आर्थिक वर्ष सकिनै लाग्दा विकास खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २३ चैत २०७९ १५:२४
2
SHARE
आर्थिक वर्ष सकिनै लाग्दा विकास खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- चालू आर्थिक वर्ष २०७९/८०को अन्तिम तीन महिना बाँकी हुँदा विकास (पूँजीगत) खर्च बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी हुँदा पूँजीगत खर्च २५ प्रतिशत मात्रै भएको छ।

बिहीबार (चैत २३ गते)सम्म कुल पूँजीगत खर्चको २५.८८ प्रतिशत मात्रै खर्च भएको छ। चलू आर्थिक वर्षमा कुल पूँजीगत बजेट ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। बुधबार रातिसम्म ९ अर्ब ८४ करोड ५ लाख ७७ हजार रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

विकास खर्च कम भएपछि मुलुकमा आर्थिक समस्या चुलिएको जानकारहरू औंल्याउँदै आएका छन्। प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको आर्थिक चुनौती दृष्टिगत गर्दै पूँजीगत खर्च बढाउन बिहीबार निर्देशन दिएका छन्। पूँजीगत खर्च बढाउन विशेष मिहिनेत गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमार्फत प्रचण्डले उक्त निर्देशन दिएका हुन्। ‘पूँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकास निर्माणको कार्य पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तसर्थ संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पूँजीगत खर्चलाई तिब्र बढाउन र कामको गुणस्तर कायम गर्न विशेष जोड दिन आवश्यक छ।’

सरकारले समन्वय गर्नुपर्ने विषयमा समन्वय गर्न संघीय सरकार तयार रहेको प्रचण्डको भनाइ थियो। ‘बजेट कार्यान्वयनको सम्बन्धमा मन्त्रालयहरू र प्रदेश सरकारसँग समेत छलफल गरी अर्थ मन्त्रालयले प्रगति राम्रो भएका विकास आयोजनाहरूमा स्रोतसाधनको अभाव नहुने व्यवस्था मिलाउने छ,’ उनले भने।

प्रकाशित: २३ चैत २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =