ब्युँतिएला पुरानै पाँच दलीय गठबन्धन?

हिमाल प्रेस ११ फागुन २०७९ १०:१६
34
SHARES
ब्युँतिएला पुरानै पाँच दलीय गठबन्धन?

पाँच दलीय गठबन्धन ब्युँतिएको घोषणा गर्नुअघि माओवादी केन्द्रले एमालेको प्रतिक्रिया चाहेको छ।

काठमाडौँ- फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवार मनोनयन दर्ता हुने कार्यतालिका छ। उम्मेदवार मनोनयनको समय नजिकिँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको दौडधुपसँगै व्यस्तता बढेको छ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्दै आएको छ। अर्कोतिर नेताहरू पुरानै गठबन्धन ब्युँताउने तयारीमा लागेका छन्।

पुस १० गते माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गर्दा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। तर प्रचण्डले पछिल्लो समय राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनुपर्ने अडान लिन थालेपछि राष्ट्रपति निर्वाचन पेचिलो बनेको छ।

अहिले कांग्रेसको दाउ चुनावताकाको गठबन्धन ब्युँताउने रहेको छ भने एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीले राष्ट्रपति नपाउने अवस्थामा कांग्रेसइतरको आफूअनुकूलको राष्ट्रपति बनाउने दौडधुपमा छन्।

राजनीतिको कित्ता आफ्नो पक्षमा पार्न चतुर मानिएका ओलीले पछिल्लो पटक एकपछि अर्को कार्ड फ्याँक्न थालेपछि कांग्रेस सशंकित बनेको छ। ओलीको कार्डले नेपाली राजनीति थप तरंगित बनेको छ। ओलीले माधव नेपाल, अमिक शेरचन, डा। बाबुराम भट्टराईसम्मलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेका छन्।

ओली र माधव नेपालबीच त आइतबार ‘वान अन वान वार्ता’ समेत भएको थियो। झण्डै ४ घण्टा भएको वार्तामा ओलीले सीधै राष्ट्रपतिको प्रस्ताव नगरेर घुमाउरो भाषा प्रयोग गरेको स्वयम् नेता नेपालले बताएका छन्।

नेपालका अनुसार आइतबार साँझ एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको घरमा भएको भेटमा ओलीले पार्टी एकताको प्रस्तावसमेत गरेका थिए।
‘बाहिर आएको जस्तो प्रस्तावै गरेको होइन। तर दल मिलाएर जाउँ, त्यसरी दल ठूलो हुँदै जाँदा हामी सबै कुरा प्राप्त गर्न सक्छौं भन्ने उहाँको भनाइ थियो,’ नेपाललाई उद्धृत गर्दै उनी निकट एक नेताले बताए। ती नेताले ओलीको राष्ट्रपतिको प्रस्तावप्रति खासै आशावादी नरहेको बताए।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि यसबारेमा पार्टीमा कुनै औपचारिक प्रस्ताव नआएको बताए। ‘कसले कसलाई के प्रस्ताव गर्‍यो त्यसबारे केही थाहा छैन। पार्टी एउटा नीति, विधि, सिद्धान्त निष्ठासँग चल्छ,’ उनले भने, ‘त्यसैले कसैसँग कुरा गर्न पर्‍यो भने स्वाभाविक रूपले एउटा औपचारिक धरातलमा बसेर कुरा गर्नुपर्छ, अहिलेसम्म त्यस्तो मलाई केही थाहा छैन। कतै केही भएको अहिलेसम्म मैले जानकारी पाएको छैन।’
तर, धेरै समयदेखि दुई नेताबीच संवाद हुन नसकेको अवस्थामा ओली–नेपालबीचको भेटले ‘आइसब्रेक’ भने गरेको एकीकृत समाजवादीका एक नेताले बताए। यसले सम्भावनाको मार्गप्रशस्त गर्न सक्ने उनको भनाइ थियो।

ओलीको प्रस्तावले खासै आशावादी नभएको भनिए पनि यसबारे राजनीतिक दलहरूसँग घनीभूत छलफलमा लाग्न अध्यक्ष नेपालले नेताहरूलाई निर्देशन दिएका छन्। ‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिकै आधारमा अगाडि बढ्नका लागि सबैजसो राजनीतिक दलहरूसँग अब घनीभूत रूपमा अगाडि बढाऔँ,’ नेताहरूलाई नेपालले भनेका थिए, ‘अब समय पनि धेरै छैन। वार्ता गरौं।’

नेपालको राजनीतिमा विकसित पछिल्लो परिदृश्यपछि बुधबार प्रमुख दलका शीर्ष नेताहरू भेटघाटमै व्यस्त रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधवार साँझ बालुवाटारमा भेटवार्ता भएको छ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँगको भेटवार्ता र छलफलपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

दुई शीर्ष नेताबीचको भेटमा पनि राष्ट्रपतिबारे छलफल भएको र बैठक सकारात्मक रूपमा अघि बढेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।
उनले भने, ‘कांग्रेसले राष्ट्रपति लिने विषयमा सकारात्मक छलफल भएको छ। थप छलफल गर्नका लागि बिहीबार फेरि बैठक बस्छ।ु

बालुवाटार बैठकअघि देउवा निवास धुम्बाराहीमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता भएको थियो। बुधबार साँझ देउवा निवास धुम्बाराहीमा भएको छलफलमा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाल पनि सहभागी थिए।

उक्त भेटमा कांग्रेस र एकीकृत समाजवादीका नेताहरूले एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री छँदा संसद् विघटन गरेको प्रसंग उप्काउँदै फेरि त्यस्तो हुन नदिन सतर्क हुनुपर्ने निष्कर्ष निकालेका थिए। अर्थात् राष्ट्रपति निर्वाचनपछि एमालेलाई जारी सत्ता भागबन्डाभन्दा बाहिर राखेर अघि बढ्ने विषयमा समेत दुई दलका नेताहरूबीच छलफल भएको छ। नेपालसँगको भेटलगत्तै कांग्रेस सभापति देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

यसअघि बुधवार नै देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच पनि भेटवार्ता भएको थियो। देउवा र यादवबीच पनि राष्ट्रपति निर्वाचनकै विषयमा छलफल भएको बताइएको छ।

बुधवार भएको भेटवार्ता र छलफलले पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने प्रयासलाई थप बल पुर्‍याएको स्वयम् नेताहरूले स्वीकारेका छन्। पुस १० मा भएको सहमतिअनुसार माओवादी केन्द्रले एमालेले भनेकै उम्मेदवार राष्ट्रपति नमान्ने भनेपछि पुनः पुरानो गठबन्धनबारे छलफल चलेको हो। तर, पाँच दलीय गठबन्धन ब्युतिएको घोषणा गर्नुअघि माओवादी केन्द्रले एमालेको प्रतिक्रिया चाहेको छ।

प्रकाशित: ११ फागुन २०७९ १०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =