आर्मी र संकटा बराबरीमा रोकिँदा सातदोबाटोले एनआरटीलाई हरायो

हिमाल प्रेस २१ फागुन २०७९ १६:५०
8
SHARES
आर्मी र संकटा बराबरीमा रोकिँदा सातदोबाटोले एनआरटीलाई हरायो दशरथ रंगशालामा त्रिभुवन आर्मी र संकटा क्लबबीचको खेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ– सहिद स्मारक ‘ए डिभिजन लिग’मा आइतबार त्रिभुवन आर्मी फुटबल क्लबले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको छ। दशरथ रंगशालामा गोलका निकै अवसर सिर्जना गरे पनि संकटाले गत सिजनको उपविजेतामाथि जित दर्ता गर्न सकेन। शुक्रबारबाट सुरु लिगमा यो पहिलो बराबरी खेल हो।

सुनिल बल, जुनियर केंगेलगायत सम्मिलित संकटा अग्रपंक्तिमा आर्मीमाथि खेल अवधिभर नै हाबी भयो। तीन फरवार्ड बारम्बार गोल नजिक त पुगे। तर गोल भने गर्न सकेनन्। पहिलो हाफमा केंगेले कम्तिमा तीन मौका खेर फाले। ११औं मिनेटमा उनको प्रहार बारमाथिबाट उड्यो। ३२औँ मिनेटमा उनको अर्को प्रयासमा आर्मीका गोलरक्षक विकेश कुथु बाधक बने। त्यसको एक मिनेटपछि पाएको अर्को मौकामा पनि केंगेले खेर फाले।

दोस्रो हाफको ५४ मिनेटमा संकटाका सुनिल श्रेष्ठको प्रहार आर्मीका रक्षक दिपक गुरुङले गोललाइनबाट बचाए। आर्मीले पहिलो हाफको १५ मिनेटमा कर्नरमार्फत अवसर सिर्जना गरेको थियो। दिनेश हेम्जनले लामो कर्नर प्रहार नगरी दिपक गुरुङलाई पास दिएका थिए। संकटाका रक्षकहरूको नजरमा नरहेका दिपकले गरेको प्रहार टिकेन्द्र सिंह थापाले सहजै रोके।

दोस्रो हाफको ५० मिनेटमा नवयुग श्रेष्ठले ‘फ्री हेडर’ खेर फाले। ८० मिनेटमा आर्मीका फुलब्याक सन्तोष केसीले लेफ्ट विङ्गबाट अघि बढाएर शक्तिशाली प्रहार गरेका थिए। तर संकटाका गोलरक्षक टिकेन्द्रले सहजै बल समाते।

आतिरिक्त समयमा दिनेशले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार संकटाका गोलरक्षक टिकेन्द्रले सजिलै रोकेका हुन्।

च्यासल रंगाशालामा आइतबार दिउँसो नै भएको खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम एनआरटीलाई २-१ ले पराजित गर्‍यो। सातदोबाटोका दुवै गोल दिपकराज ठकुरीले गरे। पहिलो हाफमा दुवै टिमले एक-एक गोल गरे। दिपकले सातदोबाटोलाई अग्रता दिलाउन साथ निकोलस सङ्ले बराबरी गोल फर्काए। दिपकले दोस्रो गोल दोस्रो हाफको ४८ औं मिनेटमा गरे।

फोटोहरू सबै दिपेश श्रेष्ठ

प्रकाशित: २१ फागुन २०७९ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =