पाँचथरका ग्रामीण सडकहरू धमाधम कालोपत्रे गरिँदै

हिमाल प्रेस २१ पुष २०७९ १९:२५
6
SHARES
पाँचथरका ग्रामीण सडकहरू धमाधम कालोपत्रे गरिँदै फाइल तस्बिर।

पाँचथर– पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने ३ वटा सडक आयोजनाको काम अघि बढेको छ। ४ मध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन। पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताए। उनका अनुसार अहिले ३ वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि बढ्नेछ।

फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ। कन्काई पिएएस जेभी झापाले ६० करोड २७ लाख रुपैयाँको लागतमा ०७६ असार ३० गते सो आयोजनाको जिम्मा लिएको थियो।

उक्त आयोजनाको समय अवधि ०८० साल असार मसान्तसम्ममा सकिँदैछ तर कालापत्रे गर्ने कार्य फागुन महिनाको अन्त्यसम्ममा सकिने पूर्वाधार विकास कार्यालयको अनुमान छ। ०७८ मसान्तसम्मै आयोजनाको काम सकिनुपर्ने भए पनि कोभिड महामारीको कारण २ वर्ष समय थपिएको थियो।

यस्तै यासोक सरखण्डे १३ दशमलव ३ किलोमिटर सडक रहेको आयोजनाको काम कोभिडले २ वर्ष समय थपिएको थियो। अब यो आयोजनाको काम आगामी बर्ष असार मसान्तमा सकिँदैछ। यो सडकको अहिले भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत सकिएको कार्यालयले जनाएको छ।

यो सडकको कालोपत्रे गर्ने जिम्मा लामा च्याङमिला जेभी काठमाडौँले६० करोड ९२ लाखको लागतमा लिएको हो। यस्तै सात किलोमिटर फिदिम शिवालय नाङलापा छिन्तापु सडकको कालोपत्रे गर्ने कार्य भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत सकिएको छ। दिवा सफल जेभी काठमाडौँले२६ करोड ४५ लाखको लागतमा कालोपत्रे गर्ने कार्य गरिरहेको छ। यो आयोजनाको काम आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ।

यसैगरी १४ किलोमिटर रहेको सिवादोभान लुम्फाबुङ नवमीडाँडा सडकको कालोपत्रे गर्ने कार्य भने अघि बढ्न सकेको छैन। विसं २०७६ असार मसान्तमा सम्झौता भएको उक्त सडकको समयअवधि आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ। कान्छाराम याक्थुहाङ जेभी पाँचथरले २६ करोड ४५ लाखको लागतमा आयोजनाको जिम्मा लिएको थियो तर थपिएको समय अवधिमा पनि कामले गति लिन नसकेको र निर्माण व्यवसायीलाई ताकेता गरिरहेको हुँदा समय अवधिभित्रै काम हुने आसा राखिएको कार्यालय प्रमुख रिड्डीले बताए।

यस्तै सप्तमी दशमी–मौवा लखुवा दोभानअन्तर्गत मौवादेखि लखुवादोभान सम्मको १४ किलोमिटर सडकको कालोपत्रे गर्न बोलपत्र आह्वान प्रक्रिया पनि अघि बढेको उनले बताए। आगामी माघ महिनाभरिमै सम्झौता भई काम अघि बढ्ने जनाइएको छ।

प्रकाशित: २१ पुष २०७९ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =