गृह मन्त्रालय माओवादी आफैँंले राख्‍ने, रास्वपाको सरकार छाड्ने चेतावनी

हिमाल प्रेस १७ माघ २०७९ १३:१६
50
SHARES
गृह मन्त्रालय माओवादी आफैँंले राख्‍ने, रास्वपाको सरकार छाड्ने चेतावनी

काठमाडौँ– सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले गृह मन्त्रालय आफैँले राख्ने भएको छ। गृह मन्त्रालय नछाड्ने अडान लिएर मंगलबार बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहको विकल्प खोज्न आग्रह गरेका हुन्।

प्रचण्डले लामिछानेसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिन सकिने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले सरकार सफल र असफल हुनेमा गृह मन्त्रालयको भूमिका प्रमुख रहने भएकाले आफ्नै दलले राख्ने बताएको सभापति लामिछानेलाई उद्धृत गर्दै रास्वपाका एक नेताले जानकारी दिए।

जबाफमा गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी सभापति लामिछानेले प्रचण्डलाई दिएका थिए। लामिछानेको सचिवालयका एक सदस्यले भने, ‘सभापतिजीले प्रधानमन्त्रीसँग गृहमन्त्री हाम्रै पार्टीले पाउनुपर्छ भन्ने अडान दोहोर्‍याउनुभएको छ। गृह मन्त्रालय नपाएमा सरकारबाट बाहिरिनेसम्मको कुरा भएको छ।’

ती सदस्यका अनुसार गृह मन्त्रालय पार्टीको भागमा आएपछि मात्रै सरकारमा पठाइने व्यक्तिको टुंगो लगाइनेछ। उनले भने, ‘पहिला त मन्त्रालय रास्वपाले नछाड्ने भन्ने अडान हो। अनि मात्रै कसलाई पठाउने भनेर पार्टीले टुंगो लगाउनेछ।’

नागरिकता प्रकरणमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गत शुक्रबार गरेको फैसलापछि रवि लामिछानेको गृहमन्त्री, पार्टी सभापति र सांसद पद गुमेको थियो। आइतबार नागरिकता पुनः प्राप्ति गरेका लामिछाने सोही दिन फेरि पार्टी सभापति भएका थिए। अदालतको फैसलापछि गृह मन्त्रालयसमेत प्रधानमन्त्री प्रचण्ड आफैँले राखेका छन्।

सत्तारुढ अर्को घटक नेकपा एमाले भने सभापति लामिछानेलाई नै गृह मन्त्रालयको नेतृत्व दिनुपर्ने पक्षमा छ। गठबन्धनमा भएको सहमतिअनुसार लामिछाने पुस १० गते उपप्रधान एवम् गृहमन्त्री भएका थिए।

अदालतको आदेशले पद गए पनि नागरिकता पुनः प्राप्तिपछि फेरि लामिछाने सरकारमा जाने चर्चा छ। नेपालको संविधानअनुसार सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न पाउँछ। तर यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र संसद् सदस्य बन्नुपर्ने हुन्छ।


प्रतिक्रिया

One thought on “गृह मन्त्रालय माओवादी आफैँंले राख्‍ने, रास्वपाको सरकार छाड्ने चेतावनी

  1. नागरिकता मुद्धा पश्चात रबि र रा.स्वा.पा. गृहमा आँखा लगाउनु सत्तालिप्सा, Conflict of interest हो भने अझै पासपोर्ट, अध्यागमन,स्ट्रिङ्ग अपरेशन ठगी, बहु विवाह जस्ता मुद्धा अदालतमा बिचराधिन छ no more home minister for play boy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =