डाक्टर यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा काम गर्न अन्तरिम आदेश

हिमाल प्रेस ४ वैशाख २०८० २०:३४
88
SHARES
डाक्टर यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा काम गर्न अन्तरिम आदेश

जनकपुरधाम– उच्च अदालत जनकपुरले डाक्टर प्रमोद यादवलाई प्रादेशिक अस्पताल जनकपुरको निर्देशकको रूपमा काम गर्न अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत जनकपुरका न्यायाधीश ढालकुमार खड्काको आदेशले डाक्टर यादवलाई निर्देशकको रूपमा कामकाज गर्न आदेश जारी गरेको हो।

डा. यादवले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयविरुद्ध उच्च अदालत जनकपुरमा उत्प्रेषण मुद्दा दायर गरेका थिए। न्यायाधीश खड्काको एकल इजलासले उनको पक्षमा फैसला सुनाएको हो।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ को दफा १८(२) मा अस्पताल निर्देशकको पदावधि ५ वर्षको हुने भनी निश्चित अवधि हुने व्यवस्था गरेको पाइन्छ।

निश्चित अवधी कायम रहेको पदाधीकारीहरुलाई काज सरुवा गर्ने व्यवस्था मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ मा उल्लेख नरहेकोले डाक्टर यादवलाई प्रादेशिक अस्पतालको निर्देशकले गर्ने कार्यबाहेक अन्यत्र कामकाजमा खटाउने गरी भएको भनिएको निर्णय प्रथम दृष्टिमा कानून संगत नदेखिएको उच्च अदालतको ठहर छ।

निवेदनको अन्तिम किनारा नलागुञ्जेल प्रदेश सरकार मन्त्रीपरिषद कार्यालयको पत्र हाल कार्यान्वयन नगर्न विपक्षीको नाउँमा मुलुकी देवानी संहिता, २०७४ को दफा १५८ एवं उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ।

निवेदकको तर्फबाट अधिवक्ता दिपेन्द्र कुमार साहले बहस गरेका थिए। प्रादेशिक अस्पताल जनकपुरको ल्याबमा गलत रिपोर्ट दिएको पाइएपछि निर्देशक डा. यादव जिम्मेवारीबाट हटाइएका थिए। मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनमा निर्देशक यादवलाई कारबाही स्वरूप प्रदेशको सामाजिक विकास मन्त्रालयले जिम्मेवारीबाट मुक्त गरेको थियो।

प्रकाशित: ४ वैशाख २०८० २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =