बेनी-जोमसोम-कोरोला सडक खण्डमा कालोपत्र जारी

हिमाल प्रेस १ चैत २०७९ १७:२६
8
SHARES
बेनी-जोमसोम-कोरोला सडक खण्डमा कालोपत्र जारी फाइल तस्बिर।

पोखरा– बहुचर्चित बेनी-जोमसोम- कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका-२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका-३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ। गौरी- पार्वती/कोषी एन्ड न्यौपाने जेभीले सो काम सम्पन्न गरेको हो।

मुस्ताङको थासाङ गाउँपालिका-२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका-३ र ४ जोमसोम काठेपुल जोड्नका लागि हाल कालोपत्रको काम धमाधम भइरहेको कम्पनीका प्रतिनिधि कमल भन्डारीले बताए। सरोकारवाला निकायले चासोका साथ सहयोग गरिरहेको उनले जानकारी दिए।

‘कालोपत्रको काम सक्ने बित्तिकै जोमसोम एयरपोर्टदेखि एक किलोमिटर ढलानको कामसमेत सुरु गर्नेछौँ,’ उनले भने। प्राविधिक रूपमा समस्या नआएमा असार मसान्तसम्म कालोपत्रसँगसँगै अन्य महत्त्वपूर्ण कामहरूसमेत सकाउने उनले बताए।

काम सुरु भएको दिनदेखि नै स्थानीय निकाय, प्रशासन, स्थानीयवासी र आम सरोकारवाला निकायको भरपुर साथ र हौसला पाएको उनको भनाइ छ। प्याकेज ४ अन्तर्गत १७ किलोमिटर सडक सम्पन्न गर्न हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको बेनी- जोमसोम- कोरोला सडक आयोजनाले जनाएको छ।

हाल भइरहेको काम कालोपत्र र सडक ढलानको हो। यसमा १६ किलोमिटर अस्पताल पेमेन्ड कालोपत्र र एक किलोमिटर आरसिसी (रिजिट पेमेन्ड ढलान)गरिने बेनी- जोमसोम-कोरोला सडक आयोजनाका सब-इन्जिनियर तुलबहादुर गुरुङले बताए।

उनका अनुसार कालोपत्र सम्पन्न गर्नका लागि ७० करोड ५२ लाख ५७ हजार रुपैयाँ लागत लाग्नेछ।

प्याकेज (ठेक्का-४) मा हुन लागेको उक्त कालोपत्रको काम समयमै सकाउनका लागि आफू र आयोजनाको टिम लागिपरेको बताए। ‘सधैँभरि सडकलाई दोष दिएर मात्र हुँदैन, जिल्लाका नियमनकारी निकाय, राजनैतिक दल, सरोकारवाला निकाय र सम्बन्धित स्थानका जनप्रतिनिधिले चासो दिनुपर्छ,’ उनले भने।

०७३ चैत १ गतेदेखि सुरु भएको बहुचर्चित बेनी-जोमसोम-कोरोला सडक कठिन भू-बनोटका कारण पनि समयमै सकिननसकेको हो। म्याग्दीको बेनीदेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घासा पुछार अर्थात् काभ्रे भिर र घोप्टे भिरसम्म कठिन भू-बनोटकै कारण सडक निर्माण कार्य ढिलाइ भइरहेको छ।

यद्यपि, मुस्ताङको घासादेखि जोमसोमसम्म सडक निर्माण कार्यले भने तीव्रता पाएको छ। विगत केही वर्षयता कोभिड-१९ र बाढी पहिराका कारण काममा ढिलाइ भइरहेकाले गर्दा पनि मुस्ताङका जनतामा निराशापन छाएको थियो।

सडक स्तरवृद्धि र कालोपत्रको काममा ढिलाइ अनि म्याद थपका कारण आम मुस्ताङवासीलाई दुःखी बनाएकोमा अब भने सबै तह र तप्काका सरोकारवाला निकायले चासो दिँदा कामले गति लिएको छ।

यसैबीच, मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेका वडाअध्यक्ष सुरेश थकालीले म्याद थप मात्रै गरिरहने तर काममा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने बताए। ‘यदि कसैले विकासको काममा अवरोध गर्छ भने त्यसलाई पनि हदैसम्मको कारबाही गर्नेछौँ,’ उनले भने।

बेनीदेखि कोरोला नाकासम्म सात खण्डमा भइरहेको काममध्ये हाल भइरहेको प्याकेज ३ शर्मा गजरमुखी जेबी र प्याकेज ४ गौरी-पार्वती/ कोषी एन्ड न्यौपाने जेबीले पनि आफ्नो जिम्माको काम जारी राखेको वडाअध्यक्ष थकालीले जानकारी दिए। -राससको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =