डायलासिस सेवा लिन बिरामीलाई चरम सास्ती

हिमाल प्रेस १३ फागुन २०७९ १६:०६
6
SHARES
डायलासिस सेवा लिन बिरामीलाई चरम सास्ती डायलासिस मेसिन। फाइल तस्बिर

दाङ- घोराही उपमहानगरपालिका–१४ का शम्भुरत्न घिमिरेको दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गराउँदै आएका छन्। मिर्गौलाले काम गर्न छाडेपछि मानसिक तनावमा रहेका उनले लमहीस्थित गौतम बुद्ध सामुदायिक अस्पतालमा डायलाइसिस गराउँदै आएका छन्।

दुई वर्षदेखि निरन्तर यही अस्पतालमा डायलासिस गराउँदै आएका उनले पछिल्लो समय अस्पतालमा डायलासिस सेवा बन्द रहेको सूचना देखेपछि झनै चिन्ता थपिएको बताए। ‘डायलासिस सेवा बन्द हुने खबरले चिन्तित बनाएको छ’ उनले भने, ‘अब कहाँ गएर डायलासिस गर्ने?’ सरकारले आफूहरूको उपचारको पहल गरिदिनुपर्ने उनको माग छ।

त्यस्तै महेन्द्रनगरबाट डायलासिस गराउनकै लागि दाङको लमही आएकी ४२ वर्षीया वसन्ता केसी डायलासिस सेवा बन्द भएपछि अन्योलमा छिन्। ‘अन्यत्र भन्दा यहाँ डायलाइसिस गर्न सहज थियो’ उनले भनिन्, ‘अब उपचार गर्न समस्या हुने भयो । के गर्ने होला?’

तीन वर्षदेखि यहाँ आएर डायलासिस गराउँदै आएकी प्युठानको सरुमारानी गाउँपालिका–४ सिरुबारीका ३५ वर्षीय केशव थापा पनि सेवा बन्द हुने खबरले चिन्तित छन्। अस्पतालले डायलासिस सेवा बन्द गरेपछि मिर्गौलाका बिरामीले डायलासिसमा चरम सास्ती भोग्नु परेको छ। अस्पताल प्रशासनले आर्थिक अभावका कारण डायलासिस सेवा बन्द गर्नुपरेको प्रतिक्रिया दिएको छ। उपचारबापतको रकम राज्यले हालसम्म उपलब्ध नगराएपछि सेवा बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालका प्रमुख एजाज आलमले बताए।

अहिलेसम्म उपचार गरिएको ६ करोड रुपैयाँ अस्पतालले नपाएपछि सेवा रोक्नुपरेको उनको भनाइ थियो। लमही सामुदायिक डायलासिस केन्द्रलाई सरकारले विपन्न नागरिकको उपचार गरेबापत उपलब्ध गराउँदै आएको रकम पछिल्लो ७ महिनादेखि नपाएको अस्पताल प्रशासनको गुनासो छ।

डायलासिसका लागि अत्यावश्यक सामान खरिद गर्न र अस्पतालमा कार्यरत कर्मचारीको तलब भुक्तानी गर्नसमेत समस्या भएको अस्पतालको भनाइ छ। फागुन १५ गतेभित्र राज्यले प्रदान गर्ने रकम भुक्तानी नगरे अस्पतालले उपलब्ध गराउँदै आएको निःशुल्क सेवा बन्द हुने अस्पतालको भनाइ छ।

अस्पताल प्रमुख आलमका अनुसार अहिले यस अस्पतालमा ५६ जना मिर्गौलाका बिरामीले डायलासिस गराउँदै आएका छन्। यद्यपि अस्पतालले डायलासिस सेवा बन्दको सूचना जारी गरेपछि बिरामी अन्योलमा परेका छन्। राससको सहयोगमा

 

प्रकाशित: १३ फागुन २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =