कानुन निर्माणमा प्रधानमन्त्रीको चासो, चालु अधिवेशनमै २० वटा विधेयक पारित गर्ने तयारी

हिमाल प्रेस २३ माघ २०७९ १६:२५
4
SHARES
कानुन निर्माणमा प्रधानमन्त्रीको चासो, चालु अधिवेशनमै २० वटा विधेयक पारित गर्ने तयारी बालुवाटारमा सोमबार बिहान दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग छलफल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : रासस

काठमाडौँ- सरकारले संघीय संसद्को जारी अधिवेशनमा २० वटा विधेयक पास गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँगको छलफलमा यस्तो जानकारी दिएका हुन्।

बैठकपछि जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले भने, ‘नागरिकता ऐन, संघीय कर्मचारी ऐनजस्ता विधेयक तत्काल पारित गर्नुपर्छ भनेका छौँ। प्रधानमन्त्री गम्भीर बन्नुभएको छ। करिब डेढ महिना चल्ने सत्रमा १५ देखि २० वटा विधेयक पास गर्ने प्रतिबद्धता जनाउनुभयो।’

प्रधानमन्त्री प्रचण्डले संसद्का गतिविधि थप चलायमान बनाउन केकस्ता उपाय अपनाउन सकिन्छ भनेर सांसदहरूसँग परामर्श गरेका थिए।

यस्तै प्रधानमन्त्रीले संसद्मा कस्तो बिजनेस लैजाने र चालु अधिवेशनमा कति वटा विधेयक पारित गर्ने भन्ने बारेमा प्रमुख सचेतकबाट सुझाव लिएको यादवले जानकारी दिए। सांसदहरूले संसद् भाषणको रमिता देखाउन सीमित रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्तिप्रक्रियाका बाँकी काम कसरी अघि बढाउने? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि चासो देखाएका थिए।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘सदनलाई कसरी व्यवस्थित गर्ने, विधेयकलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्तिप्रक्रियाका बाँकी काम कसरी अघि बढाउने? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार संसद् बैठक जारी भए पनि संसद्ले गर्ने कार्य सुखद नभएको विषयमा कुराकानी भएको जानकारी दिए। बैठकमा समितिहरू बन्न नसक्दा संसद्लाई कार्य, व्यवसाय दिने कुरामा अलमल परेकाले कसरी अघि बढ्दा उचित हुन्छ भन्ने विषयमा पनि प्रधानमन्त्रीले परामर्श गरेका थिए।

सांसद् परियारले भने, ‘संसद् चले पनि संसद्ले गर्ने कार्य खासै नभएको जस्तो देखिएकाले बैठक बोलाउनुभएको थियो। सभामुख, उपसभामुखको निर्वाचनलगायत हामी प्राविधिक काममा अल्मलिएका थियौँ। संसदले निरन्तर गर्नुपर्ने ऐन, कानुन, विधेयकबारे प्रमुख सचेतकहरूसँग छलफल भएको छ।’

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसद्ले बिजनेस नपाएको र संसद्मा विधेयकहरु अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग सुझाव लिएको जानकारी दिए।

उनले भने, ‘संसद्मा पेस गर्नुपर्ने विधेयकका सन्दर्भमा प्रधानमन्त्रीजीले संसद्मा रहेका दलका प्रमुख सचेतकहरुसँग कुरा गर्नुभएको हो। सहज रुपमा सरकारले संसद्मा विधेयक पेस गर्नका लागि केकस्ता अप्ठ्यारा छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =