व्यवसायीद्वारा राष्ट्र बैंक घेराउ

हिमाल प्रेस ३० फागुन २०७९ १६:०२
2
SHARE
व्यवसायीद्वारा राष्ट्र बैंक घेराउ बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध केही दिनअघि काठमाडौँमा गरिएको प्रदर्शन।

काठमाडौँ- देशभरका उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा मनपरी गरेको भन्दै चरणबद्ध आन्दोलनमा रहेका व्यवसायीले मंगलबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।

उद्योगी व्यवसायीहरूले अर्थतन्त्र संकटपूर्ण रहेको अवस्थामा बैंकहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको आरोप बैंकहरूमाथि लगाएका छन्। त्यस्तै कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको आरोप व्यवसायीको छ।

देशभरका उद्योगी व्यवासायीहरूले राष्ट्र बैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महसुस गराउन ध्यानाकर्षण समेत गराएका छन्। विरोध कार्यक्रममा सहभागि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरू आफ्ना पीडा सुनाउन राष्ट्र बैंक आएको बताए।

अर्थतन्त्रमा आएका समस्याका कारण उद्योगको उत्पादनमा कमी, रोजगारी कटौती र बजारको मागमा कमी आएको अवस्थामा समेत बैंकले चर्को ब्याज लिएको श्रेष्ठले बताए।

यो विषयमा सरकारले तत्काल समाधान दिनुपर्ने उनको भनाइ थियो। व्यापार सुस्त भएको अवस्थामा उच्च ब्याज तिर्ननसक्ने उनले बताए। सरकारले व्यवसायीहरूसँग छलफल गरी सामाधान गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरूको आन्दोलन निरन्तर चल्ने बताए।

प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन तत्काल पहल गर्नुपर्ने उनको भनाइ थियो। बैंक तथा वित्तीय संस्थाहरूले बुधबारदेखि लागू हुनेगरी ब्याजदर घटाएका छन्।

प्रकाशित: ३० फागुन २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =