मुस्ताङ–भद्रपुर झापा गोल्डकप सुरु, पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्सको जित

हिमाल प्रेस ७ फागुन २०७९ २०:४८
10
SHARES
मुस्ताङ–भद्रपुर झापा गोल्डकप सुरु, पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्सको जित

भद्रपुर- मुस्ताङ–भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ। आइतबार भद्रपुरस्थित मेची रंगशालामा भएको खेलमा पाहुना टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको हो। भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे। पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५औँ मिनेटमा आयोजकका तर्फबाट विदेशी खेलाडी स्टेफन समीरले गोल गरे। दोस्रो गोल ८० औँ मिनेटमा आयोजकका मेसुकेले गरे।

खेलको सुरुवाती समयदेखि नै आयोजकले पाहुना टोली जयगाउँलाई दबाबमा राखेको थियो। यद्यपि पहिलो हाफमा आयोजकले गोल गर्न सकेन। पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए। उनले नगद २० हजार पुरस्कार पाए।

विजयी भएको आयोजक भद्रपुर ब्लेजर्स अब क्वाटर फाइनलमा मंगलबार संकटा क्लबसँग खेल्नेछ। संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको टीम हो। सोमबारको खेल विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा फागुन १६ गतेसम्म हुनेछ । गोल्डकपमा तीन विदेशीसहित १० टीमको सहभागिता रहेको छ। गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ।

भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ। भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन आइतबार उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे ।

उद्घाटन समारोहमा आयोजक भद्रपुर–झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले गोल्डकप मेची रंगशालाको पुनर्जीवनका लागि भएको बताए ।

प्रकाशित: ७ फागुन २०७९ २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =