काठमाडौँ- यतिबेला सबैको ध्यान राष्ट्र प्रमुखको निर्वाचनमा केन्द्रित भएको छ। शीतल निवासमा बसेर देशको अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्ति कस्तो होलान् भन्ने आमचासो हुनु स्वाभाविकै हो। निर्वाचन आयोगले सावर्जनिक गरेको कार्यतालिकाअनुसार राष्ट्रपति पदका लागि उम्मेदवारी दिने कार्यक्रम शनिबारका लागि तोकिएको छ। फागुन २५ गते मतदान हुनेछ।
आधुनिक नेपालको राजनीतिक इतिहासमा राष्ट्रपति चयनका लागि चौथोपटक चुनाव हुन लागेको हो। २०६५ सालमा राजतन्त्र अन्त्य भएपछि डा. रामवरण यादव पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए। २०७२ सालमा नयाँ संविधान जारी भएपछि विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपतिका रूपमा चयन भएकी थिइन्। यस्तै मुलुकको पहिलो उपराष्ट्रपति परमानन्द झा हुन् भने दोस्रो राष्ट्रपति नन्दबहादुर पुन हुन्। राष्ट्रपति भण्डारीजस्तै उपराष्ट्रपति पुनले पनि पहिलो कार्यकालमा २८ महिना जिम्मेवारी सम्हालेका थिए।
०७४ फागुन २९ मा दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदैछ। यस्तै २०७४ चैत ४ मा उपराष्ट्रपतिमा निर्वाचित नन्दबहादुर पुनको कार्यकाल चैत ३ मा सकिँदैछ। यस हिसाबले अब मुलुकले चौथो राष्ट्रपति र उपराष्ट्रपति पाउँदैछ। यहाँ हालसम्म निर्वाचित राष्ट्रपति र उपराष्ट्रपति चुनावी प्रक्रियासहित केही रोचक जानकारी प्रस्तुत गरिएको छ।
मुलुकले राष्ट्रपतिभन्दा पहिला नै पायो उपराष्ट्रपति
नेपालमा डेढ दशकअघि २०६५ सालमा गणतान्त्रिक व्यवस्था लागू भएको हो। त्यसअगाडि देशमा राजतन्त्र थियो। राष्ट्र प्रमुख राजा हुन्थे। २४० वर्षदेखि राष्ट्र प्रमुखमा रहेका शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह हुन्। २०६२-६३ को जनआन्दोलनपछि जारी अन्तरिम संविधानअनुरूप संविधानसभा निर्वाचन सम्पन्न भएको थियो। २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य भएको घोषणा गरेको हो।
संविधानसभाबाट गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्ताव पारित भएपछि जेठ १५ गते राति नेपालको अन्तरिम संविधान, २०६३ माथि चौथो संशोधन गरी राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी व्यवस्था गर्न व्यवस्थापिका-संसद्को हैसियतमा संविधानसभा बैठक बसेको थियो।
संविधानको चौथो संशोधनले राष्ट्रपति र उपराष्ट्रपतिको संवैधानिक व्यवस्था गरे पनि निर्वाचन विधि तय हुन सकेको थिएन। २०६५ असार २९ गते अन्तरिम संविधानको पाँचौँ संशोधनमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन विधि समावेश भयो।
उक्त संविधानको धारा ३६ ख. मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राजनीतिक सहमतिमा संविधानसभाले गर्ने, राजनीतिक सहमति हुन नसकेमा संविधानसभामा तत्काल कायम सम्पूर्ण सदस्य संख्याको बहुमतबाट निर्वाचित हुने व्यवस्था थियो।
साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य कार्यविधि संविधानसभाले निर्धारण गर्ने व्यवस्था पनि गरिएको थियो। गणतन्त्र नेपालको प्रथम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नु संविधानसभाको पहिलो प्राथमिकताको विषय भएकाले सोका लागि कार्यविधि तयार पारिएको थियो।
कार्यविधिबमोजिम राष्ट्रपति र उपराष्ट्रपति दुवै पदको निर्वाचन सम्पन्न गर्न २०६५ साउन ४ गते दिनको ११ बजे समय निर्धारण गरियो। राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन अधिकृत संविधानसभाका तत्कालीन कार्यवाहक महासचिव मनोहरप्रसाद भट्टराई तोकिएका थिए। उनलाई राष्ट्रपति र उपराष्ट्रपति सम्पन्न गरी संविधानसभाका अध्यक्षसमक्ष निर्वाचन परिणाम पेस गर्ने जिम्मेवारी तोकिएको थियो।
निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपति पदमा रामप्रीत पासवान, रामराजाप्रसाद सिंह र रामवरण यादवले उम्मेदवारी दिएका थिए। उपराष्ट्रपति पदमा भने अष्टलक्ष्मी शाक्य बोहरा, परमानन्द झा, मानबहादुर विश्वकर्मा र शान्ता श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए।
संविधानसभा भवनको ल्होत्से हलमा २०६५ साउन ४ गते भएको राष्ट्रपति निर्वाचनमा कुल मतदाता संख्या ५९४ थियो। यसमध्ये ५७८ मत खसेको थियो। खसेको मतमध्ये २५ मत बदर भएको थियो भने ५५३ मत सदर भएको थियो। सदर मतमध्ये रामप्रीत पासवानले शून्य मत, रामराजाप्रसाद सिंहले २७० मत र रामवरण यादवले २८३ मत प्राप्त गरेका थिए।
राष्ट्रपति पदका उम्मेदवारमध्ये कसैले पनि संविधानसभामा तत्काल कायम रहेका सदस्य संख्या ५९४ को बहुमत अर्थात् २९८ मत वा सोभन्दा बढी मत प्राप्त नगरेपछि कुनै पनि उम्मेदवार विजयी हुन सकेनन्। सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार रामवरण यादव (२८३ मत) र रामराजाप्रसाद सिंह (२७० मत) बीच पुनः मतदान गराउनुपर्ने प्रावधानबमोजिम २०६५ साउन ६ गते बिहान ८ बजेको समय तोकियो।
राष्ट्रपति पदको पुनः मतदानमा कुल मतदाता संख्या ५९४ थियो। जसमा खसेको कुल सदर मत संख्या ५९० थियो। रामराजाप्रसाद सिंहले २८२ मत प्राप्त गरेका थिए भने रामवरण यादवले ३०८ मत प्राप्त गरेका थिए। पुनः मतदानको परिणामबाट यादव संविधानसभामा तत्काल कायम रहेका सदस्य संख्या ५९४ को बहुमत अर्थात् २९८ मतभन्दा बढी मत अर्थात् ३०८ मत प्राप्त गरी राष्ट्रपति पदमा निर्वाचित भएका थिए।
सोही दिन बसेको संविधानसभाको बैठकमा रामवरण यादव नेपालको राष्ट्रपति पदमा बहुमतले निर्वाचित भएको घोषणा गरिएको थियो। तर उपराष्ट्रपति निर्वाचित भएको घोषणा त्यसअघि नै भएको थियो। साउन ४ गते भएको उपराष्ट्रपति पदको निर्वाचनको परिणामअनुसार मतदाता संख्या ५९४ मध्ये खसेको मतसंख्या ५७८ मा बदर मत २४ थियो भने सदर मत ५५४ थियो।
सदर मत परिणाममध्ये अष्टलक्ष्मी शाक्य बोहराले चार, परमानन्द झाले ३०५ मत, मानबहादुर विश्वकर्माले दुई र शान्ता श्रेष्ठले २४३ मत प्राप्त गरेका थिए। निर्वाचन परिणामअनुसार उपराष्ट्रपति पदको निर्वाचनमा उपराष्ट्रपति पदका उम्मेदवारमध्ये परमानन्द झाले संविधानसभामा तत्काल कायम रहेका सदस्य संख्या ५९४ को बहुमत अर्थात् २९८ मतभन्दा बढी मत अर्थात् ३०५ मत प्राप्त गरी उपराष्ट्रपति पदमा विजयी भएका थिए।
झा नेपालको उपराष्ट्रपति पदमा बहुमतले निर्वाचित भएको घोषणा साउन ४ गते बसेको संविधानसभाको बैठकमा गरिएको थियो। पहिलो संविधानसभाबाट चुनिएका राष्ट्रपति यादव नेपाली कांग्रेस पृष्ठभूमिका थिए भने उपराष्ट्रपति झा मधेशी जनअधिकार फोरमको सिफारिसमा निर्वाचित भएका थिए। पहिलो राष्ट्रपति र उपराष्ट्रपति दुवै तराईबाट थिए।
पहिलो महिला राष्ट्र प्रमुखको २८ महिने कार्यकाल
नेपालको दोस्रो राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन्। उनी नेपालको आधुनिक इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुन्। कम्युनिस्ट पृष्ठभूमिबाट पहिलो राष्ट्रपति बन्ने मौका पनि भण्डारीले नै प्राप्त गरेकी हुन्।
पहिलोपटक महिला राष्ट्रपति निर्वाचित भएको घोषणा पूर्व छापामार पृष्ठभूमि हुँदै संसदको सभामुख भएकी महिला नेतृ ओनसरी घर्तीले गरेकी थिइन्। संसद्मा कायम ५९७ सदस्यमध्ये भण्डारीले ३२७ मत पाएकी थिइन्। संसद् भवनको ल्होत्से हलमा भएको गोप्य मतदानमा ५४१ सदर मतमध्ये भण्डारीका प्रतिद्वन्द्वी कांग्रेस नेता कुलबहादुर गुरुङले दुई सय १४ मत पाएका थिए।
यस्तै नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन नामबाट चिनिएका माओवादीका पूर्वलडाकु कमान्डर एकीकृत माओवादीका नेता नन्दबहादुर पुन विजयी भएका थिए।
चुनावमा खसेको कुल ५४७ मतमध्ये माओवादीका पुनले ३२५ मत पाएका थिए भने प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गरेका थिए। पुनलाई नेकपा एमाले, राप्रपा नेपालसहित केही साना दलको समर्थन थियो।
भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित
राष्ट्रपति पदको निर्वाचनका लागि २०७४ फागुन २९ गते बिहान १० बजेदेखि दिउँसो ३ सम्म मतदान कार्यक्रम सञ्चालन भएको थियो। संघीय संसद्का ३३१ र प्रदेशसभाका ५४९ गरी ८८० मतदाता थिए। तीमध्ये संघीय संसद्का ३२६ र प्रदेश सभाका ५३६ गरी ८६२ मतदाताले निर्वाचनमा भाग लिएका थिए। भण्डारीको प्रस्तावकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल थिए।
मतगणना सम्पन्न हुँदा भण्डारीले ३९ हजार २७५ र कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेका थिए। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यका तीन र प्रदेशसभाका सदस्य मतदाताले मतदान गरेका पाँच गरी आठ मतपत्र बदर भएका थिए।
भण्डारी वाम गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् भने राई नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेकी थिइन्। निर्वाचन आयोगले संघीय संसद्का एक जना सांसदले दिएको मत ७९ मत बराबर कायम गरेको थियो भने प्रदेशसभाका सदस्यले दिएको मत ४८ मत बराबर कायम गरेको थियो।
मतदानमा ८६२ जना सहभागी भए। त्यति बेला संघीय संसद्का तीन सदस्य र प्रदेशसभाका पाँच सदस्यको मत बदर भएको थियो। प्रदेशसभाका १३ जना र संघीय संसद्का पाँच जना सांसद मतदानमा सहभागी भएका थिएनन्।
राष्ट्रियसभामा मनोनीत तीन सांसद युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलले आफ्नो नाम मतदाता सूचीमा समाविष्ट हुन नपाएकाले मतदान गर्न पाएनन्। यस्तै कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरी मतदाता नामावलीमा समाविष्ट भए पनि प्रहरी हिरासतमा भएकाले मतदानमा सहभागी हुन पाएका थिएनन्।
मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ फौजदारी मुद्दामा दोषी पाइएपछि मतदानका लागि अयोग्य ठहरिएका थिए। भण्डारीलाई राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले पनि साथ दिएका थिए।
निर्विरोध नन्दबहादुर
एक मात्र उम्मेदवारी परेपछि नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित बनेका थिए। २०७४ चैत ४ गते १८ बजे उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदा पुनको मात्र उम्मेदवारी कायम भएकाले निर्वाचन अधिकृतबाट राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी अध्यादेश, २०७४ को दफा २४ बमोजिम नन्दबहादुर पुनलाई नेपालको उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।
त्यति बेला राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि उच्च अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको थियो।
यस्तो छ कानुनी व्यवस्था
संविधानअनुसार संघीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य संख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ। पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति राष्ट्रपति बन्छन्।
दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा जसले कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति हुनेछ। निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेका व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति निर्वाचनका क्रममा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको पाँच जना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्ने व्यवस्था छ। नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रूपमा स्थापित गरेको छ। राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको छ।
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका, मतदान काठमाडौँमै