हातपात भएपछि धनौजी गाउँपालिकाका कर्मचारीले गरे पेन डाउन

हिमाल प्रेस २२ चैत २०७९ १६:३८
4
SHARES
हातपात भएपछि धनौजी गाउँपालिकाका कर्मचारीले गरे पेन डाउन

जनकपुरधाम– धनुषाको धनौजी गाउँपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। स्थानीय उपभोक्ता समितिका प्रतिनिधिहरूले आफूहरूलाई मानसिक तनाव दिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

समितिको बक्यौता रकम माग गर्दै स्थानीय पप्पु राउतलगायत व्यक्तिहरूले मंगलबार प्रमुख प्रशासकीय अधिकृत रञ्जितकुमार यादवलाई दुर्व्यवहार गरेको विरोधमा कर्मचारीहरू आन्दोलित भएका हुन्।

उनीहरूले बुधबारदेखि पेन डाउन गरी वडा कार्यालयदेखि गाउँपालिकासम्मका सम्पूर्ण कामकाज ठप्प पारेका छन्। वारुण यन्त्र, स्वास्थ्यका आकस्मिक सेवा र विद्यालयमा अध्यापनबाहेकका सबै कामकाज ठप्प गरी कर्मचारीहरू आन्दोलित बनेका छन्।

समितिका व्यक्तिहरूले मंगलबार प्रमुख प्रशासकीय अधिकृत यादवको टेबल तोडफोड गर्दै गालीगलौजमा उत्रिएपछि स्थिति केहीबेर तनावपूर्ण बनेको थियो। कर्मचारी आन्दोलित भएपछि कार्यालयको कामकारबाही ठप्प छ।

कर्मचारीलाई दुर्व्यवहार गर्दै मानसिक तनाव दिएकाले आन्दोलनमा उत्रिनु परेको लेखापाल राधेश्याम रायले बताए।

‘कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही नभएसम्म हामी काममा फर्किंदैनौं,’ रायले भने, ‘यसका लागि गाउँपालिका अध्यक्ष र सम्बन्धित निकायमा लिखित उजुरी दिइसकेका छौं।’
कर्मचारीहरूको लिखित उजुरीसँगै कामकाज अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष राजकुमार साहलेसमेत यस्ता उच्छृंखल गतिविधिविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन्।

गाउँपालिकाले ९० उपभोक्ता समितिमध्ये ७४ वटाको करिब साढे ३ करोड रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको छ। सडक, नाला, ग्राभेललगायत कामको बक्यौता तिर्न बाँकी रहेको उपभोक्ता समितिहरूको दाबी छ।

यता कर्मचारीहरूले कागजी प्रक्रिया नपुगेकोले भुक्तानीमा समस्या भइरहेको कारण देखाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =