सबस्टेसनको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन

हिमाल प्रेस २० फागुन २०७९ २१:५२
6
SHARES
सबस्टेसनको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन फाइल तस्बिर

खोटाङ- केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन अलपत्र परेको छ। तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ भदौमा भारतीय निर्माण व्यवसायी कम्पनी एटुजेड इन्फ्रा इञ्जनियरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेसन हालसम्म पूरा भएको छैन।

कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारणलाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेसन निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएको स्थानीय माइतीराज राईले बताए। सम्झौता अनुसार २०७६ मै बनिसक्नुपर्ने सबस्टेसनको क्वाटर र कन्ट्रोल विल्डिङको काम अहिलेसम्म पनि पूरा भएको छैन। निर्माणस्थलमा सबस्टेसनको विद्युतीय उपकरण ल्याइए पनि जथाभावी खुला चौरमा थुपारिएका कारण कतिपय उपकरण टुटफुट र काम नलाग्ने बनेका छन्।

कतिपय संरचनाको पिलर मात्र ठड्याएर व्यवसायी कम्पनी सम्पर्कविहीन भएको छ। सबस्टेसनको बाँकी काम पूरा गराउन पटक पटक विद्युत् प्राधिकरणले निर्देशन दिँदा पनि सुनुवाइ नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष प्रमुख समीर राईले बताए। ‘सबस्टेसनमा जडान गर्न विराटनगरमा खरिद गरेर राखिएका ट्रान्सफर्मर निर्माणस्थलमा लगिएको छैन,’ उनले भने, ‘सबस्टेसन निर्माणमा ढिलासुस्ती हुँदा उत्तरी क्षेत्रका सेवाग्राही गुणस्तरीय विद्युत् सेवाबाट वञ्चित छन्।’

उक्त विषय पालिकाको कार्यक्षेत्रभित्र नपर्ने उनको भनाइ थियो। केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै बाक्सिलामा सबस्टेसन निर्माणको काम थालिएको थियो।

बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कूल खर्च करिब ११ करोड रुपैयाँ पुग्ने प्राधिकरणले बताएको छ। पटक–पटक पेटी ठेकेदार परिवर्तन हुँदा सबस्टेसन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत् प्राधिकरण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताए। ‘कम्पनीले नियमित काम गर्ने हो भने डेढदेखि दुई महिनामै काम सकिने अवस्था छ,’ उनले भने, ‘निर्माणको काममा निर्माण व्यवसायी कम्पनीले चासो नदेखाएकाले समस्या सिर्जना भएको हो। कम्पनीसँग सम्पर्क गर्ने काम भइरहेको छ।’

सम्झौता म्यादभित्र सबस्टेसन लगायतका संरचना निर्माणको काम नसकिएपछि भेरिएसन गर्दै पटक पटक म्याद थप पनि भएको छ। बाक्सिलामा निर्माणाधीन सबस्टेसन सञ्चालन नहुँदा उत्तरी क्षेत्रमा विद्युत् प्रवाह प्रभावकारी छैन। रासस

प्रकाशित: २० फागुन २०७९ २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =