राष्ट्रपति उम्मेदवार सिफारिस दिल्लीबाट!

हिमाल प्रेस ३ फागुन २०७९ १५:५५
922
SHARES
राष्ट्रपति उम्मेदवार सिफारिस दिल्लीबाट! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दै भारतका परराष्ट्र सचिव विनयमोहन क्वात्रा। तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- भारतीय परराष्ट्र सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण दुईपक्षीय विविध समस्या समाधानका विषयमा भन्दा नेपालको आन्तरिक राजनीतिक मुद्दामा केन्द्रित भएको पाइएको छ। दुई देशबीच परराष्ट्र सचिवस्तरको वार्तामा कमै समय दिएका सचिव क्वात्राले राजनीतिक दलका नेताहरूसँगको भेटलाई प्राथमिकता दिएका हुन्।  नेपालमा राजनीतिक अवस्था तरल हुँदा दूतका रूपमा होस् या दुईपक्षीय कार्यक्रमको बहानामा भारतीय उच्च अधिकारी नेपाल आउने परम्परा छ।

क्वात्राको भ्रमण पनि त्यसकै निरन्तरता रहेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। सचिवस्तरको वार्तामा क्वात्रा मुख्य मुद्दामा प्रवेश नगरेकाले यो पुष्टि हुन्छ।  विरलै हंसमुख देखिने परराष्ट्र सचिव भरतराज पौड्याल क्वात्रासँगको वार्तापछि दंग देखिएका थिए। सचिवस्तरीय वार्तापछि उनी भित्री रूपमा असन्तुष्ट रहेको बताइएको छ।

आफू माध्यम मात्रै हो भन्ने पौड्यालले राम्ररी बुझेका छन्। उनले यसअघि भारतमा जाँदा यहाँ क्वात्राले पाएको जस्तो सम्मान पाएका थिएनन्। सचिव क्वात्राले समकक्षीसँग सामान्य दुईपक्षीय विषयमा छलफल मात्रै गरेका थिए।

राजदूतका रूपमा काठमाडौँमा जिम्मेवारी निर्वाह गरिसकेका क्वात्रा नेपालको मुद्दाबारे स्पष्ट जानकार छन्। सार्कमा समेत रहेर काम गरिसकेका उनी नेपाल बुझेका कूटनीतिज्ञ मानिन्छन्। यसपटकको भ्रमणमा उनी राजनीतिक भेटघाटमा बढी व्यस्त भए।

नेपालीको चासोबारे जानकार रहे पनि यसपल्ट सचिव क्वात्रा कुनै महत्त्वपूर्ण विषयमा प्रवेश गरेनन्। यसमा नेपालको परराष्ट्र मन्त्रालयको पनि कमजोरी देखियो। किनकि परराष्ट्रका अधिकारीहरूले सचिवस्तरको वार्तामा लिखित एजेन्डा पेस गर्न आँट गरेनन्। उनीहरूले भैरहवा विमानस्थलमा हवाई रुट दिनुपर्ने कुरा उठाए पनि त्यो आवाज निकै मलीन थियो। त्यसैले भारतीय पक्षले जवाफ दिन आवश्यक ठानेन। नेपालमा सिमराबाट मात्र हवाई रुट प्रवेश हुँदै आएको छ।

हवाईजहाज प्रवेशका लागि भैरहवा रुट पाउनुपर्ने विषयमा विमानस्थल बन्नुअघिदेखि नै भारतीय अधिकारीहरूसँग छलफल भइरहेको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ सहयोगमा निर्माण भएको हो। भैरहवाबाट हवाई प्रवेशमार्ग प्राप्तिका लागि नेपालले सचिवस्तरीय मात्र होइन, माथिल्लो तहमा पनि कुरा उठाउँदै आएको छ। भारतले यो विषय सुन्न नचाहेकाले सार्थकता पाउन सकेको छैन।

सचिवस्तरको भेटमा नेपाली पक्षले कुरा राखेको दाबी गरिए पनि भारतीय दूतावासले यसलाई अस्वीकार गरेको छ। नेपालको विद्यमान चासोको अर्को विषय हो, सीमा समस्या। सचिवस्तरीय छलफलमा ‘स्ट्रिप म्याप’ अन्तर्गत तयार सीमाका विषयमा छलफल भएको बताइएको छ। सीमाका केही स्थानबाहेक सबै काम सकिए पनि भारतीय पक्ष नेपाली भूभागमा नरहेका कारण सहजै टुंगोमा पुग्ने देखिन्न। यस्तै विवादित भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताका विषयमा के कुरा भयो सार्वजनिक गरिएको छैन।

नेपाली पक्षको विज्ञप्तिमा स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमा समस्या समाधान गर्नुपर्ने विषयमा छलफल भएको उल्लेख छ। तर भारतीय पक्षबाट जारी विज्ञप्तिमा भने सीमाको प्रसंग उठाइएको छैन।

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटवार्ता गर्दै भारतका परराष्ट्र सचिव विनयमोहन क्वात्रा। तस्बिर : रासस

सचिवस्तरीय वार्तामा भारतसमेत हेर्ने दक्षिण एसिया माहाशाखा प्रमुख रामप्रसाद सुवेदीसहित सात जना थिए। भारतीय पक्षबाट राजदूत नवीन श्रीवास्तवसहित सातै जना थिए। नेपाल र भारतबीच केही स्थानमा बाहेक सीमा समस्या छैन। जहाँ समस्या छ त्यसबारे नेपाली पक्षले आवाज उठाउन सकेको छैन। सचिवस्तरीय छलफलमा पनि त्यस्तै भयो।

यसअघि भदौ अन्तिममा नयाँदिल्लीमा भएको छलफलको प्रगतिबारे बहस हुँदा कुनै पनि विषय टुंगोमा पुगेको थिएन। त्यहाँ पनि सीमासम्बन्धी छलफल भएको भनिएको थियो।

भारतले नेपाली भूभागसमेत समेटेर नक्सा जारी गरेको विषयमा नेपालको संयन्त्रले पटकपटक कूटनीतिक पत्र पठाउँदा पनि भारतले सम्बोधन नगरेपछि २०७७ जेठ ७ मा नेपालले चुच्चे नक्सा सार्वजनिक गरेको थियो। त्यसपछि भारत केही हच्किए पनि समस्याको दिगो समाधान हुन सकेको छैन। किनकि भारत यो विषयलाई तत्काल टुंगोमा पुर्‍याउन इच्छुक देखिँदैन।

नेताहरूको भेटमा भारतीय परराष्ट्र सचिव क्वात्राले नेपालमा अब राष्ट्रपति को बन्छ? एमाले र कांग्रेस किन मिल्न नसकेका रहेछन्? भन्ने जस्ता आन्तरिक राजनीतिक विषयमा चासो राखेका थिए। राष्ट्रपतिको शक्ति कति हुन्छ भन्ने विषय भारतीय पक्षले राम्ररी बुझेको छ।

क्वात्राले राष्ट्रपति बन्ने व्यक्तिको नाम नतोकी आफ्नो चासो प्रधानमन्त्री, सत्ता गठबन्धन र विपक्षी नेताहरूसँग व्यक्त गरेको बताइएको छ। एक अधिकारी भन्छन्, ‘क्वात्राले राष्ट्रपतिमा भारतीय चाहना र विकल्पबारे नेताहरूलाई राम्रैसँग पढाएर गएका छन्। उनको भ्रमणको उद्देश्य पनि यही देखियो।’

सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा पनि राजनीतिक विषयमै छलफल गरेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भारत भ्रमणको निमन्त्रणा दिएका छन्।

कांग्रेस सभापति, शेरबहादर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग पनि उनले भेट गरेका थिए। यस्तै परराष्ट्रमन्त्री विमला राई पौड्यालले पनि उनले भेट गरेका थिए। उक्त भेटमा मन्त्री पौड्यालले पोखरा र लुम्बिनी विमानस्थलमा हवाई रुट दिने विषयमा कुराकानी गरेकी थिइन्।

भारतबाट परराष्ट्र सचिव क्वात्राले नेपालको राजनीतिक अवस्था, चीन, अमेरिका र भारतीय चासोबारे दलका नेतालाई स्पष्ट पारे।  नेपाली पक्षले भने भारतसँग आफ्नो सरोकारका विषयमा खासै कुरा राख्न सकेन। सार्कदेखि सीमा सल्टाउने विषयमा कूटनीतिक दबाब दिन नेपाली अधिकारीहरू चुकेका छन्।

सचिव क्वात्राको अर्को उद्देश्य वर्तमान सरकारले भारतको विरोध नगरोस् र शान्त भएर भारतसँग सहकार्य बढाओस् भन्ने पनि थियो। नेपालको राजनीतिक अवस्थाका कारण पनि उनले यस्तो गरेका हुन्।

नेपालका नेताहरूमा भारतीय पक्षलाई खुसी पारेर आफू अघि बढ्छु भन्ने सोचाइ छ। नेपालमा राजनीतिक खिचातानी बढेका बेला भारतले विगतमा पनि खेल्दै आएको हो। त्यसैले नेपालका दलहरू संविधान जारी हुँदा जसरी मिलेका थिए, कूटनीतिक मामिलामा पनि त्यसरी नै मिलेर अघि बढ्न आवश्यक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =