पोग्बा मैदान फर्कँदा युभेन्टसको जित ; रोमा क्रेमोनेजेसँग स्तब्ध, माैउरिन्हाेलाई राताे कार्ड

हिमाल प्रेस १७ फागुन २०७९ १०:२०
8
SHARES
पोग्बा मैदान फर्कँदा युभेन्टसको जित ; रोमा क्रेमोनेजेसँग स्तब्ध, माैउरिन्हाेलाई राताे कार्ड

काठमाडाैँ- पउल पोग्बाले सिरी ‘ए’ मा पुनरागमन गरेको खेलमा युभेन्टसले मंगलबार राति टोरिनोमाथि ४–२ को जित दर्ता गरेको छ। युभेन्टसले जित शृंखला जारी राख्दा एएस रोमाले भने क्रेमोनेजेसँग अप्रत्याशित पराजय भोग्यो। इटालेली लिगमा यो सिजन क्रेमोनेजको यो पहिलो जित हो।

आफ्नै मैदानमा प्रतिद्वन्द्वी टोरिनोलाई पराजित गर्दा युभेन्टसका जुवान क्वादार्दो, डानिलो, ग्लेइसन ब्रेमर र आड्रियान राबियोटले एक–एक गोल गरे। टोरिनाबाट यान कारामोह र एन्टोनियो सानाब्रियाले गोल फर्काए।

टोरिनोले दोस्रो मिनेटमै अग्रता लिएको थियो। अलेसान्द्रो ब्युनगियोर्नोको कर्नरमा कारामोहले घरेलु समर्थकलाई स्तब्ध बनाउँदै टोरिनोलाई सुरुवाती अग्रता दिलाएका थिए। गोल खाएको १४ मिनेटपछि युभेन्टस खेलमा फर्कियो। क्वादादोले गरेको प्रहार टोरिनोका कप्तान रिकार्डो रोड्रिगेजलाई छुँदै पोस्टमा छिरेको थियो।

४१ औँ मिनेटमा टोरिनोले दोस्रो पटक अग्रता लियो। सानाब्रियाले इभान लिलिचको क्रसमा छरितो गोल गरे। पहिलो हाफ सकिनै लाग्दा युभेन्टस खेलमा फर्किएको थियो। एंगल डि मारियाको कर्नरमा डानिलोले हेडर गोल गरेका थिए।

दोस्रो हाफमा ब्रेमरले गरेको गोल पनि कर्नरकै कारण सम्भव भएको थियो। युभेन्टसको अन्तिम गोल राबियोटले गरे। फिलिप कोस्टिकले प्रहार गरेको फ्रिकिक ब्रेमरसँग डिफ्लेक्ट हुँदै राबियोट भएतिर पुगेको थियो। त्यसपछि राबियोटले ‘क्लोज रेन्ज’ गोल गरे।

खेलमा २२ मिनेट बाँकी रहँदा पोग्बा मैदान प्रवेश गरेका थिए। गत जुलाईमा म्यानचेस्टर युनाइटेडबाट युभेन्टस फर्र्किएका पोग्बाका लागि जारी सिजनको यो पहिलो खेल हो। उनी गत अप्रिलमा युनाइटेडबाट लिभरपुलविरुद्ध खेल्दा घाइते भएका थिए।

त्यसपछि उनले प्रिमियर लिगमा बाँकी पाँच खेल गुमाए। चोटमुक्त भएर युभेन्टस पुगेका उनी फेरि घाइते भए। सन् २०१२ देखि २०१६ सम्म खेल्दा युभेन्टसलाई सिरी ‘ए’ मा दबदबा कायम गर्न सघाएका पोग्बाको पुनरागमनलाई लिएर युभेन्टस उत्साहित थियो।

तर दाहिने घुँडाको चोटका कारण उनी लामो समय मैदानबाहिर बस्नु पर्‍यो। शल्यक्रिया नै गर्नुपर्ने भएपछि उनले विश्वकप पनि खेल्न पाएनन्।

आर्थिक अनियमितताको आरोपमा १५ अंक् घटाइएपछि शीर्ष चारतिर लम्किन संघर्षरत युभेन्टसका लागि पोग्बा फर्कनु सुखद खबर हो। टोरिनोलाई पन्छाएपछि अब युभेन्टस सातौँ स्थानमा उक्लिएको छ। तर युभेन्टस चौथो स्थानको लाजियोभन्दा अझै १० अंकले टाढा छ।

पूरा सिजन एकै खेल नजितेको क्रेमोनेजेले अन्ततः पहिलो पटक तीन अंक बटुल्यो। फ्रान्क साड्जौटले १७ औँ मिनेटमा गोल गरेपछि क्रेमोनेजेले रोमामाथि अग्रता लिएको थियो। ७१ औँ मिनेटमा लियानाद्रो स्पिनाजोलाको गोलमार्फत खेलमा फर्किएको रोमालाई ८३ औँ मिनेटमा डानियल सियोफानीले निराश बनाए।

सियोफानीको पेनाल्टी गोलका कारण रोमाले छैटौँ हार भोग्यो। रोमाका गोलरक्षक रुई प्याट्रिसियोले डेभिड ओकेरेमाथि फउल गरेपछि क्रेमोनेजेले पेनाल्टीको अवसर पाएको थियो।

पहिलो हाफ सकिँदै गर्दा रेफ्रीसँग भनाभन गरेको रोमाका प्रशिक्षक जोसे मौउरिन्होले रातो कार्ड पाए। क्रेमोनेजेसँग भिड्नुअघि तेस्रो स्थानमा रहेको रोमा हारपछि पाँचौँ स्थानमा ओर्लियो। तेस्रो स्थानमा एसी मिलान र चौथो स्थानमा रोमाको सहरी प्रतिद्वन्द्वी लाजियो छ। मंगलबार नै साम्पडोरियालाई १–० ले पराजित गरेपछि लाजियोले चौथो स्थानमाथि कब्जा जमाएको हो।

माउरिजियो सारीको टिमलाई विजयी बनाउन मिडफिल्डर लुुइस अल्बर्टोले ८० औँ मिनेटमा गोल गरेका थिए। अब लाजियोको २४ खेलबाट ४५ अंक भएको छ। जुन पाँचौँ स्थानको रोमाको भन्दा एक अंक बढी हो। मिलानको ४७ अंक छ। नापोली ६५ अंकसहित शीर्षस्थानमा यथावत छ। लिगको १९ र २० औँ स्थानमा क्रेमोनेजे र साम्पडोरिया छन्।

प्रकाशित: १७ फागुन २०७९ १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =