सहिद दिवस विशेष

राणा शासनका दुई बन्दी दशरथ चन्द र रामहरि शर्माबीचको कुराकानी

'क्रान्ति भन्ने शब्द सुन्नासाथ बहादुरशमशेर पागलजस्तो भयो'

सन्तोष खडेरी १३ माघ २०७९ ६:२९
2.3k
SHARES
राणा शासनका दुई बन्दी दशरथ चन्द र रामहरि शर्माबीचको कुराकानी दशरथ चन्द र रामहरि शर्मा। तस्बिर साभार : प्रजा परिषद् स्वर्णजयन्ती स्मारिका

नेपालमा जहानियाँ राणा शासनविरुद्ध नेपाल प्रजा परिषद् नामक राजनीतिक संगठन खडा गरी केही क्रान्तिकारी अगाडि बढेका थिए। १९९३ साल जेठ २० गते काठमाडौँ ओमबहालस्थित धर्मभक्त माथेमाको फुपाजुको घरमा पाँच जना युवक जम्मा भएर राजनीतिक संस्था खडा गर्ने अठोट गरेका थिए। सबैको सल्लाहले संस्थाको नाम ‘नेपाल प्रजा परिषद्’ राख्ने निर्णय भयो। संस्थाको उद्देश्य स्वेच्छाचारी राणा शासन समाप्त गरी श्री ५ महाराजाधिराजको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने भन्ने निर्णय भयो। अनि सबैले सो उद्देश्य प्राप्तिका लागि जेजस्तो त्याग, बलिदान गर्नुपरे पनि गर्न तयार छौँ भनी श्रीमद्भागवतगीता टाउकोमा राखेर प्रण गरे। संस्थाको अध्यक्षमा सर्वसम्मतिबाट टंकप्रसाद आचार्य छानिए। अन्य चार जनामा दशरथ चन्द (उपाध्यक्ष) , धर्मभक्त माथेमा, रामहरि शर्मा (सचिव) र जीवराज शर्मा थिए।

प्रजा परिषद् गठन भएको २-३ वर्षसम्म त संस्था त्यति सक्रिय भएन। तर संस्थाका सदस्यहरूको संख्या २५ पुग्यो। गठन भएको करिब चार वर्षपछि प्रजा परिषद्ले काठमाडौँ उपत्यकामा राणा शासनविरुद्ध पर्चा छरेको थियो। १९९७ साल असार ९ गते भोटोजात्राको अवसर पारेर प्रजा परिषद्ले काठमाडौँ, भक्तपुर र आसपासका सबैजसो ठाउँमा पहिलो पर्चा छरेको थियो। असार ३० गते प्रजा परिषद्ले अर्को दोस्रो पर्चा पनि छर्यो। साउनमा तेस्रो र भदौमा चौथो पर्चा छरिएका थिए।

प्रजा परिषद्को तिनै पर्चासँगै नेपालमा राजनीतिक आन्दोलनको शंखघोष भएको थियो। ती पर्चा तत्कालीन राणा शासनका लागि अनेपक्षित थिए। पर्चा छरेपछि राणा प्रशासन धरपकडमा उत्रिए पनि प्रजा परिषद्का सदस्यसमक्ष पुग्न सकेको थिएन। तर प्रशासनले व्यापक मात्रामा सुरक्षा र खुफिया एजेन्सी परिचालन गरेसँगै परिषद्कै एकजना सदस्यको पोलबाट त्यसको रहस्य उद्घाटन हुन पुगेको थियो। राणाहरूसमक्ष पोल लगाउने व्यक्ति प्रजा परिषद्कै सदस्य रामजी जोशी थिए भन्ने अन्य सदस्यहरूको ठहर थियो।

कात्तिक २ गते देखि ९ गतेको बीचमा परिषद्का दुई सदस्यबाहेक सबै सदस्यहरू पक्राउ परिसकेका थिए। दशरथ चन्द कात्तिक २ गते बिहानै गंगालाल श्रेष्ठसँगै पक्राउ परेका थिए। रामहरि शर्मा अर्को दिन बिहानै गिरफ्तारीमा परेका थिए।

पक्राउ नपर्ने दुईजनामा मुकुन्दप्रसाद रिमाल र टंकप्रसाद आचार्य थिए। उनीहरू भारतमा थिए। तर टंकप्रसादलाई राणा प्रशासनले पिता बिरामी छन् भनी पिताकै नामबाट तार पठाएर डाकी जनकपुरबाट गिरफ्तार गरी काठमाडौँ ल्याएको थियो।

प्रजा परिषद् काण्डमा राणा प्रशासनले ठूलो संख्यामा करिब ५०० जनालाई गिरफ्तार गरेको थियो पनि भनिन्छ। गिरफ्तार गरिएका सदस्यहरूलाई सिंहदरबारको स्कुल घरमा राखिएको थियो। त्यो स्कुल भवन चन्द्रशमशेरले आफ्ना छोराहरूलाई पढाउनका लागि बनाएका रहेछन्।

स्कुल भवनपछाडि दक्षिणतर्फ एउटा सानो मैदानमा सल्लाका ठूलाठूला रुख थिए। जाडोयाम भएकाले थुनिएका बन्दीहरू घाम ताप्न मैदानमा निस्कन्थे। सुरुसुरुमा त ती बन्दीलाई आपसमा भेटघाट र कुराकानी गर्न प्रतिबन्ध रहेछ। तर बिस्तारै त्यस प्रकारको कडाइ खुकुलो हुँदै गएछ र उनीहरू आपसमा भेटघाट कुराकानी गर्न थालेछन्।

घाम ताप्दै गर्दा थुनामा रहेका प्रजा परिषद्का सचिव रामहरि शर्माले उपाध्यक्ष दशरथ चन्दसँग अन्तर्वार्ता लिएका रहेछन्। त्यसको करिब ४६ वर्षपछि रामहरि शर्माको नामबाट संस्मरणस्वरूप उक्त अन्तर्वार्ताको एउटा अंश प्रकाशित भएको थियो। प्रजा परिषद् पार्टी स्थापनाको स्वर्णजयन्ती समारोहमा २०४३ जेठ २० गते प्रकाशित स्वर्णजयन्ती स्मारिकामा उक्त अन्तर्वार्ता छापिएको छ। त्यस स्मारिकाको सम्पादक रामहरि शर्मा थिए।

अन्तर्वार्ता कुन दिनमा गरिएको थियो भन्ने मिति उल्लेख छैन। तर अन्तर्वार्ता उनीहरूलाई अन्तिम सजाय सुनाउनुभन्दा पहिले लिइएको थियो। सोही मंसिर २८ गते राणाहरूको इजलासमा तत्कालीन राजा त्रिभुवन युवराजलाई समेत उपस्थित गराइएको थियो। उक्त घटनालाई कुराकानीको दिनबाट ९-१० अगाडि उल्लेख भएबाट अन्तर्वार्ता १९९७ पुस ८-९ गते तिर लिएको भन्ने बुझिन्छ। प्रस्तुत छ उल्लेखित स्मारिकामा प्रकाशित उक्त अन्तर्वार्ताको एक अंश :

रामहरि शर्मा : आदरणीय चन्दज्यू! तपाईं हरेक कुरामा हामीभन्दा अग्रणी हुनुहुन्छ। तपाईँ र श्री आचार्यज्यूको नेतृत्व मानेर हामी प्रजा परिषद्का सदस्य भयौँ। प्रजा परिषद्ले निरंकुश राणाशाहीको विरुद्ध संघर्षको थालनी पनि गर्‍यो। चाँडै नै हाम्रो गुप्त संगठनको भेद खुलेर तपाईँ हामी सबै गिरफ्तार भएर यहाँ यस प्रकारले बसिरहेका छौँ। राणा शासकहरू हामीलाई कडा सजाय गर्नेतर्फ सोचिरहेका छन्। यस्तो स्थितिमा हाम्रो आगामी सोचाइ तथा कार्यक्रम के कस्तो हुनुपर्छ? यस विषयमा राम्ररी प्रकाश पारिदिनुहुन्छ कि?

श्रीदशरथ चन्द : प्रिय साथी! सर्वप्रथम त प्रश्नको लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु। कुनै पनि राजनीतिक संगठनका कार्यकर्ताले यस्तो विचार गर्नु नितान्त आवश्यक छ। राजनीतिक जीवनमा यस प्रकारको मारपिट तथा दमनको सामना गर्नुपर्ने कुरा अवश्यम्भावी छ। हामीमध्ये केहीलाई त राणाहरूले निश्चय नै मारिदिन्छन्। मारिनेमध्येमा म पर्दछु भन्ने कुरा पनि निश्चित छ। हामीले बराबर मिटिङ गरेर मर्नुपरे हाँसीहाँसी मर्नेछौँ भनी प्रतिज्ञा पनि गरेका छौँ। तथापि बाँच्नेहरूका लागि कठिन कर्तव्यको बाटो अगाडि छ। प्रजा परिषद्को उद्देश्य राणाहुकुमीलाई हटाउनु मात्र होइन, देशमा रहेका सामन्ती व्यवस्थाको उन्मूलन गरी एउटा स्वच्छ प्रजातान्त्रिक समाज खडा गर्नु पनि हाम्रो संस्थाको उद्देश्य हो। यसका निमित्त लामू समयसम्मको संघर्ष जरुरत पर्दछ।

रामहरि शर्मा : आदरणीय चन्दज्यू! तपाईँले लामू समयसम्म संघर्ष गर्नुपर्दछ भन्नूभयो। यस प्रकारको लामू समयसम्मको संघर्ष कसले कोसंग गर्ने? यो कुरा अलि स्पष्ट गरिदिनुहुन्छ कि?

श्रीदशरथ चन्द प्रिय साथी! मैले भनेको लामू समयसम्मको संघर्ष शोषित, पीडित र दलित जनताले देशका सबै तहका शोषक सामन्तहरूसँग गर्दछन्। हाम्रो देश त ऎलेसम्म जंगली अवस्थामा छ भने पनि अत्युक्ति हुँदैन। जनतालाई गासबास र शिक्षादीक्षाको केही प्रबन्ध छैन। यसले गर्दा जनजागृति हुन सकेको छैन। जनजागृति नभई देशका शोषक, सामन्त, ठालु जमिनदारहरूको उत्पीडनबाट देशवासीलाई मुक्त गर्न सकिँदैन। यसैले यो संघर्ष लामू समयसम्म हुन्छ भनेर मैले भनेको हुँ।

रामहरि शर्मा : श्रद्धेय चन्दज्यू! हाम्रो देशमा विद्यमान राणाहरूको मनपरीतन्त्र सितिमिति हट्ला जस्तो छैन। कदाचित् यसलाई हटाउन सकियो भने यस ठाउँमा प्रजातान्त्रिक परिपाटीको स्थापना गरेर कानुनद्वारा नै यी सबै तहका सामन्तहरूको अन्त गर्न सकिँदैन र?

श्रीदशरथ चन्द : बहुतै गाहारो हुन्छ। जनताको आर्थिक तथा शैक्षिक स्तर नउठेसम्म प्रजातान्त्रिक परिपाटीमाथि पनि धनीमानी ठूलाठालु सामन्तवर्गकै आधिपत्य रहन्छ। अलिकति हावा बदलिनासाथ उनै सामन्तहरू कोट र टोपी फेरेर प्रजातन्तवादी हुन आइपुग्छन्। भूमिसुधार, जिमीदाफी उन्मूलन, बिर्ता बितलब खारेजी सम्बन्धी सबै प्रकारका कानुनमा यिनीहरू १० औँलाले सहीछाप हाल्दछन् तर यथार्थमा उनीहरूको पुरानु सामन्ती स्वार्थ अक्षुण्ण रहेको हुन्छ। यस प्रकारका सुधारका कानुनहरूले यथार्थ रूप तबमात्र लिन सक्दछन् जब देशका सर्वसाधारण जनता चेतनशील भएर आफ्नो कानुन प्रदत्त अधिकार उपभोग गर्न सक्ने हुन्छन्।

रामहरि शर्मा : श्रद्धेय चन्दज्यू! तपाईँलाई, मलाई र हामी प्रजापरिषदका सबैजसो कार्यकर्तालाई थाह छ कि श्री ५ त्रिभुवनले राणाशासनविरोधी हाम्रो आन्दोलनलाई समर्थन गरिबक्सेको छ। कदाचित् भोलि स्थिति बदलिएको खण्डमा राजाबाट जनपक्षका लागि गहकिला कदमहरू उठ्न सक्दैनन् र? यसमा तपाईँको के विचार?

श्रीदशरथ चन्द : प्रिय साथी! ऎलेसम्म तपाईँहामीले राजा त्रिभुवनसँग प्रत्यक्ष भेटघाट गर्न पाएका छैनौँ तापनि साथी धर्मभक्त र साथी चन्द्रमानमार्फत हामीले मौसुफका विचारहरू बुझेका छौँ। मौसुफलाई राणाहरूले मलबन्दी बनाएर राखेका छन् तापनि मौसुफले विश्वपरिस्थितिको राम्रो अध्ययन गरिबक्सेको छ। नेपाललाई सच्चा प्रजातन्त्रको बाटोमा लगेर राष्ट्रको चौतर्फी विकास गराउने मौसुफको इच्छा छ।

तर सम्बन्ध थाह पाएर राणाहरूले उहाँमाथि कडा निगरानी राखेका छन् भन्ने सुनिन्छ। १०० वर्षसम्मको यिनीहरूको शासनकालमा राणाहरूले हाम्रो राजपरिवारलाई आफ्नो पारिवारिक जालभित्र पारिसकेका छन्। नजिकका नातासम्बन्धले पनि ठूलो भूमिका खेल्दछ। श्री ५ त्रिभुवन गोरखामा लगी नजरबन्द राख्ने पनि कुरा राणाहरूले चलाइरहेका छन्। हेरौँ, कसो हुन्छ। मेरो भनाइको निचोड के भने भविष्यमा राजा त्रिभुवनले देश र जनताको लागि अवश्य पनि केही गरिबक्सिन्छ। यसमा मलाई विश्वास छ।

‘मेरो कसैसँग पनि साठगाँठ छैन। भारतीय वा अन्य कुनै विदेशीको सहयोग लिएर काम गर्ने हाम्रो सिद्धान्त होइन। नेपाली जनतामा विश्वास गरेर नेपालीकै सहयोगले क्रान्ति गर्ने हाम्रो लक्ष्य छ।’

प्रिय साथी! हालसालैको एउटा कुरा तपाईँले थाह पाउनुभएको छ कि छैन? गत मार्ग २८ गते अर्थात् ९-१० दिनअघि राणाहरूको चार कम्यान्डिङहरूको इजलासमा श्री ५ त्रिभुवन र मौसूफका तीनै जना छोरा युवराजहरूलाई उपस्थित गराइयो। मौसूफहरूसँग बयान पनि लिइएछ। मेरो पालो बस्ने पारस दलको १ जना सिपाहीले सबै कुरा सुनेको रहेछ। उसलाई पनि राजालाई अपमान गरेको मन परेको रहेनछ।

ऊ भन्दथ्यो- जर्नेल बहादुरशमशेरले दुर्वाच्य बोलेर राजाको अपमान गर्‍यो। यसप्रकार राणाहरू मदोन्मत्त भएर आफ्नै मालिकको पनि अपमान गर्दैछन्। झन् हामी दुनियाँदारहरूलाई त यिनीहरूले के के गर्ने हुन्? कम्पाउन्डर चन्द्रमानलाई पिट्दापिट्दा अधमरो गराएको छ। केही दिनअघि बहादुरशमशेरले मलाई पनि चुटेर थला बसालिदियो।

मलाई उसको सामुन्ने लगेर भन्यो- ‘लौ भन्, हिन्दुस्थानको कुन क्रान्तिकारी दलसँग तेरो साठगाँठ छ?’ मैले भनेँ, ‘मेरो कसैसँग पनि साठगाँठ छैन। भारतीय वा अन्य कुनै विदेशीको सहयोग लिएर काम गर्ने हाम्रो सिद्धान्त होइन। नेपाली जनतामा विश्वास गरेर नेपालीकै सहयोगले क्रान्ति गर्ने हाम्रो लक्ष्य छ।’ ‘क्रान्ति’ भन्ने शब्द सुन्नासाथ बहादुरशमशेर पागलजस्तो भयो र मलाई बाँसमा झुण्डाएर कोर्रा लगाउने आदेश दियो। त्यो पिटाइको चोट मेरो शरीरमा ऎलेसम्म पनि छ।

यसप्रकार राणाशासकहरू राजा प्रजा दुवै थरीलाई दमन गरेर आफ्नो राक्षसी स्वार्थ अक्षुण्ण राख्ने कोसिसमा छन्। यिनीहरूकै कोसिस सधैँ सफल हुन्छ भन्ने कुरा होइन। नियतिले अर्कै कार्यक्रम बनाइसकेको हुन्छ। मैले त अघि नै भनिसकेको छु, मलाई यिनीहरूले जिउँदो छाड्दैनन्। तिमीहरूलाई मारेनन् भने पनि सख्त कारावासको सजाय अवश्य दिन्छन्। बाँचिरहे कारावासबाट छुट्ने सम्भावना पनि हुन्छ। कारामुक्त भयौँ भने देशलाई गरिबी, अशिक्षा र निहित स्वार्थवालाहरूको हतकडी, बेडीबाट मुक्त गराउन इमानरीपूर्वक काम गर्दै जाने लक्ष्य तिमीहरूले राख्नुपर्दछ। यही नै मेरो सबै साथीहरूलाई अन्तिम सल्लाह छ। अब धेर बेर गफ नगरौँ, राणाहरूका जल्लाद आठ पहरियाहरूले देखिरहेका छन्। बढी गफ गरे उनीहरूलाई पनि गाल पर्दछ।

00

सोही वर्ष माघ ६ गते पक्राउ परेका मध्ये चार जना शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई सर्वस्वसहित मृत्युदण्ड सुनाइएको थियो। १० गते शुक्रराज शास्त्रीलाई टेकुमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो। १३ गते धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याइएको थियो। दशरथ चन्द र गंगालाल श्रेष्ठलाई १६ गते शोभाभगवतीमा गोली हानि मृत्युदण्ड दिइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =