काठमाडौँ- भिचा काभारसेलिया र भिक्टर ओसिमेनले फेरि एकपल्ट गोल गर्दा नापोलीले सासुओलोमाथि २–० को जित दर्ता गरेको छ। शुक्रबार राति हासिल गरेकाे यो जितसँगै नापोलीले सिरी ‘ए’ मा शीर्षस्थानमा १८ अंकको अग्रता कायम गरेको छ।
नापोलीले २३ खेलबाट ६२ अंक बटुल्दा दोस्रो स्थानको इन्टर मिलानसँग एक खेल कम खेलेर ४४ अंक छ।
जर्जियाका २२ वर्षीय विंगर काभारसेलियाले १२ औँ मिनेटमा नापोलीलाई अग्रता दिलाएका थिए। यही सिजन नापोलीसँग आबद्ध भएका काभारसेलियाका लागि यो १० औँ लिग गोल थियो। उनी जस्तै बलियो लयमा रहेका नाइजेरियन स्ट्राइकर ओसिमेनले ३३ औँ मिनेटमा नापोलीको अग्रता दोब्बर बनाएका थिए। ओसिमेनले यो सिजन सिरी ए मा १९ गोल गरिसकेका छन्।
सिरी ‘ए’ मा २३ मध्ये २० खेल जितेको लुसियानो स्पालेट्टीको टिम क्रमश: उपाधितिर लम्किरहेको छ। डिएगो म्याराडोनाले सन् १९८७ र १९९० मा च्याम्पियन बनाएपछि नापोलीले लिग उपाधि थप्न सकेको छैन
सासुओलोमाथिको जित नापोलीले लिगमा हासिल गरेको लगातार सातौँ जित हो। जनवरीको पहिलो साता इन्टरसँग १–० ले पराजित भएयता नापोलीले पराजय भोगेको छैन। मापेई रंगशालामा भएको यो खेल स्पालेट्टीका लागि प्रशिक्षकका रुपमा एक हजारौँ खेल थियो।
‘अहिलेको स्थितिमा हामीले गर्न सक्ने भनेको मेहनत गर्दै खेल जितिरहने हो। सासुओलोलाई हराउन सजिलो थिएन। यो टिमलाई ९० मिनेटसम्म दबाब दिन कठिन छ। तर दोस्रो हाफमा हामीले निकै मेहनत गर्यौँ र उसलाई गोल गर्नबाट रोक्यौँ,’ नापोली प्रशिक्षक स्पालेट्टीले भने।
सिरी ए मा जित लय जारी राखेपछि नापोली अब च्याम्पियन्स लिगमा केन्द्रित हुनेछ। जहाँ अन्तिम १६ को पहिलो लेगमा इटालियन लिग लिडरले जर्मन विपक्षी फ्रान्कफर्टको सामना गर्दैछ।
‘फ्रान्कफर्टलाई हामीले कमजोर मानेका छैनौँ। किनभने फ्रान्कफर्टसँग यस्ता खेलाडी छन् जसले तीव्र गतिमा खेलेर हामीलाई हानी पुर्याउन सक्छन्। गत सिजन युरोपा लिग जितेकाले पनि युरोपियन क्लब फुटबलमा फ्रान्फर्ट हामीभन्दा बढी अनुभवी छ,’ जर्मन बुन्डेसलिगामा हाल छैटौँ स्थानमा रहेको फ्रान्कफर्टबारे स्पालेट्टीले भने।
काभारसेलिया, ओसिमेनको जादु
सिरी ‘ए’ मा डेब्यु सिजन खेलिरहेका काभारसेलिया मैदानको मध्यभागबाट बल अघि बढाएर पेनाल्टी बक्स पुगेका थिए। त्यहीँबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
पहिलो हाफकै २६ औँ मिनेटमा ओसिमेनले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। लगातार गोल गर्ने प्रयास गरेका ओसिमेन पाँच मिनेटपछि भने सफल भए। अमिर राहमानीको पासलाई नियन्त्रणमा लिँदै सासुओलोका दुई खेलाडीलाई छक्कयाएर गरेको बलले जाली चुमेको थियो।
नापोलीको उपाधि जित्ने अभियानमा काभारसेलिया र ओसिमेन सबैभन्दा महत्त्वपूर्ण साबित भइरहेका छन्। लिगमा नापोलीले गरेको ५६ गोलमध्ये २८ गोल यी दुईको नाममा छ।
केही साताअघि एसी मिलान र एटलान्टमामाथि अप्रत्याशित जित हासिल गरेको सासुओलोले नापोलीलाई पनि दबाबमा राखेको थियो। मुख्य खेलाडी डोमेनिको बेरारद्रीबिना मैदान ओर्लिएको सासुओलोले केही राम्रा मौका सिर्जना गरेको थियो। २३ खेलबाट २४ अंक बटुलेको सासुओलो हाल १५ औँ स्थानमा छ।