भरिँदै सहर

छोराछोरी सहर, बाआमा गाउँघर

रमा केसी ३ वैशाख २०८० १८:२५
126
SHARES
छोराछोरी सहर, बाआमा गाउँघर सुर्खेत उपत्यका। तस्बिर सौजन्य : ओम शाही

सुर्खेत- पछिल्लो जनगणनाको तथ्यांकले कर्णालीका अधिकांश गाउँघर रित्तिँदै गएको देखाएको छ। २०७८ को जनगणनाअनुसार कर्णालीका हिमाली जिल्ला हुम्लामा ५५ हजार ३९४, मुगुमा ६४ हजार ५४९ र डोल्पामा ४२ हजार ७७४ जनसंख्या छ।

आममानिस सेवासुविधा र रोजगारीको खोजीमा सहर झरेपछि गाउँ पातला बन्दै गएका छन्। कर्णाली प्रदेशको सहरोन्मुख मानिएका जिल्लामा जनसंख्या बढेको छ भने पहाडी र हिमाली जिल्लाको जनसंख्या घटेको छ।

प्रदेशको राजधानी रहेको सुर्खेतमा मात्रै ४ लाख १५ हजार १२६ जनसंख्या छ। सल्यानको जनसंख्या २ लाख ३८ हजार ५१५ छ। यी दुई जिल्लाले प्रदेशको कुल जनसंख्याको झण्डै ३९ प्रतिशत हिस्सा ओगटेका छन्।

कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या प्रदेश राजधानी सुर्खेतको हो। जनगणनाको तथ्यांकअनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ रहेको छ। २०६८ मा कर्णाली प्रदेशको जनसंख्या १५ लाख ७० हजार ४१८ थियो।

गाउँमा विकासले बिस्तारै गति लिँदै गरे पनि बसाइँ सरेर आउनेको संख्यामा कमी नआएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलकण्ठ खनालले जानकारी दिए।

२०७४ को स्थानीय निर्वाचनपछि गाउँघरमा यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइको सुविधा बढ्दै गएको छ। तर पनि बसाइँ सराइ घटेको छैन। खनाल भन्छन्, ‘सबै सुविधा पुगे पनि गुणस्तरीय छैन, रोजगारी छैन। त्यसैले पनि गाउँमा मानिस अडिएनन्।’

जसले गर्दा पहाडी र हिमाली भेगका दर्जर्नौँ गाउँ उजाडिएका छन्। कतिपय गाउँमा त केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकीसमेत नपाइने अवस्था छ। ताल्चा लगाइएको घरको ढोका अगाडिको पिँढी र आँगनमा झार उम्रिएको छ।

गाउँघरमै भएका केही मानिस पनि उमेरले ज्येष्ठ नागरिक भइसकेका छन्। गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकीसमेत पाइन छाडेको कालिकोटको शुभकालिका गाउँपालिका-३ का ६४ वर्षीय शोभनन्द अधिकारीले बताए। उनले भने, ‘गाउँ खाली भइसक्यो, भएका केही घरमा पनि बूढाबूढीबाहेक कोही छैनन्।’ ‘कतिपयले गाउँमा भएको घर, खेतबारी बेचेर सहर झरेका छन् केहीले खेतबारी बाँझै छोडेर गए,’ उनले भने, ‘गाउँमा अब कतै जान नसक्ने उमेरले डाँडो काटेका मात्रै छौँ।’

सहर केन्द्रित बसाइ २०५० को दशकसँगै बढेको जानकारहरूको बुझाइ छ। २०५२ सालदेखि सुरु भएको माओवादीको सशस्त्र युद्धले यसमा ठूलो बल दियो। तत्कालीन परिस्थितिका कारण धेरैले गाउँ छोडेर जिल्ला सदरमुकाम र बजार क्षेत्र रोजे।

द्वन्द्व सकिएको डेढ दशक बित्दा बसाइँ सराइको गति झन् बढेको छ। यसमा विशेगरी गुणस्तरीय जीवनकै खोजीले काम गरेको समाजशास्त्री किरण भट्टराई बताउँछन्। ‘देखाउनका लागि भएको विकासले स्थानीयको आवश्यकता पूरा गर्दैन,’ उनी भन्छन्, ‘हेर्दा सबै विकास छ तर उनीहरूको जीवनशैली फेरिने खालको काम उक्त पूर्वाधारले गर्न सकेको छैन।’ यसले गर्दा बसाइँ सराइ रोक्न नसकिएको उनको भनाइ छ।

असन्तुलित जनसंख्या

प्रकाशित: ३ वैशाख २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =