सुरु हुँदै ए डिभिजन लिग : अनुभवी खेलाडीले आत्मविश्वासी फ्रेन्ड्स, विदेशी खेलाडीको भरोसामा खुमलटार

हिमाल प्रेस १९ फागुन २०७९ १०:११
50
SHARES
सुरु हुँदै ए डिभिजन लिग : अनुभवी खेलाडीले आत्मविश्वासी फ्रेन्ड्स, विदेशी खेलाडीको भरोसामा खुमलटार फ्रेन्ड्स क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ (बायाँ) र कप्तान प्रकाश बुढाथोकी (दायाँ)

काठमाडौँ- नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग शुक्रबार साँझबाट सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा लिगको पुरानो क्लबमध्येको एक फ्रेन्ड्स क्लबले नवप्रवेशी एफसी खुमलटारका सामना गर्दैछ।

गत सिजन मुस्किलले रेलिगेसनबाट बचेको फ्रेन्ड्स ललितपुरकै अर्को क्लबमाथि जित दर्ता गर्दै लिगको सुरुवात गर्न चाहन्छ। शीर्ष ६ मा रही लिग समापन गर्ने लक्ष्य राखेको फ्रेन्ड्सले टिमको जिम्मा उर्जन श्रेष्ठलाई दिएको छ। उर्जनले गएको सिजन थ्रीस्टार क्लबबाट प्रशिक्षकका रुपम डेब्यु गरेको थिए।

‘तयारी राम्रो भएको छ। लिगको तयारी स्वरुप हामीले केही मैत्रीपूर्ण खेल खेल्यौँ। ती खेलमा भएका गल्तीलाई हामी लिगका खेलमा दोहोर्‍याउने छैनौँ,’ प्रि–म्याच कन्फ्रेन्समा उर्जनले भने। उमेर समूहको नपाली राष्ट्रिय टिमको प्रशिक्षक रहिसकेका उर्जनले फ्रेन्ड्समा अनुभवी खेलाडी रहेकाले आफू सकारात्मक रहेको बताए।

फ्रेन्ड्सले प्रकाश बुढाथोकीलाई कप्तान बनाएको छ भने लक्ष्मण रुचाल, बुद्ध चेम्जोङ जस्त अनुभवी खेलाडीलाई पनि टिममा समेटेको छ। डोना थापा, उनका भाई आरोन, गोलरक्षकद्वय विशाल सुनार र राजबाबु थापा, अन्डर–२३ नेपाली टिमका असिम भुषाल, रुपेश केसी, अमित तामाङ, राजेश परियार लगायतका खेलाडी फ्रेन्ड्सले अनुबन्ध गरेको छ।

एफसी खुमलटारका कार्यकारी निर्देशक विदुर श्रेष्ठ (बायाँ) र कप्तान रेजिन सुब्बा (दायाँ)

पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको खुमलटार उत्साहित छ। यसको मुख्य कारण हो, गतिला मानिएका विदेशी खेलाडीको अनुबन्धन। गत सिजन न्युरोड टिम (एनआरटी) र त्यसअघि नेपाल सुपर लिगमा काठमाडौँ रेजर्सबाट खेलेका स्टिफन समिर र मेसुके ओलौमौउ यसपालि खुमलटारको जर्सीमा देखिनेछन्।

खुमलटारले रेजिन सुब्बालाई कप्तानीको जिम्मा दिएको छ। विभिन्न उमेर समूहका टिमबाट अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गरेका रेजिल हालै अस्ट्रेलियाबाट फर्किएका हुन्। केही महिना अस्ट्रेलियामा रही लिग खेल्न स्वदेश फिरेका उनका पिता मदन सुब्बा खुमलटारका सहायक प्रशिक्षक हुन्। उनले मुख्य प्रशिक्षक याम गुरुङलाई सघाउनेछन्।

बंगलादेशमा सम्पन्न साफ अन्डर–२० महिला च्याम्‍पियनसिपमा नेपाललाई दोस्रो बनाएका गुरुङ प्रि–म्याच कन्फ्रेन्समा उपस्थित भएनन्। त्यहाँ उपस्थित भएका क्लबका कार्यकारी अधिकृत विदुर श्रेष्ठले खुमलटारको लक्ष्य उपाधि जित्ने रहेको बताए।

‘हामीले गतिला विदेशी खेलाडी अनुबन्ध गरेका छौँ। तयारी पनि राम्रो भएको छ। त्यसकारण हाम्रो उद्देश्य उपाधि जित्ने नै हो,’ विदुरले भने। कप्तान रेजिनले टिममा युवा तथा अनुभवी खेलाडीको मिश्रण रहेकाले लिगमा राम्रो नतिजा निकाल्न सक्नेमा आशा व्यक्त गरे।

प्रकाशित: १९ फागुन २०७९ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =