नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी नेपालगञ्जबाट पक्राउ, काठमाडौँ ल्याइँदै

हिमाल प्रेस १९ माघ २०७९ १५:०९
260
SHARES
नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी नेपालगञ्जबाट पक्राउ, काठमाडौँ ल्याइँदै

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‍‍ कैलाली–२ बाट निर्वाचित चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो।

२०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवानासहितको फैसला गरेको थियो। कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा २०६६ साल भदौ ३ गते आगजनी भएको थियो।

पक्राउ परेका सांसद चौधरीलाई आज बिहीबार नै काठमाडौँ ल्याउने तयारी प्रहरीले गरेको छ। स्थलमार्गबाट आउँदा सुरक्षा जोखिम हुने भन्दै प्रहरीले चौधरीलाई नेपालगञ्ज विमानस्थलबाट हवाई मार्गबाट ल्याउन लागेको हो।

प्रहरीले चौधरीलाई काठमाडौँ ल्याइसकेपछि कारबाहीका लागि कैलाली पठाउने छ।

प्रहरी हत्या आरोपी एमालेका सांसद लक्ष्मी महतो कोइरी भने अझै पक्राउ परेका छैनन्। कोइरीमाथि प्रहरीका सई थामन विश्वकर्माको हत्या गरेको आरोप छ। सात वर्षअघि मधेस प्रदेशमा आन्दोलन हुँदा महोत्तरीमा विश्वकर्माको हत्या भएको थियो।

घाइते भएर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सनबाट थुतेर विश्वकर्माको हत्या गरिएको भन्दै जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो। यसअघि धनुषा जिल्ला अदालतले १० लाख धरौटीमा उनलाई छोडेको थियो।

प्रकाशित: १९ माघ २०७९ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =