राष्ट्रपति चुनाव : समय घर्किँदै, सत्ता गठबन्धनमा अविश्वास बढ्दै

हिमाल प्रेस ५ फागुन २०७९ १४:०२
6
SHARES
राष्ट्रपति चुनाव : समय घर्किँदै, सत्ता गठबन्धनमा अविश्वास बढ्दै

काठमाडौँ- राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनमा सहमति जुट्ने संकेत देखिएको छैन। सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच अविश्वास बढ्दै जाँदा राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सकस भएको हो। यद्यपि दुई दलका शीर्ष नेताबीच भेटवार्ता भने जारी नै छ।

राष्ट्रपति निर्वाचनकै विषयमा प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार भएको छलफल बिना निष्कर्ष टुंगिएको छ।

अध्यक्ष ओली राष्ट्रपतिबारे रहेको संशय मेट्ने प्रयास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए। यस प्रयासका निम्ति उनले प्रचण्डलाई मनाउने प्रयास गरे। उनीहरूबीच साढे दुई घण्टा भएको छलफलमा राष्ट्रपतिमा कसो गर्ने भन्ने टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन्।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिदृश्यमा सत्ता गठबन्धनभित्र देखिएका विविध आशंका मेटाउने विषयमा समेत छलफल भएको थियो।

प्रचण्डले कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चा चलिरहँदा प्रधानमन्त्री र ओलीबीच केही सातायता बाक्लै भेटवार्ता भइरहेका छन्।

सरकार गठनताका एमालेबाट राष्ट्रपति बनाउने सहमति भएको बताइए पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने निर्णय गरेको छ। जसकारण एमाले सशंकित बन्दै आएको छ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेका बेला दुई नेताबीच सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भूमिकाबारेसमेत भेटघाटमा चर्चा भएको स्रोतले बताएको छ।

बिहीबारको भेट विशेष गरी राष्ट्रपति निर्वाचन केन्द्रित थियो। एमालेले पूर्वसहमतिअनुसार राष्ट्रपति आफूले पाउने अडान राख्दै आएको छ भने माओवादीले राष्ट्रिय सहमतिको व्यक्तिलाई राष्ट्रपति बनाउनुुपर्ने तर्क अघि सार्दै आइरहेको छ।

दुवै शीर्ष नेता आआफ्नै अडानबाट टसमस नभएको निकटस्थहरू बताउँछन्। प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको रटानमा छन् भने अध्यक्ष ओली राष्ट्रपति पूर्वसहमतिअनुसार एमालेले पाउनुपर्ने अडानमा छन्। दुवै जना अडानबाट टसमस नहुँदा छलफलमा निष्कर्ष निस्कन नसकेको हो।

समय भने घर्किँदै गएको छ। निर्वाचन आयोगका अनुसार यही फागुन १० गते राष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन हुनेछ। ११ गते दाबी, विरोध र उजुरी लिने, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने, १२ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

१३ गते राष्ट्रपति पदका लागि मनोनयन पत्र दर्ता हुनेछ। १३ गते नै उम्मेदवारको सूची प्रकाशन हुनेछ। १४ गते उम्मेदवारविरुद्ध उजुरी लिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गर्ने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन हुनेछ। १६ गते उम्मेदवारलाई नाम फिर्ता लिन चाहे समय दिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ। त्यसपछिको ९ दिन उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्।

१० गतेसम्म सत्ता गठबन्धनले राष्ट्रपतिको उम्मेदवार तय गरिसक्नुपर्छ। जतिबेला राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन भएको हुन्छ। ढिलोमा पनि १२ गतेसम्म उम्मेदवारको टुंगो नलगाए १३ गतेसम्म सत्तागठबन्धन के हुने भन्ने प्रश्न खडा हुन सक्छ। यसकारण पनि सत्ता गठबन्धनमा रहेका नेताहरूको संवाद बाक्लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 10 =