पुस्तकमा जातीय व्यवस्था पुनः संरचनाको खाका

हिमाल प्रेस २८ माघ २०७९ ९:२७
18
SHARES
पुस्तकमा जातीय व्यवस्था पुनः संरचनाको खाका

मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युग रहेको देखिन्छ। मानव जीवन फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित भयो। खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता आइलाग्यो। त्यसपछि परिवारको विकास भयो। परिवारको विकासपछि समाज र समाजको विकासले राष्ट्रको निर्माणलाई सहयोग गर्‍यो।

भारतीय सभ्यताअनुसार चार युगमध्ये हामी कलियुगमा बाँचिरहेका छौँ। जसमा विभिन्न समस्या, विचलन र अव्यवस्थाको उत्कर्ष देखिँदैछ।

समाजलाई अधोगतिमा धकेल्ने, सामाजिक अन्तर्घुलन र सद्भावलाई विखण्डन गर्ने, अहम् तथा भेदभाव अनि बर्बरको आधार निर्माण गर्ने थुप्रै कारणमध्ये जातीय प्रथा पनि एक हो। लगभग एक लाखजति मात्रको सानो जनसंख्या र अरू धर्म नभएको समयमा भारतमा यसको उद्भव भएको देखिन्छ।

यसखाले अभ्यास संसारका लगभग सबैजसो देशबाट उन्मूलन भइसके पनि हामीकहाँ भने अझै यथावत् छ। यसले नै समाजमा द्वन्द्वको सुरुवात पनि भएको छ।

यस्ता विकृति निराकरणका लागि ‘द कल्किस्ट मेनिफेस्टो : अ रोडम्याप टू इन्ड कलियुग’ पुस्तक आमपाठकका लागि एक रोमाञ्चक र गहन अध्ययन सामग्री हुन सक्छ।
संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने युवा लेखक, अध्येता, शोधार्थी, अन्वेषक जय साह लिखित पुस्तकले सामाजिक विकृति उठान गरी विश्लेषणको आधार बनाएको छ।

लेखक साहका अनुसार धार्मिक विवादलगायत महिलाविरुद्ध हिंसा, पैसासँग सम्बन्धित अपराधजन्य गतिविधि र जातीय विभेदले भारतीय उपमहाद्वीपका समाजलाई धेरै गिजोलेको छ। यस्तो समस्या निम्तिनुमा राजनीतिकदेखि सामाजिक पक्षको पनि उत्तिकै भूमिका छ। यसले समाजलाई झन् बहुपक्षीय संघर्षतिर लैजाने खतरा व्याप्त हुँदै गएको सत्यलाई अस्वीकार गर्न मिल्दैन।

तसर्थ जातीय प्रथाको समूल निराकरण गर्न सुधारका जबर्जस्त कदम उठाउनुपर्छ भन्ने निष्कर्षमा लेखक पुगेका छन्।

त्रेतायुगमा रावणलाई ब्राह्मण भए पनि मांसाहारी भएको र मद्यपान गरेका कारण राक्षस वर्गमा चित्रण गरियो। अहिले कलियुगमा ९५ प्रतिशत ब्राह्मण परिवारमा मासु र मदिराको नियमित उपभोग हुन्छ। अनि तथाकथित रूपमा तल्लो जात भनी देखाइएका अधिकांश समूहका मानिस भने शाकाहारीमात्र नभई मद्यपान पनि गर्दैनन्। तर उनीहरूलाई तल्लो जातका रूपमा चित्रण गरिन्छ।

पछिल्लो सामाजिक परिवेशलाई इंगित गर्दै लेखक भन्छन्, ‘अहिले ९० प्रतिशत ब्राह्मण परिवारले मासु खान्छन् र मदिरासमेत सेवन गर्छन्। ९० प्रतिशत क्षत्रिय योद्धाको जागिर वा व्यवसायबाहेक अरू काम गर्छन्। ५० प्रतिशत वैश्यले जागिर वा खेतीपाती वा अन्य काम गर्छन्। ६० प्रतिशत वा सोभन्दा माथिका शुद्र र दलितले आफ्नो जीवनशैलीलाई मध्यमवर्गीय समुदायको रूपमा परिवर्तन गरेका छन्। समुन्नत जीवनशैलीको विकास गरेका छन्। तर अझै पनि उनीहरूलाई शुद्र र दलितका रूपमा चित्रण गरिएको छ।’

प्राचीन जातीय प्रथा पेसाका आधारमा निर्माण भएको थियो। आज जीवनयापनमा निर्णायक पक्ष परिवर्तन भए पनि जातीय प्रथा र परिचय उही छ। जातीय व्यवस्था समाजबाट हटोस् भन्ने अभिरुचि लेखकको छ। यसको प्रभाव र असर निमिट्यान्न होस्। तर यसको विरोध गरेरमात्र यो सम्भव छैन। जातीय प्रथालाई पूर्णतः हटाउन सकिन्न। तर पुरानो प्रथालाई विस्थापन गरेर समय सान्दर्भिक नयाँ प्रथा ल्याउन सकिन्छ।

जातीय पक्ष केही हदसम्म पहिचानसमेत भएकाले यसमा क्रान्तिकारी तथा आमूल सुधार गरेर प्रभाव घटाउन सकिन्छ। तत्काल जातको अभ्यास पूरै हटाउन सम्भव छैन। किनकि सबैको नामसँग उपनाम जोडिएको छ।

लेखक सुझाउँछन्, ‘सबै परिवार र आफन्तले चाहे वा अनुमोदन गरेमा मानिसलाई स्वेच्छाले आहारविहार, खानपिन, पेसा र वर्तमानमा अपनाएको जीवनशैलीको आधारमा जात परिवर्तन गर्न भने दिनुपर्छ। जातीय व्यवस्था विगतमा दिइएको परम्परागत तथा पारिवारिक पहिचानमा आधारित नभई वर्तमानमा बाँचिरहेको जीवनशैलीमा आधारित हुनुपर्छ। मानवको जीवन आफूमा स्वतन्त्र भएकाले जातका आधारमा उसको स्तर अथवा अवस्था मूल्यांकन गरिनु हुँदैन।’

पछिल्लो तीनदेखि चार हजारभन्दा बढी वर्ष हाम्रो समाजमा जाति, लिंग, धन, धर्म, जातीयता र भाषामा कुनै सामाजिक सुधार तथा तात्त्विक हिसाबको सकारात्मक परिवर्तन नभएकाले अब यस्तो एउटा नयाँ अभियानको सुरुवात गर्नुपर्छ।

लेखकको बुझाइमा जातीय अभ्यासका कारण विवाहमा सबैभन्दा बढी असर परेको हुन्छ। हरेकले परिवारले जीवनस्तर हेर्छन्, जीवनशैलीमा समानता खोज्छन्। शाकाहारी अभिभावकले आफ्नो छोराछोरीले मांसाहारी परिवारमा विवाह गरेको मन पराउँदैनन्।

मांसाहारी नै भए पनि कोहीकसैले आफ्नो समुदायको भावना र संस्कारअनुसार गाई, सुँगुर अथवा अन्य पशुको मांससेवन मन पराउँदैनन्। यसको निराकरण गर्न लेखकले जातीय व्यवस्थाको विशुद्ध नयाँ खालको पुनः संरचनाको खाका दिन खोजेका छन्।

समाजमा एकरूपता र नयाँ प्रचलनअनुसारको व्यवस्था कायम गर्न लेखकले हरेक व्यक्तिको पहिचान र सफ्टवेयर युक्त ट्रयाकिङ प्रणालीबाट अनुगमन र सर्वेक्षण गरिने नयाँ प्रविधिको नमुना प्रस्तुत गरेका छन्। तसर्थ कसैले कसैलाई झुक्याउन र आफ्नो पहिचान लुकाउनुपर्दैन। मानिसलाई जात बोझका रूपमा नभई छनोटका रूपमा प्राप्त हुन्छ।

हरेकले स्वेच्छाले आफ्नो जात स्वयंले निर्धारण गर्न सक्छन्। तसर्थ जातको आधारमा भेदभाव बाँकी रहँदैन। लेखक भन्छन्, ‘पछिल्लो तीनदेखि चार हजारभन्दा बढी वर्ष हाम्रो समाजमा जाति, लिंग, धन, धर्म, जातीयता र भाषामा कुनै सामाजिक सुधार तथा तात्त्विक हिसाबको सकारात्मक परिवर्तन नभएकाले अब यस्तो एउटा नयाँ अभियानको सुरुवात गर्नुपर्छ। जातीय विभेदभन्दा अघि समाजमा रामराज्य थियो। सबै समान शक्तिशाली र सम्मानित थिए। पैसाको उद्भवले विभेद र कलियुगको सुरुवात भयो।’

पैसाविहीन समाजको कल्पना गरेका कारण सामाजिक भेदभाव पनि अन्त्य हुने दाबी उनको छ। जसरी कार्ल माक्र्सले ‘कम्युनिस्ट मेनिफेस्टो’ लेखेर वर्गविभेदको उपायको शंखघोष गरेका थिए। त्यसैगरी लेखक साहले ‘कल्किस्ट मेनिफेस्टो’ बाट जातीय अभ्यासका बेथितिविरुद्ध यसको समूल नष्ट गर्ने मार्गचित्र प्रस्तुत गरेका छन्।

लेखक भन्छन्, ‘कल्किवादको उदयले पैसाविहीन समाज निर्माण गर्ने, म्लेच्छलाई हटाउने र कलियुग अन्त्य गर्ने कुरामा ठोस पहल गर्नेछ। रामलाई रामसेना र कृष्णलाई नारायणीसेना आवश्यक भएजस्तै कल्किलाई पनि कलियुग अन्त्य गर्न कल्किसेनाको आवश्यकता पर्छ भन्ने उनको तर्क छ।

भारतले चार हजार वर्षपहिले जातप्रथाको प्रचलन ल्याएर समाजलाई द्वन्द्वमा धकेल्यो। के नेपालले यस्तो प्रथा हटाएर नयाँ समय सान्दर्भिक व्यवस्था ल्याएर विश्वगुरु बन्न सक्छ त?यसको विस्तृत र सम्पूर्ण प्रस्तावित प्रणालीबारे बुझ्न पुस्तक अध्ययन गर्नुपर्ने हुन्छ। नेपाली पाठकले पुस्तक प्राप्त गर्न केही समय प्रतीक्षा गर्नैपर्नेछ।

प्रकाशित: २८ माघ २०७९ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =