चिनियाँ राष्ट्रिय जनकांग्रेसको वार्षिक अधिवेशन

आर्थिक र सामाजिक विकासमा ठूलो फड्को मारेको प्रधानमन्त्री लीको दाबी

अजय अलौकिक २१ फागुन २०७९ १०:४५
6
SHARES
आर्थिक र सामाजिक विकासमा ठूलो फड्को मारेको प्रधानमन्त्री लीको दाबी

बेइजिङ- चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था राष्ट्रिय जनकांग्रेसको वार्षिक अधिवेशन बेइजिङमा सुरु भएको छ। स्थानीय समयअनुसार आइतबार सुरु भएको अधिवेशनमा चीनका प्रधानमन्त्री ली खछ्याङले सरकारी कार्य प्रतिवेदन पेस गरेका छन्।

उनले सन् २०२२ मा चीनको अर्थतन्त्र स्थिर रहने बताए। उनले भने, ‘विकास गुणस्तर स्थिर रूपमा उकासिएको र चीनको विकासले नयाँ उपलब्धि हासिल गरेको छ।’

प्रधानमन्त्री लीले विगत एक वर्षमा चीनको आर्थिक विकास महामारीलगायत स्वदेशी र विदेशी कारक-तत्त्वबाट असर परे तापनि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले महामारीविरुद्ध आर्थिक तथा सामाजिक विकासको प्रभावकारी रूपमा सामना गरेको दाबी गरे।

प्रधानमन्त्री लीका अनुसार सन् २०२२ मा चीनको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशतले वृद्धि भएको छ। यस्तै विगत पाँच वर्षमा चीनको आर्थिक सामाजिक विकासले ठूलो फड्को मारेको लीको भनाइ छ।

प्रतिवेदनमा राष्ट्रिय कुल गार्हस्थ उत्पादन मात्रा १२१० खर्ब युआन पुगेर सरदर वार्षिक आथिक वृद्धि दर ५.२ प्रतिशत पुगेको उल्लेख छ। विगत १० वर्षमा लगभग ७०० खर्ब वृद्धि भएर वार्षिक सरदर वृद्धि दर ६.२ प्रतिशत पुगेको लीले बताए।

उनले भने, ‘चीनले जटिल वातावरणमा समग्र वर्षको मुख्य लक्ष्य पूरा गरेको छ। सहर र गाउँमा १ करोड २० लाख व्यक्तिका लागि नयाँ रोजगार अवसर थपिएको छ।’ प्रधानमन्त्री लीले सन् २०२३ मा चीनको आर्थिक वृद्धि अनुमानित लक्ष्यअनुसार कुल गार्हस्थ उत्पादनमा करिब ५ प्रतिशतले वृद्धि हुने दाबी गरेका छन्। प्रतिवेदनअनुसार सहर र गाउँमा १ करोड २० लाख व्यक्तिका लागि नयाँ रोजगार अवसर थपिनेछ।

सहर र गाउँमा बेरोजगार दर करिब ५.५ प्रतिशत हुने र उपभोग मूल्यमा ३ प्रतिशतले वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ। प्रधानमन्त्री लीले भने, ‘आयातनिर्यातमा स्थिरताका साथ वृद्धि हुनेछ। चीनको अन्तर्राष्ट्रिय आयव्यय आधारभूत रुपमा सन्तुलित हुनेछ।’ पर्यावरणीय वातावरण गुणस्तर स्थिरताका साथ सुध्रिने प्रधानमन्त्री लीले बताए।

चीनले विदेशी पुँजीलाई आकर्षित गर्ने र प्रयोग गर्ने, खुला चीनको ठूलो बजारले चीनमा विभिन्न मुलुकको उद्योग-व्यवसायको विकासका लागि मौका उपलब्ध गराउने जानकारी उनले दिएका छन्।

प्रतिवेदनअनुसार चीनले आधुनिक सेवा व्यवसाय क्षेत्रको खुलापनलाई विस्तार गर्नेछ। चीनले अर्थतन्त्रका लागि आयात र निर्यातको टेवा दिने भूमिका निर्वाह गर्नेछ। चीनले कानुनअनुसार निजी उद्योग व्यवसायीको सम्पत्ति अधिकार तथा व्यवसायीको हित अधिकारको संरक्षण गर्नेछ।

यसैगरी विगत पाँच वर्षमा चीनको सुधार तथा खुलापन गहन रूपमा निरन्तर बढाइएको छ। लीले भने, ‘बीआरआई अगाडि बढेको छ, चीनको मालसमानको आयातनिर्यात कुल रकम ४०० खर्ब युआनभन्दा बढी पुगेको छ भने भित्र्याइएको विदेशी पुँजी तथा वैदेशिक लगानी विश्वको अघिल्लो स्थानमा छ।’

यसबाहेक चीनले गरिबी निवारण, वैज्ञानिक तथा प्राविधिक आविष्कार र वातावरणको सुधार आदि क्षेत्रमा पनि ठूलो उपलब्धि हासिल गरेको दाबी प्रतिवेदनमा गरिएको छ।

प्रतिवेदनअनुसार चीनले अन्तर्राष्ट्रिय समाजसँग मिलेर वैश्विक विकास प्रस्ताव र वैश्विक सुरक्षा प्रस्तावलाई व्यवहारमा उतार्नेछ। चीनले अन्तर्राष्ट्रिय समाजसँग मानव भाग्य समुदायको सिर्जनालाई अगाडि बढाउँदै विश्वको शान्ति र क्षेत्रीय स्थिरताको संरक्षण गर्ने लीले बताए।

भविष्यमा अवलम्बन गरिने चिनियाँ नीतिबारे प्रतिवेदनमा उल्लेख छ, ‘चीनले स्वतन्त्र शान्तिपूर्ण कूटनीतिक नीति पालना गर्ने, शान्तिपूर्ण विकास बाटो हिँड्ने, शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँग मैत्रीपूर्ण सहयोग गर्ने र आपसीयुक्त हित तथा साझा जीतको खुलापन नीति पालना गर्नेछ।’

साथै उनले चीन सधैँ विश्वशान्तिको पक्षधर, विश्वको विकासका लागि योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक बन्नेमा जोड दिएका छन्।

नयाँ युगमा चिनियाँ कम्युनिस्ट पार्टीले थाइवान समस्याको समाधान गर्ने रणनीतिलाई चीनले अडिग रूपमा व्यवहारमा उतार्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रधानमन्त्री लीले एक चीनको नीति कायम राख्ने तथा अडानपूर्वक स्वतन्त्रताको विरोध गर्ने र एकीकरणलाई साकार बनाउने र दुई किनाराबीचको सम्बन्धको शान्ति विकास तथा मातृभूमिको शान्तिपूर्ण एकीकरण प्रतिक्रिया बढाउने बताए।

प्रतिवेदनमा हङकङ तथा मकाउबारे चर्चा गरिएअनुसार ‘एक देश दुई व्यवस्था’, ‘हङकङबासीद्वारा हङकङको प्रशासन’ तथा ‘मकाउबासीद्वारा मकाउको प्रशासन’ कार्यनीतिलाई सकारात्मक तथा अडिग रूपमा लागू गरिनेछ।

हङकङ तथा मकाउको आर्थिक विकास तथा जनताको जीवन सुधारको समर्थन गर्ने र हङकङ तथा मकाउको दीर्घकालीन समृद्धि तथा स्थिरता कायम राख्ने पनि जनाइएको छ।

यसपटकको राष्ट्रिय जनकांग्रेसको वार्षिक अधिवेशनबाट चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्थामा नयाँ सदस्य निर्वाचित हुनेछन्। साथै सरकारी कार्य प्रतिवेदनको लेखाजोखा र यस वर्षको चीनका आर्थिक सामाजिक विकासका मुख्य लक्ष्यहरू तथा सरकारी प्रशासिक कार्यनीति पारित हुनेछन्।

बेइजिङस्थित जनबृहत् सभाभवनमा भइरहेको राष्ट्रिय जनकांग्रेसको वार्षिक अधिवेशनमा राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी महासचिव सी चिन फिङलगायत चीनका नेतागण र राष्ट्रिय जनकांग्रेसका तीन हजार नयाँ प्रतिनिधि सहभागी छन्।

यसैगरी चीनको सर्वोच्च राजनीतिक परामर्शदात्री संस्था अर्थात् चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च ४ तारिखबाट सुरु भएको छ।
यो जन राजनीतिक परामर्शदात्री सम्मेलनको नयाँ राष्ट्रिय समितिका लागि पाँच वर्षीय कार्यावधिको पहिलो वार्षिक अधिवेशन हो।

प्रकाशित: २१ फागुन २०७९ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =