समाज रुपान्तरणका लागि दक्ष जनशक्ति आवश्यक छ : प्रधानमन्त्री

हिमाल प्रेस २६ चैत २०७९ १७:५३
4
SHARES
समाज रुपान्तरणका लागि दक्ष जनशक्ति आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री एंव सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजान दक्ष जनशक्ती आवश्यक पर्ने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने बताए।

उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुपर्नेमा जोड दिए।

‘विश्वको प्रतिस्पपर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ’, प्रधानमन्त्री दाहालले भने ‘स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएको छ।’

सरकारले डडेलधुरामा आंगिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको संकायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता गरेको छ। प्रधानमन्त्री प्रचण्डले उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताए।आफूले अन्याय, गरिबी, शोषण र विभेदको अन्त्य गर्ने सपना देखेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

यसका साथै सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट १७९ जना दीक्षित भएका छन्। गत पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थीलाई विश्वविद्यालयले दीक्षीत गरेको थियो।

स्नातक र स्नातकोत्तर उत्तीर्ण ८५५ विद्यार्थी मध्ये १७९ ले मात्र दीक्षान्त समारोहमा भाग लिन आवेदन दिएका थिए। यसअघि गत असारमा सम्पन्न दोस्रो दीक्षान्त समारोहमा २५३ जनालाई दीक्षित भएका थिए। २०६८ मा स्थापना भएको विश्वविद्यालयले पहिलो दीक्षान्त समारोहमा ०७४ मा १०४ जना विद्यार्थीलाई दीक्षित गरेको थियो।

विश्वविद्यालयका केन्द्रीय र आंगिक गरी १६ क्याम्पसमा करिब १५ हजार विद्यार्थी अध्ययनरत छन्।विश्वविद्यालयले विज्ञान प्रविधि, मानविकी तथा समाजशास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ, कृषि, कानुनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =