लिग–२ : लगातार दोस्रो खेल हार्‍यो नामिबिया, स्कटल्यान्ड १० विकेटले विजयी

हिमाल प्रेस ३ फागुन २०७९ १४:१३
12
SHARES
लिग–२ : लगातार दोस्रो खेल हार्‍यो नामिबिया, स्कटल्यान्ड १० विकेटले विजयी

काठमाडौँ- बलिङ र ब्याटिङ दुवै पक्षमा दबदबा कायम गरेपछि स्कटल्यान्डले बुधबार नामिबियामाथि १० विकेटको जित दर्ता गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलाको दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा १५३ रनको योगफल तयार पारेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा स्कटल्यान्डले एकै विकेट नगुमाई २२.१ ओभरमै लक्ष्य पूरा गरेको थियो।

लिग–२ को शीर्ष स्थानमा रहेको स्कटल्यान्डका लागि यो २३ औँ जित हो। लिग–२ मा स्कटल्यान्डले नामिबियालाई चौथो पटक हराएको हो। यो जितसँगै स्कटल्यान्डको ४८ अंक भएको छ। लिग–२ मा ३३ खेल खेलिसकेको स्कटल्यान्डले अब तीन खेल खेल्न बाँकी छ।

स्कटल्यान्डको जितमा जर्ज मुन्सेले शतक बनाए। ६१ बल सामना गरेका ओपनर मुन्सेले १०३ रन जोड्न सफल भए। एकदिवसीय क्रिकेटमा पहिलो शतक बनाउन उनले सात छक्का र १२ चौका प्रहार गरे। उनका साझेदार कायल कोइटजरले ७२ बलमा ४६ बटुले।

मंगलबार नेपालविरुद्ध २८५ रन बनाएका नामिबियाका ब्याट्सम्यान स्कटल्यान्डसामु निरीह साबित देखिए। नेपालसँगको हारमा शतक प्रहार गरेका माइकल भान लिन्गेन चार रन र अर्धशतक बनाएका कप्तान जेरहार्ड इरास्मस शून्यमा आउट भए।

अफ्रिकी टिमका लागि ओपनर लो हान्द्रे लौउरेन्सले सर्वाधिक ५४ रन बनाउँदा बेनार्ड सोल्ज र जेन ग्रिनले क्रमशः ३० र २५ रन जोडे।

नामिबियालाई सस्तैमा रोक्न स्कटल्यान्डका माइकल लिस्कले २४ रन खर्चिएर चार विकेट हात पारे। त्यसैगरी सफायन शरिफ र मार्क वाटले तीन–तीन विकेट हात पारे।

प्रकाशित: ३ फागुन २०७९ १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =