राष्ट्रपतिको कारगेडका लागि घण्टौँ जाम किन?

विद्यार्थी पिसाब फेर्नसमेत नपाई गाडीमै बस्‍न बाध्य, चिकित्सकमाथि लाठी प्रहार

हिमाल प्रेस २७ माघ २०७९ २१:५५
120
SHARES
राष्ट्रपतिको कारगेडका लागि घण्टौँ जाम किन? फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसद् भवनमा जाँदा र फर्कँदा अन्य सवारीमा रोक लगाएपछि कलिला विद्यार्थी मारमा परेका छन्। राष्ट्रपतिको सवारीका कारण सहरका व्यस्त सडकमा गाडी रोकिएका थिए। यसै क्रममा थापाथली चोकमा विद्यार्थी बोकेको गाडी अड्किएको थियो।

नियमित साढे तीन बजे बानेश्वरस्थित पुग्ने विद्यार्थी पाँच बज्दा पनि पुग्न सकेनन्।  समयमै नानीहरू घर नआउँदा छटपटी भएको एक अभिभावक बताउँछन्। विद्यालयमा फोन गर्दा विद्यार्थी बोकेको गाडी एक घण्टाअघि नै निस्केको खबर आयो।

गाडी चालक र सहयोगीलाई फोन गरेपछि गाडी राष्ट्रपतिको सवारीका कारण अड्केको जानकारी अभिभावकले पाए। यसबाट अभिभावकहरू अलिक ढुक्क भए भए। तर घण्टौँसम्म विद्यार्थी जाममा अड्किँदा उनीहरूमा अर्कै पीडा देखियो। विद्यार्थी घर पुगेपछि हतारहतार बाथरुम पुगेर हल्का हुनु पर्ने अवस्था सिर्जना भयो।

एक विद्यार्थीकी आमाले वास्तविकता सुनाउँदै भनिन्, ‘सडकमा खै कुन भीभीआईपीको सवारी थियो रे, दुई घण्टा गाडीमा बस्दा बच्चाले पिसाबसमेत फेर्न पाएनन्। यो सास्ती कसले बुझ्ने?’

मुलुकको राष्ट्रपतिको जति सुरक्षा आवश्यक हुन्छ साना बालबालिकाको सुरक्षा र सहजताको आवश्यकता पनि उत्तिकै हुन्छ।

यो एउटा प्रतिनिधि घटनामा मात्र हो। सडकमा बच्च बोकेको गाडी लामो समयदेखि अड्किएको हुन्छ। दुई अढाइ घण्टा यस्ता बच्चा सडकमा अड्किँदा घरमा अभिभावकलाई के होला? त्यो बच्चालाई वाथरुम जान पर्ने अवस्था आउँदा के होला? यस्ता विषयमा कुनै निकायको ध्यान जानु पर्दैन? भीभीआईपी सुरक्षा भन्ने रटान लगाइरहने मात्र हो? त्यसमा सुधार गर्न आवश्यक छ कि छैन?

जनताको माझमा जानै डर हुने हो भने के राष्ट्रपति भएर अरकच्च बस्नु भन्ने सम्मको प्रतिक्रिया आम सर्वसाधारणको छ।

सर्वसाधारणलाई सास्ती हुने गरी राष्ट्रपतिले किन सम्बोधन गर्नुपर्ने? सधैं यसरी सास्ती हुने भएपछि नेपाली सेना, नेपाल प्रहरी र सुरक्षा निकायसहित सम्बद्ध सबै पक्ष छलफलमा बसेर यसलाई कसरी काम गराउने भन्ने सोच्नु पर्दैन? राष्ट्रपतिको सवारी कि सार्वजनिक बिदा दिएर गर्न पर्‍यो कि यस्ता कार्यक्रम बिदाको दिन पार्नुपर्‍यो।

आफ्नो पाँचवर्षे कार्यकाल सकेर घर जाने तयारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भाषणमा गर्ने आदर्शका कुरा आफ्नै दैनिक व्यवहारमा कार्यान्वयन नभएको छर्लंग देखिन्छ। उनले आदर्शलाई व्यवहारमा पनि लागू गरे हुन्छ।

अत्यावश्यक सवारीको सूचीमा रहेको एम्बुलेन्स पनि राष्ट्रपतिको सवारीमा अड्किरहेको हुन्छ। के राष्ट्रपतिको कारगेडका लागि जनताले अकालमै मृत्युवरणको मूल्य चुकाउनु पर्ने हो?

यस्तै विद्यार्थीहरू विद्यालयबाट घर फर्कंने समयको समेत ख्याल नगरी राखिने राष्ट्रपतिको सवारीमा अड्किएका बच्चाहरूको मनोविज्ञानमा कस्तो खालको असर पारेको हुन्छ? यसबारे राष्ट्रपति कार्यालय वा सुरक्षा निकायका उच्च पदाधिकारिहरूले मनन् गर्नुपर्छ कि पर्दैन ?

आफ्नो सवारी हुँदा त्यसले सडकमा सवारी साधन र तिनमा रहेका सर्वसाधारण यात्रुहरूको व्यवहारमा पर्ने असरमाथि राष्ट्रप्रमुखले नियाल्ने र सुधार गर्न लगाए हुँदैन? उच्चनेतृत्व तहले चाहँदा सुधार गर्न सकिने यस्ता सामान्य विषय पनि मिडियाले लेखेर राष्ट्रप्रमुखको आँखा खोलिरहनु पर्छ र?

अमेरिका र युरोपका विकसित देशहरूमा पनि राष्ट्रप्रमुखको यस्तो कार्गेट चलेको हुन्छ तर त्यहाँ एकतर्फी (सडकको एउटा लेनमा) लिएर हिँड्छन्। त्यो पनि निकै औपचारिक कार्यक्रममा मात्र।

साधारण ‌औपचारिक कार्यक्रममा सिधा आफ्नै तरिकाले सर्वसाधारण नागरिकझैं दौढिरेका हुन्छन्। कतिपय मुलुकमा कार्यकारी प्रमुख नै साइकलमा हिँडिरहेका हुन्छन्। त्यो कुनै स्टन्ट, प्रचारबाजी वा मिडिया कभरेजका लागि मात्र गरिएको हुँदैन।

तर हाम्रोमा राष्ट्रपति कतै जाने भन्नेबित्तिकै दशौं गाडी र दर्जनौं मोटरसाइकलको लर्को अघि-पछि लगाउनै पर्ने?

राष्ट्रपति भण्डारी आफ्नो सरकारी निवास शीतल निवास पानीपोखरीबाट संघीय संसद भवन नयाँ वानेश्वरसम्म यात्रा गर्दा जनताले सास्ती भोगिरहँदा पनि कुनै सुधार गर्न नसक्ने सरकारले अन्य के सुधार गर्छ भनेर पत्याउने?

यदि कानुनले नै दिँदैन भने त्यसमा आवश्यक संशोधन या परिमार्जन गरेर भए पनि यसमा सुधारको आवश्यक छ। किनकि लोकतन्त्र, गणतन्त्रको मुख्य मक्सद जनताको हित र जनताका लागि सहजता होइन र?

मुलुकको राष्ट्रपतिको जति सुरक्षा आवश्यक हुन्छ साना बालबालिकाको सुरक्षा र सहजताको आवश्यकता पनि उत्तिकै हुन्छ।

‘राष्ट्रपतिज्यूको सवारीको सबै जिम्मा नेपाल प्रहरीले मात्र लिएको र प्रहरीले रोकेको झैं लाग्छ तर यो सुरक्षा सिद्धान्तले गर्नैपर्ने ड्युटी हो,’ प्रहरी प्रवक्ता पोषराज पोखरेलले भने,‘सुरक्षा सिद्धान्तमा अडेर हामीले आफ्नो ड्युटी गरेका हुन्छौँ। त्यसबाट दायाँबायाँ गर्ने अघिकार प्रहरी संगठनलाई हुँदैन।’

आम नागरिकलाई सास्ती नहोस् भनेर प्रहरीले वन वे खुला राखेको प्रवक्ता पोखरेलले दाबी गरे। राष्ट्रपतिको सवारी हुने रुटबारे ट्राफिक एफएमबाट सार्वजनिक सूचाना नै दिएर सर्वसाधारणलाई सूचना दिएको पनि उनले बताए।

‘नेपाल सरकारले नै प्रतिपादन गरेको कुरा हो। ऐन कानुनमै भीभीआईपी सुरक्षा सिद्धान्तअनुसार त दुईतर्फी नै बन्द गर्नुपर्छ हामीले यसमा थोरै खुकुलो गरेर एकतर्फी सडक सञ्चालन गरेकै छौँ। अन्य के गर्ने भन्ने सुरक्षा समन्वय समितिले तय गरेको हुन्छ,’ उनले हिमाल प्रेससँग भने।

राष्ट्रपतिको सवारी हुँदा सडकमा सर्वसाधारणलाई हैरानी भएकोबारे धेरै प्रतिक्रियाहरू आइरहेको हुने र त्यही बेलामा नै परिवर्तनको प्रस्तावसहित कसैले आवाज उठाएमा केही परिमार्जनको पहल हुनसक्ने एक अधिकारीले आसा जगाए।

नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारी राष्ट्रपतिको सवारी हुँदा आम जनतालाई हैरानी भएकोबारे गुनासा आइरहेको स्वीकार्छन्।

अमेरिका र युरोपका विकसित देशहरूमा पनि राष्ट्रप्रमुखको यस्तो कार्गेट चलेको हुन्छ तर त्यहाँ एकतर्फी (सडकको एउटा लेनमा) लिएर हिँड्छन्।

तर राष्ट्रप्रमुखको सुरक्षाको लागि ऐन, कानुनमा तय भएका बुँदाहरू परिमार्जनका लागि राजनीतिक उच्चस्तरबाट प्रस्ताव आएमा यसबारे परिवर्तनमा थप सहजीकरण हुने उनले बताए।

‘सुरक्षा निकायका उच्च अधिकारीहरू मिलेर यसलाई कसरी चुस्त र जनतालाई हैरानी नहुने गरी सवारी व्यवस्थापन गर्ने भन्ने नियम बनाउन सकिन्छ। तर, यसको लागि भीभीआईपी सुरक्षाअन्तर्गतका सबै व्यक्तिहरू बसेर छलफल गर्न आवश्यक छ,’ सहायक रथि भण्डारीले भने,’राष्ट्रपतिज्यूलाई सुरक्षा दिनुपर्ने हुनाले कतिपय विषयमा यसै बोल्नुभन्दा म बुझेर जानकारी दिन्छु र आम नागरिकलाई परेको समस्याबारे पनि सम्बन्धित निकायसमक्ष कुरा राख्नेछु।’

राष्ट्रपतिको सवारीकै समयमा शुक्रबार वीर अस्पतालअगाडि डा. जनित सिंहले बाटो काट्नै लाग्दा प्रहरीले लछार-पछार पर्दै उनलाई लाट्ठी हिर्काउने काम पनि भएको छ। प्रहरीले गरेको यस्तो गैरजिम्मेवार, अमर्यादित र अमानवीय कार्यप्रति प्रधानमन्त्री र प्रहरी संगठन प्रमुखले गाम्भीर्यताका साथ चासो दिनु पर्छ कि पर्दैन?

प्रकाशित: २७ माघ २०७९ २१:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =