भारतीय परराष्ट्र सचिव क्वात्रा काठमाडौँमा

हिमाल प्रेस १ फागुन २०७९ ११:२२
4
SHARES
भारतीय परराष्ट्र सचिव क्वात्रा काठमाडौँमा

काठमाडौँ- भारतको परराष्ट्र मन्त्रालयका सचिव विनयमोहन क्वात्रा काठमाडौँ आएका छन्। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपालको दुईदिने भ्रमणका लागि सोमबार काठमाडौँ आएका हुन्।

भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राबीच नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने कार्यक्रम छ। दुई देशका सचिवबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्र सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण हुन लागेको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ।  नेपालको राजनीतिक तरलता बढ्दै गएको बेला उनको भ्रमण हुन लागेको हो।

नेपालका राजनीतिक दलहरू राष्ट्रपतिको निर्वाचनका प्रक्रियामा छलफल गरिरहेको समयमा संयन्त्र बैठक गर्ने भन्दै नेपाल आउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ। क्वात्रा नेपाल बुझेका भारतीय कूटनीतिज्ञ मानिन्छन्। दुई दशकअघि उनी नेपालमा मुख्यालय रहेको दक्षिण एसियाली क्षेत्रीय संगठन सार्कको निर्देशक थिए। पछि फ्रान्समा राजदूत भएका उनी त्यसपछि नेपालका लागि भारतीय राजदूत भएका थिए।

क्वात्रा नेपालमा शेरबहादुर देउवानिकट कूटनीतिज्ञका रूपमा चिनिन्छन्। क्वात्रा र कांग्रेस सभापति शेरबहादुर देउवाबीच निकट सम्बन्ध छ। यस्तो अवस्थामा नेपाल आएर उनले देउवाको हितका लागि सहयोग गर्ने कतिपयको आकलन छ। देउवालाई प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति बनाउन चाहेका छन्।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण हुन लागेको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले राजनीतिक दलका नेतासँग पनि भेटवार्ता गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =