भोजभतेरमा बिक्री हुन्छ म्याद नाघेको बियर, दुई दिनमा २७ सय कार्टुन नियन्त्रणमा

हिमाल प्रेस ३ फागुन २०७९ २१:०१
10
SHARES
भोजभतेरमा बिक्री हुन्छ म्याद नाघेको बियर, दुई दिनमा २७ सय कार्टुन नियन्त्रणमा

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेका करिब २७ सय कार्टुन बियर नियन्त्रणमा लिएको छ। विभागले मंगलबार र बुधबार दुई दिनमा विभिन्न ब्राण्डको म्याद नाघेको करिब २७ सय कार्टुन बियर नियन्त्रणमा लिएको हो। अनुगमनका क्रममा म्याद नाघेको बियर पाइएपछि मंगलबार २१ सय कार्टुन र बुधबार ६ सय कार्टुनभन्दा बढी बियर नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ।

याक ब्रुअरीले उत्पादन गर्दै आएको बाह्रसिंगे ब्राण्डको २१ सय कार्टुन बियर मंगलबार नियन्त्रणमा लिइएको हो। काठमाडौँस्थित धुम्बाराहीमा रहेको कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङको गोदामबाट उक्त नियन्त्रणमा लिइएको हो। ३ वटा गोदाममा म्याद नाघेको बियर फेला परेपछि गोदाममा सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडि बढाइएको विभागले बताएको छ। मंगलबार फेला परेको बाह्रसिंगे ब्राण्डको उक्त बियरको बजार मूल्य करिब ६० लाख रुपैयाँ रहेको विभागको भनाइ छ।

विभागको अनुगमन टोलीले ३५५ कार्टुन म्याद नाघेका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बड्वाइजर र गोर्खा ब्राण्डका बियर नियन्त्रणमा लिएको विभागका निरिक्षण अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए। काठमाडौँको गैह्रीगाउँस्थित संस्कार ट्रेडर्सको गोदामबाट नियन्त्रणमा लिइएको उक्त बियरको बजार मूल्य करिब १४ लाख रुपैयाँ रहेको छ । सो गोदामहरूमा पनि सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडि बढाइएको विभागको भनाइ छ।

विभागले सिनामंगलस्थित सिके ट्रेडिङ प्रालीको गोदामबाट थप ३०२ कार्टुन बियर बुधबार नै नियन्त्रणमा लिएको छ। ८ लाख ७५ हजार रुपैयाँ बजार मूल्य रहेको विभिन्न ब्राण्डको बियर निन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ। म्याद नाघेको बियर भोजभतेर तथा कतिपय रात्रीकालीन रेष्टुरेन्ट व्यवसायमा बिक्री गरिने सूचनाका आधारमा अनुगमन गरिएको अधिकृत भुसालको भनाइ छ।

प्रकाशित: ३ फागुन २०७९ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =