्यसैगरी सेमिफाइनलमा पुगेका अन्य तीन टिम एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छानिनेछन्।

बुधबार समूह ‘ए’ को खेलमा ओमानले कतारको सामना गर्नेछ। यो खेल मूलपानीमा हुनेछ। उता समूह ‘बी’ मा यूएई र कुवेत कीर्तिपुरमा भिड्नेछन्।

प्रकाशित: ५ वैशाख २०८० १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =