झापाका किसान केराखेतीतर्फ आकर्षित

हिमाल प्रेस १२ माघ २०८० ८:१४
12
SHARES
झापाका किसान केराखेतीतर्फ आकर्षित

झापा- झापामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ। केराखेतीबाट आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो। किसानले धानबाली हुने खेतमा केराखेती गरेका हुन्।

जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए। केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ। उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए।

झापाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ। यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए। प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए।

‘धान, मकैखेतीभन्दा केराखेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ’, प्रमुख विष्टले भने,‘त्यही भएर किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित भइरहेका छन्।’

दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन्। अधिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन्। उनीहरु परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर केराखेतीमा लागेका छन्।

झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरेका छन्। विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उनले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन्।

स्थानीय २० जना युवायुवतीलाई रोजगार दिएका बस्नेतले वार्षिक एक करोडको केरा बिक्री गर्ने गरेको बताए। उनले धान, मकैलगायत अन्य बालीको तुलनामा केराखेतीबाट बढी लाभ हुने गरेको जानकारी दिए। यसैगरी श्रीगणपति एग्रिकल्चर प्रा.लि.ले भद्रपुर र गौरादह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गर्दै आएको छ।

उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रैमै आम्दानी दिने गरेको प्रा.लि.का अध्यक्ष वासु उप्रेतीले बताए। उनले भद्रपुर–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा गरी ६७ बिघा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती गत वर्षदेखि सुरु गरेको बताए। रासस

प्रकाशित: १२ माघ २०८० ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =