‘के लत बस्यो’ले १७ दिनमै पायो ३१ लाख बढी भ्युज

हिमाल प्रेस १५ माघ २०७९ ७:२५
12
SHARES
‘के लत बस्यो’ले १७ दिनमै पायो ३१ लाख बढी भ्युज

काठमाडौँ- एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्युज पाएको छ। गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई आइतबार बिहानसम्म ३१ लाख ५८ हजारपटक हेरिएको हो।

एक लाख १७ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन्। गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो। राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भएका छन्।

गायक पेलाकै संगीत रहेको गजललाई डा. प्रदीकुमार मैनालीले लेखेका हुन्। गजलमा संगीत संयोजन रिदम कँडेलले गरेका हुन्। शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ।

डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डोर्‍याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ। न कुनै कथानक, न कोही पात्र। गीतको म्युजिक भिडियो पनि सामान्य छ।

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा. मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ।

बैतडीमा जन्मिएका पेला पेला आफैँमा संगीतका गुरुसमेत हुन्।

उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका छन्। गायक पेलाले २०५३ मा ‘आँसु’, २०५४ मा ‘आँसु–२’ र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए।

प्रकाशित: १५ माघ २०७९ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =