सहिद दिवस विशेष

शुक्रराज शास्त्रीको ‘दु:ख’

हिमाल प्रेस १४ माघ २०७९ १०:५४
1.2k
SHARES
शुक्रराज शास्त्रीको ‘दु:ख’

अरे दु:ख! छि: छि: छि: ! तिमी कस्तो कुरूप छौ? तिम्रो नाउँ कत्तिको नराम्रो छ! तिम्रो नाउँ लिने बित्तिकै रोमाञ्च भई थर्कन थाल्छु। किन सबैको घरमा पस्छौ जब तिमीलाई कसैले वास्ता गर्दैन? तिम्रो नाउँ यस्तो भयंकर छ कि ठूलाठूला धीरवीरहरूलाई पनि तर्साइदिन्छौ, तिम्रो नाउँ दुई अक्षरले बनेको छ तापनि तिमीमा ठूलो शक्ति छ जसबाट ठूलाठूला शक्ति सम्पन्न अधीश्वरहरूलाई पनि आफ्नो अधीन गरि आफ्नै संयममा राख्छौ। तर म तिमीसित सोध्दछु कि यस संसारमा तिम्रो जन्म किन भयो जसको नाम लिने बित्तिकै शान्तिस्वस्ति गराउनुपर्छ? अहो कस्तो तिमी घृणित छौ! यस संसारबाट तिम्रो बिदा भए मात्र सबैलाई कल्याण हुनेछ। नत्र तिम्रो विद्यमानतामा केही कल्याणको आशा दुराशा मात्र हो।

तिम्रो नाम अनादिकालदेखि सुन्दछु। जुन घरमा तिम्रो प्रवेश हुन्छ उहाँ सबैलाई भताभु‌ग पार्छौ। तिम्रा जघन्य स्वरूप अनेक प्रकारका हुन्छन्। कसैलाई माता-पिताको, कसैलाई पति-पत्नीको, कसैलाई सन्तानको, अरू कसैलाई इष्ट मित्रको, मरण रूप वियोग जन्य दु:ख हुन्छ। कसैलाई अन्न आदिको अभावले भोकरूप दु:ख हुन्छ, कसैलाई धन नहुने दु:ख छ, कसैलाई घरबार नहुने दु:ख छ कसैलाई अनेक प्रकारका रोग, व्याधि, व्यथाहरूबाट दु:ख हुन्छ।

अर्को एउटा विपरीत दु:ख यो पनि छ कि कसैलाई धन नहुनाले दु:ख हुन्छ, किन्तु कसैलाई धेरै धन भएर पनि चोर, डाँकु आदि आक्रमणबाट दु:ख हुन्छ। कसैलाई नि:सन्तान हुने दु:ख छ, किन्तु कसैलाई धेरै सन्तान हुँदा उनीहरूद्वारा पीडा हुन्छ। कसैलाई अन्न आदि नहुँदा भोकले पीडा हुन्छ, किन्तु कोही मानिसलाई अधिक भोजनले अजीर्ण रोग ग्रस्त हुनाले दु:ख हुन्छ। अभिप्राय यो निस्क्यो कि प्रायः सबै मानिसहरू त्रिविध दु:खले पीडित भएका छन्।

त्रिविध दु:खमा प्रथम अध्यात्मिक दु:ख हो, शरीरको भित्रबाट जति ज्वर आदि रोगबाट दु:ख हुन्छन् ती सबौ आध्यात्मिक हुन्। दोस्रो अधिभौतिक दु:ख यो हो कि सर्प तथा हिंस्रक बाघ, सिंह आदिबाटको आक्रमणले दु:ख हुन्छ, तेस्रो दु:ख आधिदैविक हो, यो अतिवर्षा, अवर्षा, बिजुली आदि खस्नाले हुने दैवी विपत्तिबाट हुन्छ। यो तीन प्रकारका दु:खबाट प्राय: सबै मानिसहरू दु:खी भइरहेका छन्।

यस कारण हे निर्दयी दु:ख! तिमीले गरिबहरूलाई दु:ख दिई सत्यानाश पारिसक्यौ। कोही रोगको भयंकर पीडाले रोइरहेका छन्, कोही भोकको दु:खले कराइरहेका छन्।  पति पत्नीवियोगले तथा पत्नी पतिवियोगले, माता पुत्रवियोगयले तथा पुत्र मातृवियोगले, अनाथहरू मातापिताको वियोगले तथा दु:खी दिनहीन गरिबहरू निर्धनताको कारणले पीडित भई हाहाकार मचाउँदै छन्। के तिमी सुन्दैनौ? उनीहरूको करुणाजनक कराइले तीनलोक काँपिरहेका छन्।

हाय हाय निर्दयी! जाऊ जाऊ, हट हट, कसैकहाँ नजाऊ। धत्तेरी! निठुर! तिमीलाई लाज आउँदैन? सबैकहाँ तिम्रो अपमान हुन्छ, तर तिमी जबर्जस्ती पस्छौ र त्यहीँ जमिरहन्छौ।

यस कारण अरे दुष्टात्मा दु:ख! अब तिमी यस संसारमा नबस, तिमी सधैँका लागि बिदा लिएर जाऊ। सपनामा पनि तिम्रो दर्शन हुँदा कैयौँ महिनासम्म बिघ्न, बाधा, हानि भइरहन्छन्, तिम्रो दर्शन त यस्तो अमंगलसूचक हुन्छ कि बयान गरेर साध्य छैन, तिम्रो स्मरण खराब शकुनलाई संकेत गर्छ। तिमी बहुतै विचित्र जीव हौ, तिमीलाई कसैले पनि चाहना गर्दैनन्, तर संसारमा तिम्रै अटल राज्यको विस्तार भइरहेको छ। तिमी जबर्जस्ती सबैकहाँ पुग्छौ र सबमाथि अफ्नो अद्भुत शक्तिले आक्रमण गरी आफ्नो प्रभाव जमाइहाल्छ तिमीमा र भूतमा के फरक छ। त्यसैको नाम भूत हो जो सबैको टाउकोमा जबर्जस्ती चड्न सक्तछ। तिम्रो प्रभाव पनि भूतभन्दा केही कम छैन, प्रत्युत्त तिम्रो चारैतिर फैलिएको राज्य विस्तार हेर्दा त्यो भन्दा बढ्ता नै देखियो।

हाय हाय निर्दयी! जाऊ जाऊ, हट हट, कसैकहाँ नजाऊ। धत्तेरी! निठुर! तिमीलाई लाज आउँदैन? सबैकहाँ तिम्रो अपमान हुन्छ, तर तिमी जबर्जस्ती पस्छौ र त्यहीँ जमिरहन्छौ। जब तिम्रो प्रभावले प्रभावित भई कोही कोही प्राणी तीव वेदनाको उद्देगले आफ्नो माता पिता, दाज्यू-भाइ र इष्टमित्रहरूलाई करुणोत्पादक र हृदयविदारक स्वरले गुहार मच्चाउँछ तब पनि तिम्रो बज्रहृदयमा केही असर हुँदैन, तिम्रो कठोर हृदयमा कहिले पनि दयाको अङ्कुर जम्दैन, वेदनाले जति कराओस्, जे गुहार मचाओस्, तर तिम्रो कठोर बज्रहृदय अलिकति पनि पग्लन्न, तिमी कहिले पनि टसदेखि मस हुन्नौ, वहीँ जमिरहन्छौ। आखिर त्यस दीन दु:खी विचरालाई सत्यानाश पारिहाल्छौ।

अरे भूतको दाज्यू! अरे यमराजको काका! अरे! त्रिविध दु:खको सरदार! अरे बिपतको बाज्ये! अरे दुष्टात्मा नरकको राजा! तिम्रो नाउँ सुनेर पनि प्रायश्चित लाग्छ, तिमी जहाँजहाँ पुग्छौ वहाँवहाँ सत्यानाश भएको देख्छु एक होइन दुई होइन, सय होइन, हजार होइन, लाखन् करोडन् मानिसहरूको दुर्दशा हेरिसकें। तिम्रो अधिष्ठातृत्वमा हजारन् मानिसहरू बरबाद भइसके। भर्खर तिमी भूकम्पको स्वरूपमा आयौ, हजारौँ घरबाररहित भए। तिम्रै सभापतित्वमा लाखन् मानिसहरू दु:खले पिडित भई बेपत्ता भए, तिम्रै अधिस्वरतामा असंख्य दु:खीहरूको सत्यानाश भइसक्यो। यी सबै दुष्परिणामहरू के कारणले भए? लौ भन, म तिमीसित नै सोध्दछु, तिम्रो पनि त केही भन्ने ठाउँ होला?

तिमी भन्लाऊ – यी सबै दुष्परिणामहरूमा मेरो केही दोष छैन, कसले जस्तो कर्म गर्छ उस्तो फल पाउँछ, असल कर्म गरे असल हुन्छ, खराब गरे खराब, यसमा मेरो के अपराध छ? धेरै जनाले पुण्य गरे, उनी सबैले सुख भोगे, अरू धेरैले पाप गरे, उनीहरूले दु:ख भोगे, जस्तो कि श्रुतिको प्रमाण पनि छ:-

‘रमणीयाचरण रमणीयां यो निमाद्यन्ते,
कपूयाचरमा: कपूयां यो निमाद्यन्ते इत्यादि। ‘

यस कारण मेरो यसमा केही अपराध छैन। जसले मलाई दोष दिन्छ, ममा खोट लाउँछ त्यो उनको भूल हो। कारण – जो मति सो गति, यो उखान पनि माथी लेखेको कुरालाई र श्रुतिवचनलाई पुष्टि गर्छ।

तिम्रो अत्याचारको वर्षा पापी अधर्मीहरूमाथि मात्र होइन, तपस्वी, धर्मात्मा, महात्मा, जितेन्द्रिय, सदाचारी असल पुरुषहरूमाथि पनि त तिम्रो नरमशाही हुकुम चल्छ। उनीहरूमा पनि तिम्रो अत्याचारको प्रहार केही कम्ती हुँदैन, झन् त्यसको मात्रा बढ्ता नै देखियो।

लौ मैले तिम्रो कुरा बुझेँ, तिम्रो भनाइ पनि सर्वथा झुठो होइन, धेरै अंशमा सत्य नै हो। तिमीले भने जस्तै भए ता तिमीलाई धन्यवाद दिने थिएँ, तिम्रो पीठ ठोकी तिमीलाई स्याबासी दिने थिएँ, तिमीमाथि पुष्पवर्षा गरी हार्दिक स्वागत गर्ने थिएँ। तिम्रो भनाइ धेरै असल छ। तिम्रो जवाफ धेरै पवित्र छ, त्यसमा सत्यको अंश पनि छ सत्यांश छैन भनी भन्दिनँ। त्यतिमात्र भए त म धेरै खुसी हुने थिएँ। यसको विपरीत परिणाम हेरेर त म तिमीमाथि रिसाइरहेको छु। लौ अब म तिम्रो उत्तरको प्रत्युत्तर दिन्छु, कानको काह झिकी राम्ररी सुन:-

तिम्रो अत्याचारको वर्षा पापी अधर्मीहरूमाथि मात्र होइन, तपस्वी, धर्मात्मा, महात्मा, जितेन्द्रिय, सदाचारी असल पुरुषहरूमाथि पनि त तिम्रो नरमशाही हुकुम चल्छ। उनीहरूमा पनि तिम्रो अत्याचारको प्रहार केही कम्ती हुँदैन, झन् त्यसको मात्रा बढ्ता नै देखियो। कोही तपस्वी महात्मा सद्भावको भावनाले, सत्कामको कामनाले, सद् धर्मको धारणले, सत्कर्मको कारणले केही असल काम गर्दा तिमी सधैँ उनीहरूमाथि रिसाई आफ्नो कठोर बन्चरोको प्रहार गर्छौ, उनीहरूको विपतमा विहार गर्छौ, उनीहरूको आहर हरी निराहर पार्छौ, आखिर उनीहरूको संहार गर्नामा कहिले पनि बिराउन्नौ। तिम्रै कारणले सबै प्रकारका तपस्या धेरै कठिन हुन गए, यसै कारण तपस्यातिर सर्वसाधारणको विचार हुँदैन। त्यस्ता त्यस्ता तपस्वी तिम्रो अत्याचारले पीडित भई अनेक प्रकारका दु:ख भोगिरहेका छन्, उनीहरूसित लाउनालाई लंगौटीबाहेक अरू केही हुँदैन, खानलाई भण्डार साकार हुँदैन, प्रत्युत निराकार हुन्छ, दिनदिनै निराहार हुँदा आकार विकारमय हुन्छ। उनीहरूका पूर्व आदि दिशा नै पोसाक हुन्छन्, वनजंगल नै घर हुन्छन्। तिम्रै अत्याचारले तपस्वी महात्माहरूको यस्तो दुरावस्था भइरहेको छ। तिमीले उनीहरूमाथि पनि अत्याचारको सीमा नाघेको देख्ता परमेश्वरको अस्तित्व नै मिटेको जस्तो प्रतीत हुन्छ यसै कारण तिम्रो अत्याचारको सीमा लंघनले ठूल्ठूला आस्तिक ब्रह्मवादीहरू पनि नास्तिक भएर गएका दृष्टान्तहरू कम छैनन्। अर्को विपरीत काम यो हो कि बदमास, चोर, डाँकु, लुच्चा, गुण्डाहरूकहाँ तिम्रो दाल गल्दैन, उनीहरूमा नादिरशाही हुकुम चल्दैन, तिम्रो भयले उनीहरूको एउटा रौँ पनि हल्लिँदैन, झन् तिमीनै उनीहरूलाई हेरी डराउँछौ। ठिक हो-

“हराम देखि राम डरे।”

लौ यस प्रत्युत्तरको खण्डन गर्न सक्छौ? यस विरोधको तिमीसित केही समाधान छैन। कहिले पनि यस विरोधको परिहाफ गर्न सक्तैनौ। यस कारण तिम्रो उपर्युक्त भनाइमा विरोध देखिनाले झुठो सावित भयो।

अरे पापी अधर्मी दु:ख! तिम्रो अत्याचारको हद भइसक्यो, अत्याचारको हद पनि नाघिसक्यौ अब तिमीलाई यमराजको अतिथि बनाए पनि हुन्छ। तिमी सधैँ त्यसैको अतिथि भई वहीँ अतिथि निवासमा बस्ने काम गर, यस लोकमा कहिले पनि तिम्रो अवतार नहोस्। म सबैको प्रतिनिधि भई सधैँका लागि तिमीलाइ गुड बाइ (Good Bye) गर्छु। लौ जाऊ, चाँडो दगुर, अब सामुन्ने न आऊ, माग यहाँ देखिन् , धत् निर्लज्ज ! हट हठधर्मे ! थ्वैक तिम्रो कालो मुखमा! धिकार तिम्रो निर्दयी बज्रहृदयलाई! अरे दुष्ट पापात्मन! अब त म दिक्क भइसकेँ, सपनामा पनि तिम्रो दर्शन र स्मरण गर्न चाहन्नँ, तिम्रो दर्शनले म अघाइसकेँ, अब तिमीलाइ एक क्षण पनि घरमा राख्न चाहन्नँ। जाऊ बाबा ! जाऊ, भाग पापी! भाग, हट हठ! हट छि: छि: ! अहिलेसम्म पनि गएनौ? यति चोटि भनिसकेँ केही सुनेनौ? अब पनि यहीँ छौ तिमी? के अधर्मी! जान्दैनौ? लौ लाऊ शत्रु! नहेर यता, पछि नफर्क, नाखको सोझै सोझो बाटो लाग, अब फेरि यतातिर फर्केर हेर्‍यौ जर्मनीको तोपको गोलाले तिमीलाई लक्ष्य वेध गरी सलाम गर्नेछु। घुस्सैघुस्साले सत्कार गर्नेछु, मुक्कैमुक्काले लड्डु खुवाई तिम्रो बत्तीस दाँत झारिदिनेछु, सुन्यौ!

लौ अब धेरै कुरा गर्न चाहन्नौ, बस-अब जाऊ, सधैँको लागि नमस्कार, नमस्कार, नमस्कार।

अहो! के म पागल भएको छु? मैके के बकबाद गरेँ? अहो! प्रिय दु:ख। पख, एक छिन बस, मेरो हृदयमा एउटा दिव्य कुरा प्रगट भयो त्यो तिमीलाई नसुनाई हुँदैन। माथि लेखेका सबै दुर्गुण भने पनि गुण भने पनि यिनीमा चरितार्थ हुन्छन् यसमा पनि सन्देह छैन। र त तिम्रो यति वर्णन गरिसकेपछि मेरो हृदयमन्दिरमा अपूर्व चमत्कार चम्क्यो, ज्ञानको ज्योति जगमगाउन थाल्यो। तिमीलाई मैले धेरै कुवाक्य भनिसकेँ, मनमा आएका सबै गाली पनि गरिसकेँ। परमेश्वरको अनुपम अनुग्रहले अज्ञानरूप अन्धकार हट्यो, मिथ्याज्ञान घट्यो, कुकामना कट्यो। अब त्यसका ठाउँमा विज्ञानको ज्योति जाग्यो, दुर्भावमा भाग्यो, तत्वज्ञान पनि हुन लाग्यो।

अघि तिमीमा मैले जति दुर्गुण हेरेँ ती सबै अब मलाई सद्गुण जस्तै प्रतीत हुन्छन्। म अज्ञान समुद्रमा डुबिरहेको थिएँ, तब मैले तिमीलाई आफ्नो दूषित आँखाले तिम्रा सद्गुणलाई दुगुर्ण रूपले हेरेँ। तर दिव्य  नेत्रले हेर्दा माथि लेखेका दुर्गुण होइनन्। किन्तु सद्गुण नै हुन। त्यसैले तिमीलाई म चाहन्छु, म तिम्रो मान मर्यादा गर्नेछु।

मानिसहरू जब दु:खले दु:खित हुन्छन्, तब बाह्य रूपले हेर्दा वेदनाले पीडित भएका देखिन्छन्, तर सूक्ष्म विचारले हेर्दा दु:खले मानिसहरूको सुधार भई संस्कार भइरहेको हुन्छ। अपराधीलाई दण्डरूप दु:ख पर्न आउँदा त्यसको अपराध गर्ने बानी छुट्छ, पछि त्यो सत्मार्गमा प्रवृत्त हुन्छ। तिम्रै कारणले दुर्जन सज्जन हुन लाग्छ, पापात्मा धर्मात्मा हुन लाग्छ। तिमी नभए पपात्मा झन् दुरात्मा हुने थिए। धर्मात्मा पनि लोभ मोहवशकै पापात्मा हुने थिए।

क्रोधको आवेशमा मैले उचित-अनुचित, कर्तव्य-अकर्तव्य, धर्म-अधर्म, पुण्य पाप आदिम केही भेद नसम्झी धेरै अर्थको अनर्थ गरिसकेँ, लोभमोहको दृढ पाशको बन्धनले परिबद्ध हुँदा मैले आफूलाई र अर्कालाई समेत धेरैपल्ट बिहाइसकेँ।

तिमी विद्यमान रहँदा भविष्यको अनिष्टशंकाले दुराचार गर्नामा मन पनि भयभीत हुन्छ, बदमासी काम गर्दा हात काम्न थाल्छ, खुट्टाले पनि यो खराब काम नगरूँ भनी आनाकानी गरी जवाफ दिइहाल्छ। तिम्रो आगमन जुनसुकै रूपले होस् निष्फल हुँदैन, जब म कहिलेकाहीँ काम, क्रोध, लोभ, मोहको अकाट्य जालमा फसी विवेकरहित हुन्छु त्यस बेलामा मलाई केही सुधबुध रहन्न, तब मैले के के कुकामको कामना गरिन र अभव्यको भावमा गरिनँ?

क्रोधको आवेशमा मैले उचित-अनुचित, कर्तव्य-अकर्तव्य, धर्म-अधर्म, पुण्य पाप आदिम केही भेद नसम्झी धेरै अर्थको अनर्थ गरिसकेँ, लोभमोहको दृढ पाशको बन्धनले परिबद्ध हुँदा मैले आफूलाई र अर्कालाई समेत धेरैपल्ट बिहाइसकेँ। यी चार प्रकारका दृढ बन्धनहरू यस्ता यस्ता हुन्छन् कि उनीहरूमा प्रवेश हुँदा फेरि उनीहरूबाट उम्कनु असम्भवजस्तै हुन्छ। कामक्रोध आदि एक एक अथाह समुद्रजस्तै हुन्छन्, जब यी चारैको संगम हुन्छ तब यी चार अपार सागरमा डुब्दा डुब्दै मेरा अनेक जन्म बितिहाल्छन्, त्यहाँबाट उम्कनु धेरै कठिन थियो।

जब तिम्रो आगमन हुन्छ तब मात्र यी चार अपार सागरबाट तर्छु। यी चार समुद्र तर्नालाई तिमी त ठूलो जहाजजस्तै छौ। जब म तिमीलाई आलिंगन गर्छु तब स्वरूप तिमी तितो औषधिजस्तै प्रतीत हुन्छौ, तर फलतः तितो औषधिले असाध्य रोगलाई चिकित्सा गरे जस्तै तिमीले पनि यी चार असाध्य महारोगहरूको चिकित्सा गरिहाल्छौ। तिम्रो स्वरूप असह्य दु:ख रूप नै हो। तर तिमे स्वयं दु:खस्वरूप भई सबै अपराधीहरूको दु:खलाई पनि काट्छौ।

तिमी ‘कण्टके नैव कण्टकम्’ हौ। यस उखानको अक्षर पत्यक्षर तिमीमा नै चरितार्थ हुन्छ। अघि तिमी नहुँदा म शुद्ध, बुद्ध, विवेक हीन अन्धवत् भई आकाशमा उडिरहन्थेँ। जब तिमी यताउत घुम्दाघुम्दै अतिथि रूपले वा मेरा उपकार गर्नाका निम्तित्त मिश्र रूपले मकहाँ आउँछौ तब मेरा आँखा खुल्छन् र विवेकयुक्त हुन्छु, तब म सम्झिन्छु कि मेरा खुट्टाहरू भूमिमा नै छन्। स्वरूपत: तिती छौ तापानि फलत: मीठो छौ, तिम्रो स्वरूप हराम भए तापनि परिणाममा मुफीद अंजम छ, ‘सूरत हराम मुफीद अंजाम’ यस उखानको चरितार्थ पनि तिमीमा नै हुन्छ। तिमी प्रत्यसत: अपेय हलाहल घातक, विष नै हौ, पाप जस्तै पातक नै हौ, तर परिणामत: प्राण सञ्जीवनी बुटी अमृत नै हौ:-

‘यत्तदग्रे विषमिव परिणामेsमृतोपयम्’  (गीता. १८/३७)

श्रीमद्भागवत् गीताको वचन पनि तिमीमा दृष्टान्त रूपले कृतार्थ हुन्छ। तिमीलाई जसले शत्रु सम्झन्छ त्यो मूर्ख हो, तिमी कसैका शत्रु होइनौ, प्रत्युत सबैको सहायक र उपकारक परम मित्र हौ। तिमीमा नै – ‘विषकुम्भं पयोमुखम्’ को विपरीत भाव देखिन्छ, तिमी वस्तुत: ‘विषमुखै पय:कुम्भम्’ हौ। जस्तो स्वरूपमा बाह्यत: राम्रा हुन्छन् उति प्राय: भित्र कुहिएका वा फलतः अकल्याणकारी हुन्छन्। यस्तो खराब दृष्टान्त तिमीमा घट्दैन।

तिमी वस्तुत: धारणाको धारक हौ, मोहमायाको मारक हौ, लोभ तृष्णाको तरिक हौ। तिमी पापको शोधक, ज्ञानको बोधक, अकल्याणको रोधक हौ। तिम्रो दर्शनले दुरात्माको संस्कार हुन्छ, असल भावनाको सञ्चार हुन्छ, कुचरित्रताको सुधार हुन्छ, शुभ आचारको विचार हुन्छ। तिम्रो गाढालिंगोनले बिर्सिरहेको भगवनको भान हुन्छ। दु:ख रोग निदानको ज्ञान हुन्छ, अन्ततः ज्ञान-अज्ञानको विज्ञान हुन्छ।

तिम्रै सङ्गतिले दुर्व्यसन-व्सयन आदिको भंग हुन्छ। धर्मात्मा महात्माहरूको संग हुन्छ तथा अन्तमा तिम्रै दयादृष्टिले जीवात्मा परमात्माको सत्संग हुन्छ। जब तिम्रो दर्शन हुन्छ जब सत्कर्मको स्पर्शन हुन्छ। अरू असल कुराको परामर्शन हुन्छ। तिमो अनुग्रहले धृष्टताको घर्षण हुन्छ, घृणा भावको घर्षण हुन्छ, आखिर असह्य विपत्तिको मर्षण हुन्छ।

तिम्रो साक्षात्कार हुँदा खरान वासमा नष्ट हुन्छ, अविवेकता भ्रष्ट हुन्छ, दूराचारको खण्डन हुन्छ, सदाचारको मण्डन हुन्छ। तिमी प्रत्यक्ष हुँदा छल छिद्र छुट्न लाग्छ, कुत्सित कर्म कट्न लाग्छ, घोर घमण्ड घट्न लाग्छ, खोट खोटतिर खट्न लाग्छ, अरू हेय वस्तु हट्न लाग्छ। तिम्रो अनुमान मात्रले खराब वासनाको हानि अभव्य भावनाको ग्लानि तथा कुकाम कामनाको म्लानि हुन्छ।

हे दु:ख मित्र! तिम्रो साक्षात्कारले मलाई धेरै शान्ति मिल्छ, शुद्धताको कान्ति बढ्छ। भययुक्त भ्रान्ति भाग्छ अरू अधर्मको क्रान्ति हट्छ। यसकारण तिमी कहीँ नजाऊ, मकहाँ नै बस, तिम्रो संगतिले म सधैँ पवित्र, शुद्ध, निर्मल भइरहन्छु!

तिम्रो उदय हुँदा ज्ञानाङ्करको विकास हुन्छ, दिव्य ज्योतिको प्रकाश हुन्छ, फेरि परलोक सुधारको अवकाश हुन्छ। हे मित्र दु:ख! तिम्रो उपमा वस्तुत: अग्निसित मिल्छ, सुन चाँदी आदि बहुमूल्य धातुहरू जब अग्नि संयुक्त हुन्नन् तब उनमा मलीनताको मात्रा मिली दूषित तथा मलयुक्त हुन्छन्। जब मलीन सुन, चाँदी आदि धातुहरूमा अग्निको संयोग हुन्छ तब मलीन दूषित धातुहरू शुद्ध पवित्र भई जगमगाउन लाग्छन्। त्यस्तै तिमी पनि छौ, जब जीवात्माहरू कुसंग संगतिले सुवर्ण आदि धातुवत् मलीन तथा दूषित हुन्छन्, तिम्रो संगति नहुन्ज्यालसम्म ती जीवात्माहरू हजारन् वर्षसम्म कलुषित र दूषित भई नरकसागरमा डुबिरहन्छन्, किन्तु सौभाग्यको उदयले जब ती मलिन आत्माहरूलाई तिम्रो साक्षात्कार हुन्छ तब उनीहरू शुद्ध धातुवत् निर्मल पवित्र भई संसारभरमा फेरि चम्कन थाल्छन्।

हे परम सुहृत् दु:ख! तिम्रा यस्ता यस्ता अपूर्व सद्गुणलाई दुर्गुण सम्झी अज्ञहरूले तिम्रो निन्दा गर्छन्, घरघरमा सबैले तिमीलाई बहिष्कार गर्छन्, तर अज्ञहरूले अपमान गरेकोमा तिमी केही विचार नगर। तिम्रो सत्कार म सधैँ गर्नेछु। केही चिन्ता नगर हेर यद्यपि तिम्रो सर्वत्र वहिष्कार हुन्छ। तथापि धर्मात्मा तपस्वीहरूकहाँ तिम्रो स्वागत हुनेछ। म पनि तिमीलाई स्वागत र सेवा शुश्रूषा गर्नामा केही बाँकी राख्ने छैन।

हे दु:ख मित्र! तिम्रो साक्षात्कारले मलाई धेरै शान्ति मिल्छ, शुद्धताको कान्ति बढ्छ। भययुक्त भ्रान्ति भाग्छ अरू अधर्मको क्रान्ति हट्छ। यसकारण तिमी कहीँ नजाऊ, मकहाँ नै बस, तिम्रो संगतिले म सधैँ पवित्र, शुद्ध, निर्मल भइरहन्छु! आऊ मित्र दुःख! आऊ, फेरि आखिरमा तिमीलाई आलिंगन गरी सत्कार गरूँ  हामी दुवै मिली सज्जनहरूको शुभ जीवन बिताउनेछौँ।  म तिमीलाई छाड्दिनँ, तिमीले पनि मलाई नछाड है। आजदेखि परमेश्वरलाई साक्षी राखी तिमीसित परम मित्रताको सम्बन्ध गर्नालाई दृढ प्रतिज्ञा गर्छु।

[शारदा मासिक, वर्ष : ३, अंक : ८, वि.सं. १९९४ असोज।]

https://himalpress.com/2023/01/28470/

राणा शासनका दुई बन्दी दशरथ चन्द र रामहरि शर्माबीचको कुराकानी

प्रकाशित: १४ माघ २०७९ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =