नागरिकता विवाद

राज्य संयन्त्रमाथि ‘ठट्टा गर्दा’ १० महिनामै उचाइमा पुगेर ‘शून्य’ मा झरे रवि लामिछाने

हिमाल प्रेस १३ माघ २०७९ १८:३१
86
SHARES
राज्य संयन्त्रमाथि ‘ठट्टा गर्दा’ १० महिनामै उचाइमा पुगेर ‘शून्य’ मा झरे रवि लामिछाने

काठमाडौँ- राज्य संयन्त्रलाई ठट्टा गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली राजनीतिमा प्रवेशको १० महिनामै शून्यमा पुगेका छन्। अमेरिकी नागरिकता त्यागे पनि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गर्न चुकेका कारण सांसद र उपप्रधानमन्त्री पद गुमाउन पुगेका हुन्। नेपाली नागरिकका आधारमा पाउने कुनै पनि अधिकार नपाउने भएपछि तत्काल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि रहने छैनन्।

स्वतन्त्र पार्टी गठन गरेको छोटो समयमै संसद्को बलियो शक्ति बनाउन सफल लामिछानेले आफ्नै नागरिकताबारे नेपाली कानुन मिच्न खोज्दा ‘कानुनी फन्दा’मा परे। यो सँगै उनको संसद् र उपप्रधानमन्त्री एवम् गृहमन्त्री पद गुमेको छ। नागरिकता पुनः प्राप्तिको प्रक्रियामा सहभागी हुनेबित्तिकै नागरिकता पाउने भए पनि उनलाई फेरि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न त्यति सजिलो छैन।

लामिछाने राजनीतिमा लागेको छोटो समयमै शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्वमा पुगेको भन्दै नेपाली राजनीतिमा उनको विशेष चर्चा हुँदै आएको थियो। तर बहाली भएको ३२ दिनमै उनले पद गुमाउनुपरेकाे छ। लामिछाने पुस ११ गते उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्त भएका थिए। उनी चितवन निर्वाचन क्षेत्र- २ बाट निर्वाचित भएका हुन्।

लामिछाने टेलिभिजन कार्यक्रम प्रस्तोताबाट राजनीतिमा आएका हुन्।

असारसम्म टेलिभिजन कार्यक्रममा रवि लामिछाने सरकारको प्रतिपक्षी नेताझैँ प्रस्तुत हुन्थे। कार्यक्रममा उनको प्रस्तुति कडा हुन्थ्यो। घटना वा विषयवस्तुको तथ्यभन्दा उनी कुनै विषयमा नेताले जस्तै भाषण गर्थे। जनताको मन जित्न खोज्थे। त्यसैले सर्वसाधारणदेखि नेतासम्मले उनको कार्यक्रममा रुचि राख्थे। टेलिभिजन कार्यक्रममा चर्को बोलीबाट पहिचान बनाएका रवि असारमा मात्रै राजनीतिमा प्रवेश गरेका हुन्। आफैँले पार्टी गठन गरेर छोटै अवधिमा सफल हुनेमध्येमा पर्छन् रवि।

रविले एक महिनाअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको शपथ लिएका थिए। चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट संसद्मा निर्वाचित रवि राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति हुन्। रविले निर्वाचन लड्ने घोषणा गरेपछि माओवादी अध्यक्ष दाहालले आफू चुनाव लड्दै आएको क्षेत्र चितवन छाडेर गोरखा गएका थिए।

सन् २०१३ को अप्रिलमा न्युज ट्वान्टी– फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय अन्तर्वार्ता चलाएर गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेपछि रवि टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा चर्चामा आएका थिए। उनले सञ्चालन गर्ने ‘सीधा कुरा जनतासँग’ लोकप्रिय बन्न पुग्यो।

२०७९ मा लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकबाट राजीनामा दिए। त्यसपति उनको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको थियो। उनी त्यही पार्टीबाट चुनाव लडेर संसद्मा निर्वाचित भएका थिए। उनको पार्टीले प्रत्यक्ष र समानुपातिक गरी संसद्‌मा २० जितेको छ। अब उनको पद गुमेसँग रास्वपाको १९ सिटमा सीमित भएको छ।

व्यवस्था बदल्न नभई नेपाली जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताउने रविले तर जनताले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =