भान्सा र उत्पादनमूलक काममा व्यस्त पूर्वउप-मेयरहरू

विवेक विवश रेग्मी १८ चैत २०७९ १७:५९
176
SHARES
भान्सा र उत्पादनमूलक काममा व्यस्त पूर्वउप-मेयरहरू

इटहरी– देश संघीय संरचनामा गएपछिको पहिलो स्थानीय तह निर्वाचनमा धेरै महिलाले जनप्रतिनिधि बन्ने अवसर पाए। अझ पालिका उपप्रमुख महिला नै हुनुपर्ने प्रावधानका कारण दोस्रो पदमा भए उनीहरूले भूमिका प्रभावकारी थियो। स्थानीय सरकारको अभ्यास गरेका महिलालाई राजनीतिक रूपमा अगाडि बढ्न पनि सहज भएको छ।

फलतः २०७४ मा स्थानीय तह निर्वाचनको उपप्रमुख भएका केही महिला २०७९ मा आइपुग्दा संघीय र प्रदेशसभा सदस्य बनेर राजनीतिक उचाइतर्फ लम्कँदैछन्।

भनिन्छ, राजनीतिमा सबैलाई एकैपटक समान अवसर आउँदैन। त्यसैले त पहिलो स्थानीय तह चुनावमा उपप्रमुख भएका अधिकांश महिला राजनीतिमा गुमनामझैँ छन्। पदमा नभए पनि उनीहरूले सक्रियता र उत्साह भने घटाएका छैनन्। कुनै न कुनै काममा व्यस्त रहेर उनीहरू आगामी नेतृत्वका लागि थप प्रभावकारी बन्ने प्रयासमा छन्।  कोशी प्रदेशका विभिन्न पालिकाका पूर्वउपप्रमुख (उप-मेयर) महिला अचेल के गर्दैछन् त?

इन्दिरा कार्की

विराटनगर महानगरपालिकामा २०७४ सालमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित इन्दिरा कार्की घरायसी काममै व्यस्त छिन्। घरायसी कामसँगै पढ्ने काम पनि गरिरहेको उनी बताउँछिन्।

‘गृहिणी भएका कारण घरव्यवहार हेर्नुपर्छ। म केही समयदेखि म आराममा छु,’ उनले भनिन्, ‘एक वर्षअघि ब्रेन ह्यामरेजको अप्रेसनका कारण स्वास्थ्य समस्याका कारण फलोअपमा गइराख्नुपर्छ।’

उनी पार्टीले आयोजना गरेको राजनीतिक कार्यक्रममा सहभागिता जनाउन पुग्छिन्। उनले भनिन्, ‘पार्टीका कार्यक्रममा जाने, आउने त छँदैछ नि। त्यसबाहेक पत्रिका र किताब पढ्ने पनि गरिरहेकी छु।’ जनप्रतिनिधिबाट बिदा भइसकेपछि समय फुर्सदिलो भएका कारण घरायसी काममा समय दिन पाएको उनको भनाइ छ।

लक्ष्मी गौतम

इटहरी उपमहानगरपालिकामा २०७४ मा नेकपा एमालेबाट निर्वाचित लक्ष्मी गौतम राजनीतिसँगै उत्पादनमूलक काममा सक्रिय छिन्। जनप्रतिनिधिको कार्यकाल सकिएसँगै के गरौँ कसो गरौँ भनेर छटपटी भएको थियो। पछिल्लो दिनमा भने उनी साबुन उत्पादनमा सक्रिय छिन्।

‘स्थानीय तहको जिम्मेवारीबाट बिदा भइसकेपछि के गर्ने, कसो गर्ने भनेर छटपटी भयो,’ एक वर्षअघि फर्किएर उनले भनिन्, ‘आमाछोरा मिलेर साबुन उत्पादन गर्दै आएका छौँ।’

उनले जडिबुटी र विभिन्न वनस्पतिबाट साबुन उत्पादन गरिरहेकी छन्। इटहरी ४ स्थित आफ्नै घरमा केमिकलरहित साबुन उत्पादन गरिरहेको उनले बताइन्।

‘हामीले उत्पादन गरेका साबुन ब्युटी पार्लर, कस्मेटिक र आयुर्वेदिक पसलमा जान्छन्,’ उनले भनिन्, ‘राजनीतिक दस्तावेज अध्ययनसँगै साहित्यिक पुस्तक अध्ययन गरिरहेकी छु।’

उनले आफ्नो जीवनका भोगाइसँगै जनप्रतिनिधि हुँदाका अनुभव लेख्ने काममा समेत व्यस्तता रहेको सुनाइन्। ‘दुईवटा पुस्तक तयार पार्दैछु, एउटा आफ्नै जीवनको भोगाइ र अर्को जनप्रतिनिधि हुँदाको अनुभवको छ’, उनले भनिन्। यससँगै राजनीतिमा पनि उनले आफ्नो सक्रियता देखाइरहेकी छन्।

‘मेरो आफ्नो उपप्रमुखको कार्यकाल एक वर्ष बाँकी रहँदै म पार्टीको केन्द्रीय सदस्य भएँ,’ उनले भनिन्, ‘सुनसरी जिल्लाको सह–इन्चार्ज भएपछि दुईवटा निर्वाचन सम्पन्न गर्न लाग्यौँ।’ अहिले पार्टीले ‘मिसन ग्रासरुट’ भनेर अभियान सुरु गरेकाले विभिन्न पालिकामा गएर पार्टीगत हिसाबमा सक्रिय भइरहेको उनले बताइन्।

जमुना गौतम

सुनसरीको इनरुवा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित जमुना गौतम सामाजिक कामदेखि साहित्यिक गतिविधिमा सक्रिय छिन्।

‘म बिहानको समयमा जीवनविज्ञानको योग अभ्यासमा जान्छु। त्यसपछि घरभान्सामा व्यस्त हुन्छु,’ उनी भन्छिन्, ‘कहिले पार्टीको कार्यक्रम हुन्छ, कहिले साथीभाइले भेट्न बोलाउनुहुन्छ। बाँकी समय अध्ययन र कविता लेखनमा सक्रिय हुने गरेकी छु।’

सानैदेखि साहित्यप्रतिको रुचि रहेका कारण कविता संग्रह तयार पार्नमा व्यस्त रहेको उनले सुुनाइन्। ‘मेरो निस्किने कविता संग्रह मातृकविता छन्, संग्रह गर्न खोज्दैछु,’ यसअघि उनले भनिन्, ‘इनरुवाका सरकारी विद्यालयमा अस्तव्यस्त देखिरहेकाले त्यहाँभित्रको आन्तरिक सुधारका निम्ति अगुवाइ गर्दै आएकी छु।’

समाजमा रहेर घरेलु हिंसामा रहेका महिलाका न्यायका लागि पनि आवाज उठाउँदै आएकी उनी विद्यालय छाडेर घरै बसेका बालबालिकालाई पुनः विद्यालयमा जोड्ने अभियानमा समेत अग्रसर रहेको बताउँदै आएकी छन्।

‘केही समयअघि बीपीका चिन्तन, दर्शन पढेँ,’ गौतम भन्छिन्, ‘पढ्न, लेख्न मन परेकै कारण पनि इच्छुक हुन्छु।’

मञ्जु भण्डारी

धरान उपमहानगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित मञ्जु भण्डारी हाल घरायसी कामसँगै पार्टीको काममा सक्रिय रहेको बताउँछिन्।

२०७५ साउनमा तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि कार्यवाहक मेयरको कार्यभार सम्हालेकी भण्डारी २०७९ को स्थानीय तहमा एमालेबाट धरानको मेयरकी उम्मेदवार थिइन्। मेयरमा पराजित भएपछि उनी अहिले पार्टीको काममै सक्रिय रहेकी छन्।

‘हाम्रो पार्टीले अहिले ग्रासरुट लेभलमै रहेर काम गर्ने योजना ल्याएसँगै अहिले झापा आएकी छु,’ उनले भनिन्, ‘मैले पाँच वर्षमा जनप्रतिनिधि भएर सिकेका काम अन्य जनप्रतिनिधिलाई पनि बेलाबेला सिकाउँदै आएकी छु।’

पाँच वर्षमा आफूले लिएको अनुभव अहिले अरू जनप्रतिनिधिलाई पनि बाँड्ने गरेको उनले बताइन्। त्यसबाहेक घरायसी काममा पनि उत्तिकै सक्रिय रहने उनी बताउँछिन्। परिवार र नानीलाई समय दिने काम पनि छ,’ पढ्ने, लेख्ने काम छ कि छैन भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पढ्नु त परिहाल्यो नि! पढ्नका लागि हाम्रो पार्टीको निर्देशन नै छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =