लिगकै बीचमा राखेपले रंगशाला भाडामा लगाइदेला भन्ने एन्फाको चिन्ता

हिमाल प्रेस २० माघ २०७९ २१:५४
128
SHARES
लिगकै बीचमा राखेपले रंगशाला भाडामा लगाइदेला भन्ने एन्फाको चिन्ता

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुन १९ बाट सुरु हुन लागेको सहिद स्मारक ए डिभिजन लिगबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा केही महत्त्वपूर्ण प्रश्न उठे। जस्तै खेलाडी पलायन, लिग अवधि, रंगशाला/मैदान अभाव आदि।

न्फा महासचिव किरण राईले खेलाडी पलायनले आफूहरूलाई चोट पुगेको प्रतिक्रिया दिए। ‘खेलाडीहरू विदेश गइरहेका छन्। यसले एन्फालाई चोट पुगेको छ। यो विषयबाट हामी भाग्न मिल्दैन,’ शुक्रबार एन्फा मुख्यालयमा महासचिव राईले भने, ‘नेपाली खेलाडीले फुटबल खेलरै जीवनयापन गर्न सकुन् भन्ने हाम्रो चाहना हो। यसका लागि वातावरण सिर्जना गर्ने प्रयास गरिरहेका छौँ।

उनले खेलाडीहरूलाई पलायन नहुन अपिल पनि गरे। घरेलु फुटबल सिजनलाई अहिलेको भन्दा लामो बनाएर खेलाडीलाई नेपालमै बस्न प्रेरित गर्ने योजना उनले सुनाए। ‘हामी ए डिभिजन लिगलाई कम्तीमा ६ महिना लामो बनाउन चाहन्छौँ। त्यसपछि केही महिना नेपाल सुपर लिग (एनएसएल) हुनेछ। यी दुई लिग गरेर नेपाली फुटबललाई करिब नौ महिना व्यस्त बनाइनेछ,’ राईको दाबी थियो।

राईले सुनाएको योजना यो वर्षका लागि होइन। यो वर्ष त फेरि पनि दुई–तीन महिने लिग हुँदैछ। ‘हामी त लिग मंसिरबाटै गर्न चाहन्थ्यौँ। त्यसो गर्दा लिग अवधि लम्बिन्थ्यो। तर विविध कारणले त्यसो गर्न सकिएन,’ राईले भने।

पत्रकार सम्मेलनमा राईसँगै रहेका लिग निर्देशक सञ्जिव मिश्रले क्लबहरूकै कारण लामो लिग गर्न नसकिएको जिकिर गरे। ‘एन्फाले मात्र लामो लिग गर्न चाहेर हुँदैन। क्लबहरू पनि यसका लागि तयार हुनुपर्छ।तर उहाँहरू दुई महिनामै लिग सकौँ भन्नुहुन्छ,’ मिश्रले भने, ‘यसपालि पनि हामीले मंसिरबाटै लिग गरौँ भनेर पटक पटक क्लबहरूलाई छलफलमा बोलाएको हो। तर योजना अनुसार लिग आयोजनाको काम अघि बढ्न सकेन।’

उनले अर्को सिजन भने जनवरीबाट लिग सुरु गर्ने र फिफा ट्रान्सफर विन्डो खुल्नुअघि नै लिग समापन गर्ने योजना रहेको बताए। ‘जनवरीदेखि जुनसम्म लिग हुन्छ। फिफा क्यालेन्डरसँग तालमेल गरेर लिग आयोजना गर्नुपर्ने हुन्छ। त्यसबेला मिति तलमाथि हुँदैन,’ मिश्रले दाबी गरे।

नेपाली फुटबलको शीर्ष श्रेणीको लिग किन काठमाडौँमा मात्रै खेलाउने? सधैँ उठ्ने गरेको प्रश्न हो यो। एन्फाले लिगलाई काठमाडौँबाहिर लाने प्रयास नगरेको होइन। तर प्रयास फितलो देखिँदै आएको छ। यसपालि त झिनै भए पनि प्रयास भएको देखिएन।

याे विषयमा राईको स्पष्टीकरण थियो, ‘क्लबहरूले काठमाडौँबाहिर गएर लिग खेल्न आर्थिक अवस्थाले दिँदैन भन्ने कुरा राखे। त्यसो भएपछि अब अर्को सिजन चाहिँ लिग बाहिर लगौँ भन्ने भयो।’

काठमाडौँबाहिरका कयौँ क्लब सी डिभिजन क्वालिफायर्स हुँदै सी डिभिजन र बी डिभिजनमा आइपुगेकाले घरेलु फुटबल त्यसै पनि देशभर पुगिरहेको जिकिर गर्न पनि उनले भ्याए।

एन्फाले १४ क्लबसम्मिलित लिग काठमाडौँ उपत्यकाका तीन रंगशालामा गर्ने योजना बनाएको छ। धेरैजसो खेल दशरथ रंगशालामा हुनेछन्। त्यसैगरी च्यासल रंगशाला र एन्फा कम्पलेक्समा रहेको मैदानमा पनि मनग्यै खेल हुनेछन्।

यी तीनै रगंशालालाई लिगका लागि तयार गरिँदै गरेको बताइएको छ। तर यति हुँदाहुँदै पनि एन्फालाई चिन्ता छ दशरथ रंगशालाको। राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेको दशरथ रंगशालामा फुटबलबाहेक अन्य खेलकुद गतिविधि भइरहन्छन्। दशरथ रंगशालाले थेग्ने भार यतिमै सीमित छैन। विद्यालय र क्याम्पसका ‘स्पोर्ट्स विक’ देखि सांगीतिक कार्यक्रम पनि त्यहाँ हुने गरेका छन्।

यस्तोमा एन्फालाई डर छ, कतै राखेपले लिगकै बीचमा दशरथ रंगशालालाई त्यस्ता कार्यक्रमका लागि भाडामा त दिने होइन? ‘एन्फासँग आफ्नो रंगशाला नहुन्जेल यस्तो डर नहट्ने रहेछ,’ राईको भनाइ थियो। उनले राखेपको नेतृत्वतहसँग पटक पटक दशरथ रंगशालालाई लिगका बेला अन्य कार्यक्रमका लागि भाडामा नलगाउन आग्रह गरेको पनि बताए।

‘लिगका लागि दशरथ रंगशालाको मैदानलाई तयार पारिरहेका छौँ। लिग नसकिउन्जेल दशरथ रंगशाला अरु कामका लागि प्रयोग हुनु हुँदैन। फेरि हामी फिफा ब्रेकका बेला अन्तर्राष्ट्रिय खेलहरु आयोजना गर्ने योजनामा छौँ। यसकारण मैदान सही स्थितिमा ररिहन आवश्यक छ,’ राईले भने।

लिग सुरु हुन अब ठ्याक्कै एक महिना बाँकी छ। एन्फा आफैँले ‘काउन्टडाउन’ सुरु भएको र लिगलाई नै मध्यनजर गरेर विभिन्न कार्यक्रम गरिरहने बताएको छ। तर लिगको मुख्य प्रायोजककै अत्तोपत्तो छैन। गत सिजन कतार एयरवेज लिगको मुख्य प्रायोजक थियो। यसपल्ट भने एन्फाले मुख्य प्रायोजक भेटिसकेको छैन।

‘कतार एयरवेजसँगै पनि कुरा भइरहेको छ। उहाँहरू इच्छुक हुनुहुन्छ। छलफल भइरहेको छ। तर निस्कर्ष आइसकेको छैन। उहाँहरुले प्रायोजन नगरे अर्को प्रायोजक खोज्नु पर्ने हुन्छ,’ राईको भनाइ थियो। उनले यतिबेला प्रायोजक टुंगो लागिसक्नु पर्नेमा यसमा ढिलाइ भएको स्वीकार गरे। देशमा आर्थिक संकटको अवस्था रहेकाले प्रायोजक पाउन सजिलो नरहेको उनको भनाइ थियो।

लिगको लागत १२ करोड रहने निर्देशक मिश्रले जानकारी दिए। लिग सुरु हुन एक महिना मात्र बाँकी रहँदा पनि क्लबहरू खेलाडी दर्ता गर्न एन्फा पुगेका छैनन्। मिश्रले क्लबहरुलाई खेलाडी दर्ताका लागि माघ २३ गतेसम्मको समयसीमा दिइएको बताए। टेलिभिजन प्रशारण र टिकट बिक्री अधिकारका लागि टेन्डर आह्वान् गरिसकिएको पनि एन्फाको भनाइ छ।

प्रकाशित: २० माघ २०७९ २१:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =