रवि लामिछानेले भने : सांसदमाथि छानबिनको माग गर्दै म आफैँ प्रहरी र अख्तियार कार्यालय जानेछु

हिमाल प्रेस २६ चैत २०७९ १८:१९
74
SHARES
रवि लामिछानेले भने : सांसदमाथि छानबिनको माग गर्दै म आफैँ प्रहरी र अख्तियार कार्यालय जानेछु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमा रहेका कसैले भ्रष्टाचार गरे कारबाहीको गरेरै छोड्ने दाबी गरेका छन्।

बारा-२मा हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार रमेश खरेललाई भोट माग्न आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारमा संलग्न कोही कसैलाई नछोड्ने बताएका हुन्।

आजमात्रै रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्नका लागि दुई करोड रुपैँया डिल गरेको अडियो सार्वजनिक भएको थियो। लगत्तै रास्वपाले सांसद श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ भने उनलाई निलम्बन गर्दै स्पष्टीकरण पनि सोधेको छ।

यसै विषयमा पार्टीका तर्फबाट जवाफ दिँदै लामिछानेले गद्दारी भएको रहेछ भने कारबाही गर्ने प्रतिबद्धता जनाए।

‘को को हो रकम माग्ने? लगत खोजिरहेका छौँ। जो सुकै होस् गढीमाई साक्षी छन् कारबाही हुन्छ। नजिक को होस् टाढाको होस् कारबाही हुन्छ,’ लामिछानेले भने, ‘साथीहरूको विश्वास भरोसामा पार्टी बनेको छ। नौ महिना थरीथरी पेसा र व्यवसायमा भएकाहरू जोडिएर विश्वास गरेर पार्टी बनेको हो।’

उनले पैसाको डिल गर्ने मान्छे आफ्ना वरपरका मानिस रहेछन् भने पनि तत्कालै कारबाही गर्ने बताए। ‘यदि गद्दारी भएको हो हाम्रो विधानमा भएको फिर्ता बोलाउने व्यवस्था विधानमा छ त्यहीअनुसार हुन्छ। कठालो समातेर जनतामाझ बुझाउन सकियोस् भनेर हामीले विधानमा व्यवस्था गरेका छौँ,’ उनले भने, ‘पैसाको डिल गर्ने मेरा वरपरका मान्छे रहेछन् भने पनि कारबाही हुन्छ। पार्टीले आफ्नो तर्फबाट छानबिन गरिनै हाल्छ। अरु अनुसन्धानका लागि मेरै हस्ताक्षर भएको पत्र लिएर म आफैँ प्रहरी र अख्तियारको कार्यालय जान्छु।’

यो यदि यो घटना सत्य भए खेलाँची नभएको उनको भनाइ छ। ‘यो खेलाँची होइन लाखौँ मानिसको भरोसामाथि चोट हुने काम हो,’ उनले थपे, ‘भ्रष्टाचारको मुद्दामा कसैलाई छोड्दैनौँ। सबैभन्दा बढी आफ्नैलाई छोड्दैनौँ।’

प्रकाशित: २६ चैत २०७९ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − seven =