सांसद अरुणकुमार चौधरी जेल चलान

हिमाल प्रेस २० माघ २०७९ १३:००
16
SHARES
सांसद अरुणकुमार चौधरी जेल चलान

धनगढी- प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन्। कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई शुक्रबार बिहान १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट कैद पुर्जी लिएर उनलाई धनगढी कारागारमा चलान गरिएको हो।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‍‍कैलाली-२ बाट निर्वाचित चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको थियो।

२०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवानासहितको फैसला गरेको थियो। कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा २०६६ साल भदौ ३ गते आगजनी भएको थियो।

नागरिक उन्मुक्ति पार्टीले भने बिहीबार नै चौधरीको रिहाइका लागि २४ घण्टे अल्टिमेटम दिएको छ। यस अवधिमा चौधरी रिहाइ नभए आन्दोलन गर्ने उन्मुक्तिको चेतावनी छ। सांसद चौधरीलाई सुनियोजित ढंगले पक्राउ गरिएको उन्मुक्तिको आरोप छ।

प्रहरी हत्या आरोपित एमालेका सांसद लक्ष्मी महतो कोइरी भने अझै पक्राउ परेका छैनन्। कोइरीमाथि प्रहरीका सई थमन विश्वकर्माको हत्या गरेको आरोप छ। सात वर्षअघि मधेस प्रदेशमा आन्दोलन हुँदा महोत्तरीमा विश्वकर्माको हत्या भएको थियो।

घाइते भएर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सनबाट थुतेर विश्वकर्माको हत्या गरिएको भन्दै जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो। यसअघि धनुषा जिल्ला अदालतले १० लाख धरौटीमा उनलाई छोडेको थियो।

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी नेपालगञ्जबाट पक्राउ, काठमाडौँ ल्याइँदै

 

प्रकाशित: २० माघ २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =