सहिद दिवस विशेष

शुक्रराज शास्त्रीको परममित्र ‘रोग’

हिमाल प्रेस १३ माघ २०८० १४:४०
20
SHARES
शुक्रराज शास्त्रीको परममित्र ‘रोग’

सहिद शुक्रराज शास्त्री जहाँनिया राणा शासनविरुद्धको नागरिक अधिकार आन्दोलनका एक अग्रणी व्यक्तित्व थिए। उनी साहित्यकारसमेत थिए। उनको अर्को सशक्त परिचय सुधारवादी अभियन्ता हो। उनी नेपाली, नेपाल भाषा, हिन्दी, अंग्रेजी र संस्कृत भाषामा पोख्त थिए।

उनका ‘ब्रह्मसूत्र शाङ्कर भाष्य’, ‘स्वर्गको दरबार’, ‘नेपाल भाषा व्याकरण’, ‘संस्कृत प्रदीप’लगायत पुस्तक प्रकाशित छन्। नेपाल नागरिक अधिकार समितिबाट राणा शासनविरुद्ध नेपाली जनताको हकहितमा लागिपरेका उनलाई १९९५ साल मंसिरमा राणा शासनले पक्राउ गरेको थियो। राणाशासनले तीन वर्षको जेल सजाए सुनाएर कैद गरेको थियो।

त्यसको दुई वर्षपछि १९९७ सालमा राणा शासनविरुद्ध प्रजा परिषद्‌मार्फत पर्चा अभियान सुरु भयो। पर्चा अभियानमा शुक्रराजको संलग्नता थिएन। तर अभियानमा पक्राउ अन्य क्रान्तिकारीका साथमा उनी पनि थिए भन्दै उनीविरुद्ध थप मुद्दा चलाइयो।

उनलाई आठवटा मुद्दामा फसाई १९९७ साल माघ ६ मा सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो। त्यसपछि १९९७ साल माघ १० मा राति उनलाई टेकुस्थित पचलीको चौबाटोमा रहेको खरीको रूखको हाँगामा झुण्ड्याइएको थियो।

शुक्रराज शास्त्री १९९५ साल मंसिरमा पक्राउ पर्नुभन्दा एक वर्षअगाडि १९९४ सालमा लगातार चार महिनासम्म त्यतिबेलाको साहित्यिक पत्रिका शारदामा उनका लेख छापिएका थिए। १९९४ सालको साउनदेखि कात्तिकसम्म क्रमशः रोग, भोग, दुःख र सुख शीर्षकका चारवटा लेख छापिएका थिए।
शारदा मासिक वर्ष–३, अंक–६ मा प्रकाशित ‘रोग’ शीर्षकको लेख यहाँ प्रस्तुत छ :

रोग

हे रोग! तिम्रो नाउँ धेरै नै नराम्रो छ। तिमीलाई चाहने मानिसको जन्म न यस लोकमा न अन्तै कुनै लोकमा हुने सम्भव छ। तिम्रो नाउँमा नै विष मिसिएको हुन्छ। तिम्रो नाउँ सुन्नासाथ विषम ज्वर आउन थाल्छ। भगवान् परमेश्वरले सबै वस्तु उपयोगी बनाए जस्तो आगो, पानी, माटो इत्यादि। यी वस्तु नभई कुनै प्राणीको निर्वाह हुँदैन।

यी वस्तुको उपयोगिताको तौल तौल्न सक्तिनँ। न यिनका उपयोगिताको मोल तोक्न समर्थ छु। तर भगवान‌्ले तिम्रो सृष्टि किन गर्यो? तिमी के काम आउँछौ? यो म जान्दिनँ। यदि भगवान्‌सित साक्षात् गर्न सक्ने भए भगवान्‌को जुनाफमा म तिम्रो सृष्टिको पक्षमा कसैले समर्थन गरेको भए म आफ्नो तीव्र तर्कले त्यसको पक्ष खण्डन गर्ने थिएँ। तिम्रो विरोधमा सबैलाई शास्त्रार्थको हाँक दिने थिएँ। तिम्रो अनुपयोगिता र अवाञ्छनीयताको घोषणा गरी तिम्रो सृष्टि नगर्न भगवान्‌लाई बाधित गर्ने थिएँ।

कारण, तिमी कसैको काम लाग्ने होइनौ। यस संसारमा म तिम्रो केही उपयोगिता देख्दिनँ। प्रत्युत तिम्रो सृष्टि हुँदा संसारलाई अनेक प्रकारबाट विघ्नबाधा, व्यथा भइरहेका छन्। तिम्रो जन्मै नभए संसारलाई कल्याण हुने थियो। परमात्मा निराकार स्वरूप हुनाले तिम्रो विरोधमा प्रस्ताव उपस्थित गर्न सकिन्न। केही शंका–समाधान पनि गर्न पाइन्न। नत्र, भगवान्‌को जुनाफमा तिम्रो पूरा खबर लिने थिएँ। मनको भावना मनैमा रह्यो, अहिलेसम्म हृदयका शंका हृदयमा नै कुँडिरहेका छन्।

तिम्रो रौँ बराबरको अस्तित्व हुनु पनि दुःखदायी हुन्छ। तिमीजति नै सानो छौ तापनि उत्तिकै ठूलो मोटोघाटो छौ। तिम्रो मुख पनि छैन, दाँत पनि छैन। तर टोक्नामा विषधारी सर्प र उडुस, लामखुट्टेलाई पनि मात दिन्छ्यौ।

तिम्रो गिन्ती दुई–चारमात्र भए पनि कुनै प्रकारले सहने थिएँ। तिम्रो अनगिन्ती स्वरूप हुनाले दुनियाँ बरबाद भइरहेको छ। वैद्यक शास्त्र हेर्दा तिम्रो गिन्तीको कुनै ठिकाना छैन। टाउको दुख्ने रोग, आँखा दुख्ने रोग, कान दुख्ने रोग, नाक दुख्ने पिनासको रोग, दाँत दुख्ने रोग, पेट दुख्ने रोग, आङभरि खटिरा आउने रोग, बीसौँ प्रकारका ज्वर, हैजा, प्लेग, इन्फ्लुएन्जा, अर्श, बबासीर, प्रदर, सन्निपात आदि महारोग सबै तिम्रै स्वरूप हुन्। तिम्रा यी सबै प्रकारका रोगका नाम गिन्नलाई मनुष्यको लेखनी समर्थ छैन।

तिम्रो स्वरूप वा आकार प्रारम्भमा जतिसुकै सानो होस् तापनि त्यसको उपयुक्त चिकित्सा नगरे तिमीले यस बिचरा बिरामीलाई मारिहाल्छौ। नीतिशास्त्रमा तिम्रो उपमा शत्रुसित दिइराखेको छ। जस्तोसुकै सानो शत्रु किन नहोस् त्यसको दमन नभएको पक्षमा शत्रुबाट त्यो मान्छे मारिनेसम्म हुन्छ। यसै कारण नीतिशास्त्रमा लेखेको छ–

य उपेक्षेत शत्रु स्वं व्यधासिञ्च प्रशम नयेत्।
अति पुष्टाङ्गयुक्तोपि सशैनैस्तेन हन्येते।।

यस कारण तिम्रो रौँ बराबरको अस्तित्व हुनु पनि दुःखदायी हुन्छ। तिमीजति नै सानो छौ तापनि उत्तिकै ठूलो मोटोघाटो छौ। तिम्रो मुख पनि छैन, दाँत पनि छैन। तर टोक्नामा विषधारी सर्प र उडुस, लामखुट्टेलाई पनि मात दिन्छ्यौ।

तिम्रो हात छैन तर कुट्नामा र चिमट्नामा हात हुने प्राणीलाई लज्जित गर्छौ। तिम्रो नङ छैन तर घोच्नामा काँढा र सियोलाई हराइदिन्छौ। तिम्रो हाड छैन तर कठोरतामा तिमीले ढुंगालाई पनि नाघिसक्यौ। तिम्रो शरीर नै छैन, तर तिम्रो सामुन्ने शरीरधारी टेक्न र अड्न सक्तैनन्। तिम्रो सामना गर्न सक्ने मानिस कोही पनि छैनन्।

तिमीलाई हेरी सबै प्राणी डराउँछन्। काम्छन्, थर्कन्छन्, कसैको केही लाग्दैन। तिम्रो सामुन्ने कसैको सीप चल्दैन। तिमीलाई आक्रमण गर्न सबै प्रकारका अस्त्र–शस्त्र कुण्ठित हुन्छन्। तिम्रो निवारण गर्नालाई कहिलेकाँही झारफुक प्रयोग हुन्छ। वेदपाठी वेदमन्त्रको पाठ गर्छन्। वैद्य, डाक्टर आई अनेक प्रकारका औषधि प्रयोग गर्छन्।

तर तिम्रो सन्निपातको रोगलाई कोही हटाउन सक्तैनन्। सबै असफल हुन्छन्। औषधिको प्रयोग निष्फल हुन्छ। झारफुक बेकाम हुन्छन्। वेदमन्त्रको पाठ र पूजा व्यर्थ सिद्ध हुन्छ। तिम्रो सामुन्ने सबै हार मान्छन्। शरीर न हुनाले तिमी आकाशजस्तै निराकार छौ। तर निराकार भए तापनि बिरामीकहाँ तिम्रो आगमन हुँदा केही आदर देखिन्छ।

यस कारण तिम्रो निराकारतामा साकारता विद्यमान हुन्छ। निराकारता र साकारता यी दुवै परस्पर विरोधी गुण हुन्। एक वस्तुमा हुँदैनन्। यो न्यायशास्त्रको एकान्तिक सिद्धान्त हो। तर, तिमीले यस एकान्तिक सिद्धान्तलाई अनैकान्तिक (व्यभिचरित) सिद्धान्त पारी हेत्वाभासरूप गराइहाल्यौ। यो अपूर्व शक्ति तिमीबाहेक अरू कुनै जडचेतन पदार्थमा छैन। परमेश्वरमा पनि यस्तो परस्पर विरोधी गुण हुँदैन। यस विषयमा त तिमीले सबैलाई मात गरिसक्यौ।

तिम्रो जस्तोसुकै सानो स्वरूप पनि असह्य हुन्छ। जब तिमी आँखामा पदार्पण गर्छौ म विचार गर्थेँ, ‘यदि कान, नाक, मुख आदिमा तिम्रो आगमन भए म तिम्रो आगमनको खर्च सहने थिएँ। त्यसबाट हुने वेदना सह्य मान्ने थिएँ इत्यादि।’ तर, जब अरू कुनै समयमा आँखालाई छाडी कान आदिमा जबर्जस्ती पस्छौ तब त्यस अंगको तीव्र वेदमा हुँदा फेरि विचार गर्थें, ‘तिमी कान आदिमा नपसे धेरै बेस हुन्थ्यो इत्यादि।’

मेरा कुनै अंगमा तिम्रो एकांकी आगमन पनि असह्य दुःखदायी हुन्छ। किन्तु जब तिमी सदल आउँछौ तब मेरो सर्वस्व स्वाहा हुन्छ। घरबार नष्ट हुन थाल्छ। घर गृहस्थी बरबाद हुन लाग्छ। घरका जहान भताभुङ्ग हुन आरम्भ हुन्छन्। सबै मातमत्ता लथालिङ्ग भइरहन्छन्।

अभिप्राय यो निस्क्यो कि मेरा कुनै अंगमा तिम्रो एकांकी आगमन पनि असह्य दुःखदायी हुन्छ। किन्तु जब तिमी सदल आउँछौ तब मेरो सर्वस्व स्वाहा हुन्छ। घरबार नष्ट हुन थाल्छ। घर गृहस्थी बरबाद हुन लाग्छ। घरका जहान भताभुङ्ग हुन आरम्भ हुन्छन्। सबै मातमत्ता लथालिङ्ग भइरहन्छन्। यस कारण तिम्रो रौँ जत्तिको आगमन पनि मलाई सह्य हुँदैन। तिमी मेरोमात्र शत्रु होइनौ।

वस्तुतः संसारभरका शत्रु हौ। सबै प्रकारले तिम्रो कुनै परिमाणमा आगमन कसैलाई पनि वाञ्छनीय हुँदैन। यस कारण तिमीलाई सधैँको निम्ति नमस्कारपूर्वक यस संसारदेखि बिदा गरिदिए दुनियाँको ठूलो कल्याण हुने थियो। सबैको ठूलो उपकार हुने थियो। अनादि कालदेखि यस संसारमा घरघरमा तिम्रो आगमन भइरहनाले ठूलाठूला राजा महाराजाको नामचिन्ह रहेन। अनेकौँ घरगृहस्थी लोप भएर गए।

असंख्य नवयुवक, नवयुवती, बालबच्चा अकाल पीडित भई यस संसारबाट बिदा भए। कोही कोढको रोगले दुःखी भई मरे। कोही अनेक प्रकारका रोगबाट ग्रसित भई कराउँदै मरे। कोही मुर्छित भई, कोही अचेत भई, कोही दुःखको तीव्र वेदनाले रुँदै, गुहार मचाउँदै यस नश्वर शरीरबाट भागे। कोही रोए रोओस्, कराए कराओस्, मरे मरोस् तर कसैले रोएको, कराइ, गुहार मचाएको, मरेकोमा तिम्रो के मतलब छ?

यी सबै प्रकारका रोगद्वारा ग्रसित भएका रोगीसित कुनै प्रकारको सहानुभूति राख्ने भावना तिम्रो सपनामा पनि आउँदैन। दया धर्मको लेश पनि तिमीमा छैन। दया धर्मसित तिम्रो केही वास्ता छैन। यसले यो बुझियो कि तिमीजस्तो निठुर यस संसारमा कोही पनि पाइँदैन। निठुरतामा पनि तिमी अनुपम हौ।

यस कारण परमेश्वरसित मेरो त यही प्रस्ताव छ कि समस्त दुनियाँलाई कठोर दुःख दिई सधैँ बरबाद गरिरहने यस्तो निठुर दया धर्महीन रोगको अस्तित्व नै मेट्नुपर्छ। म यस्तो दुःखदायी रोगको सृष्टि गर्नाले परमात्माको सृष्टि रचनाको अपूर्व कौशलमा नै कलंक आउँछ। भगवान्‌को सर्वज्ञतामा नै दोष आउँछ, जसले यति पनि विचारपूर्वक काम गर्न जानेन।

जेहोस्, तिम्रोजस्तो दुर्गुणको गिन्ती छैन। उस्तै सद्गुणको संख्या पनि कम छैन। तिमीलाई मित्रका आँखा नहुनेले चिन्न सकेनन्। तिमी गुणीमा पनि अनुपम हौ।

परमेश्वरले जननेन्द्रियलाई पुत्ररत्न उत्पन्न गरी संसारको उपकार गर्नाका निम्ति बनाएको हो। यसको सदुपयोगले स्वार्थ र परार्थ तथा इहत्र र पत्र इष्टसिद्धी हुन्छ। किन्तु यसको दुरुपयोग हुँदा सर्वनाश हुन्छ। जब मानिस व्यभिचार, व्यसनमा फसी धन र शरीरलाई बरबाद गर्छन्, तब तिमी मित्र रूपले त्यस व्यभिचारी दुव्र्यसनीलाई शिक्षा दिन अर्श रोग आदि रूपमा प्रकट भई विद्रोह गर्छौ।

व्यभिचारीको व्यभिचारलाई हटाउन तिमी सत्याग्रह गर्छौ। तिमीले विद्रोह र सत्याग्रहको घोषणाले त्यस व्यभिचारीलाई शिक्षा दिन्छौ कि–

‘बस बस अब यस व्यभिचार रूप दुर्व्यसनमा नफस तिमीले धेरै अनर्थ गरिसक्यौ, तिमीले एक फेरा मर्नुपर्छ। यस दुर्व्यसनीलाई छाडिदेउ। यदि तिमी मेरो विद्रोह र सत्याग्रहलाई उपेक्षा गर्छौं भने म अर्श रोग आदि अनेक रूपमा प्रकट भई तिम्रो शेष जीवनलाई पनि नाश गरिदिनेछु इत्यादि।’

यसप्रकार तिमीले त्यस व्यभिचारी दुर्व्यसनीलाई मित्र रूपले शिक्षा दिन्छौ। जब व्यभिचारी पुरुषले तिम्रो शिक्षालाई उल्लंघन गर्छ, तब तिमी अनेक भयंकर स्वरूपले प्रकट भई त्यस व्यभिचारीलाई विवश र बाधित नै गरी जबर्जस्ति त्यसको व्यभिचार दोषलाई हटाई दिन्छौ। यस्तो उपकार गर्ने तिमीजस्तो प्रभावशाली मित्र म त तीनै लोकमा पाउन सक्तिनँ।

म पनि धेरै दुनियाँ डुलिसकेँ। तिमी जसो शक्तिमान मित्र कहीँ पनि छैन। प्रायः संसारी मित्रहरू स्वार्थ सिद्ध गर्नलाई धन हुनज्यालसम्म मात्र मित्र हुन्छन्। धन सकिएपछि सबै मित्र भाग्छन्। फेरि दर्शन गर्न पनि आउँदैनन्। यस कारण धन नभएपछि उनीहरुको स्वार्थ सिद्ध हुँदैन। किन्तु तिमी साँच्चै नै मित्रता निभाउँछौँ। जब व्यभिचारी पुरुष अनियमित रूपले लगातार व्यभिचार गरी धन नाशको साथसाथै शरीरलाई जर्जरित गर्छन्, तब यी व्यभिचारी हिँड्न डुल्नलाई पनि असमर्थ हुन्छन्।

यस्तो असहाय र असमर्थ हुने अवस्थामा तिमी बोलाए बेगर केही फिस नलिई डाक्टर रूपले आई त्यस रोगीको व्यभिचार रूप दुष्कर्मलाई जबर्जस्ती रोक्छौ। धेरै धनी शक्तिमान त संसारी मित्र, डाक्टर र वैद्यराजले दिएको औषध र उनीहरूले भनेको पथ्यलाई शक्तिको प्रभावले उल्लंघन पनि गर्न सक्तछन्। यस उपेक्षामा उनीहरू बाधा पनि गर्न सक्तैनन्। किन्तु तिमीले बताएको पथ्यलाई शक्तिमानहरूले पनि नाघ्न सक्तैननन्। तिम्रो हुकुमलाई उपेक्षा गर्नामा समर्थ को हुन सक्ला? सर्वस्व नाश हुने भएले तिमीले भनेको पथ्यलाई ठूलठूला बादशाहहरूले पनि शिर निहुराइ मान्दछन्।

शरीरमा आँखा एक प्रधान इन्द्रिय हो। यसले शरीरका अन्य अंगको नेताको काम गर्छ। वस्तुतः आँखा यसै कारण पथप्रदर्शक हो। आँखा नभए संसार अन्धकारमय हुन्छ। यसको अतिरिक्त आँखाले वेद आदि सत्यशास्त्रको अध्ययन हुन्छ। आँखाको सदुपयोग यही हो। परपत्नी र परधनमाथि कुदृष्टि गर्नु आँखाको दुरुपयोग हो।

यी इन्द्रियको दुरुपयोग हुँदा तिमी क्रमशः बहिरो, लाटो, डुँडे, लंगडो हुने रोग रूपले आई भविष्यमा त्यस दुरुपयोग गर्नेलाई उपकार गर्छौं। फेरि बिस्तारै–बिस्तारै सबैका दुरुपयोग गर्ने बानीलाई हटाइदिन्छौ।

चक्षुरिन्द्रियको सदुपयोगले मानिसको ठूलो उपकार हुन्छ। किन्तु जब मानिस प्रमादवश यसको दुरुपयोग गर्छन्, तब तिमी अन्धरोग रूपले आई दुरुपयोग गर्नेलाई त्यस कुचलबाट हटाई उपकार गर्छौ एवं कानको सदुपयोग सदुपदेश श्रवण मुख जिब्रोको सत्यशास्त्र उच्चारण र अध्ययन हाथको सत्पात्रलाई दान र लौकिक शुभ काम तथा खुट्टाको गम्थ (जान योग्य) मा गमन गर्नाको निमित्त हो।

यी इन्द्रियको दुरुपयोग हुँदा तिमी क्रमशः बहिरो, लाटो, डुँडे, लंगडो हुने रोग रूपले आई भविष्यमा त्यस दुरुपयोग गर्नेलाई उपकार गर्छौं। फेरि बिस्तारै–बिस्तारै सबैका दुरुपयोग गर्ने बानीलाई हटाइदिन्छौ।

जब भोकले उन्मत्त भई सबलले निर्बललाई तथा विद्वानले मूर्खलाई दमन गरी उनका भागसमेत लुट गरी अधिक मात्रामा आफ्नो पेट भर्छन्, तब तिमी अजीर्ण हैजा, सन्निपात आदि पर्याय क्रमले आउँछौ। त्यस लुटपाट गर्ने व्यक्तिका तान्द्रातुन्द्रीलाई खुकुला पारी अधिक मात्राले बढ्ता खाएका सबै भागलाई बाहिर निकाली लोभ रूप दोषलाई हटाई उपकार गर्छौ। म त आजसम्म अज्ञान रूप अन्धकारमा डुबी तिम्रो सृष्टिको महत्त्व जान्नमा असमर्थ थिएँ। यसै कारण तिम्रो सृष्टिको विरोधमा परमेश्वरको जुनाफमा प्रस्ताव राख्न तत्पर भएको थिएँ।

अब त म आफ्नो प्रस्ताव वापस लिन्छु। तिमी हेय, घृणित, तुच्छ, अप्रिय व्यक्ति होइनौ। तिमी वस्तुतः सबैको उपकारी परममित्र हौ। त्यही परममित्र जसले बिराम, दोष, अपराध आदि केही अनुचित काम हुँदा त्यसबाट बच्नलाई खबरदारी गर्छ। जब मानिस स्वार्थान्ध भई परममित्रको उचित न्यायपूर्ण खबरदारीलाई प्रमादवश बिर्सन्छ्न्, तब त्यस परममित्रले प्रसादीसित विद्रोह गर्छ। तिमी पनि साँच्चिकै त्यो खबरदारी गर्ने परममित्रझैँ नै परममित्र हौ, त्योभन्दा एक रौँ परिमाण पनि कम्ती होइनौ।

अब मैले तिम्रो सृष्टिको महत्त्व बुझेँ। यी सबै कुराको विचार गरी भगवान‍‌ले  सबै प्राणीको परममित्रवत् उपकार गर्नालाई तिमीलाई रचना गरेको हो। तिमीजस्तो परममित्रलाई बिना मेहनतले दिने परमेश्वरको म जन्म जन्मान्तर ऋणी हुनेछु। तिम्रो सृष्टि गर्नाले भगवान्‌को सर्वज्ञतामा दोष आउँदैन। प्रत्युत तिम्रो रचनाले त्यसको सर्वज्ञता संसारभरमा चम्किरहेको छ।

हे परममित्र रोग! तिम्रो गुणगान म यस तुच्छ कलमबाट गर्न सक्तिनँ, तिमी बिना मेहनतले आफैँ पाइने परममित्र हौँ। समयसमयमा मबाट भूलचुक हुँदा सधैँ खबरदारी गर्ने दोस्त हौ। धेरैपल्ट तिम्रो खबरदारीले बेसुध हुँदा सधैँ मसित विद्रोह गर्ने हितैषी हौ। प्रमादवश बिराम हुँदा बिना फिस तथा बोलाए बेगर आफैँ आई चिकित्सा गर्ने डाक्टर हौ।

बस अब धेरै कहाँसम्म तिम्रो गुणगान गरूँ। अब मैले तिम्रो मूल्य सम्झेँ। तिमीजस्तो खबरदारी गर्ने परममित्रको आवश्यकता कल्लाई हुँदैन? मलाई त तिम्रो रातदिन दरकार छ। कारण, म अल्पज्ञ छु। मबाट बारबार अपराध हुन्छन्। बिराम हुन्छन्। भूलचुक हुन्छन्। तिमी नभए सधैँ २४ औँ घण्टा खबरदारी गर्ने मित्र कहाँबाट पाउँला? यस कारण हे परममित्र रोग! तिमी कहीँ न जाउ, मेरै घरमा बस। म तिमीसित सम्मानपूर्वक व्यवहार गरी तिम्रो प्रतिष्ठा गर्नेछु।

[शारदा मासिक वर्ष–३, अंक–६, वि. सं. १९९४ श्रावण।]

शुक्रराज शास्त्रीको ‘दु:ख’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =