द्विपक्षीय सम्बन्ध स्थापनाको ७५औँ वर्षमा नेपाल-भारत सहयोगका ७५ परियोजना

हिमाल प्रेस ९ माघ २०७९ १९:४१
18
SHARES
द्विपक्षीय सम्बन्ध स्थापनाको ७५औँ वर्षमा नेपाल-भारत सहयोगका ७५ परियोजना

काठमाडौँ– नेपाल-भारत द्विपक्षीय सम्बन्ध स्थापनाको ७५औँ वर्षमा भारतको सहयोगमा निर्माण भएका र भइरहेका ७५ वटा विकासका परियोजना सार्वजनिक गरिएको छ। सोमबार काठमाडौँमा आयोजित ‘नेपाल-भारत विकास साझेदार सम्मेलन’मा भारतको सहयोगमा निर्माण भइरहेका विभिन्न क्षेत्रका परियोजनाबारे जानकारी गराइएको हो।

भारतले बनाइरहेका ७५ मध्ये ४८ वटा परियोजना भूकम्प पुनर्निर्माणका छन्। त्यसका साथै रेलमार्ग, ऊर्जा, शिक्षा, स्वास्थ्य, यातायात, विपद् व्यवस्थापनलगायत क्षेत्रमा भारतीय परियोजना सञ्चालन भइरहेका छन्।

भारतको सहयोगमा निर्माण भएको ३४.९ किलोमिटर लामो जयनगर-जनकपुर रेलमार्ग २०७८ चैतमा उद्घाटन भइसकेको छ। जयनगर-बिजलापुर-बर्दिबास रेलमार्ग परियोजनाअन्तर्गत यस खण्डको निर्माण ८ अर्ब ७७ करोड रुपैयाँको लागतमा भएको हो।

भारतीय सहयोगमा रक्सौल-काठमाडौँ रेलमार्गको स्थलगत सर्वेक्षणको ५० प्रतिशत काम भइसकेको छ।

नेपाल विद्युत् उत्पादन परियोजनाको विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको निर्माण, ऊर्जा व्यापार, राष्ट्रिय प्रसारण लाइनको सञ्चालन तथा ऊर्जा परिचालनमा पनि दुई देशबीच सहकार्य हुँदै आएको छ। भारतको सहयोगमा ३१ करोड ६९ लाख रुपैयाँ लागतमा त्रिभुवन विश्वविद्यालय परिसरमा केन्द्रीय पुस्तकालय निर्माणाधिन छ। त्यसका साथै विभिन्न छात्रवृत्तिमार्फत् नेपाली विद्यार्थीलाई नेपाल र भारतमा अध्यापनसमेत गराइरहेको छ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले ‘छिमेक पहिलो’ नीति अंगीकार गर्दै सहयोग निरन्तर गरिरहेको बताए। उनले भने, ‘भारतको यो नीतिमा नेपालको विशेष स्थान छ, विकास सहायताका साथै साँस्कृतिक परम्परामा समेत हाम्रो साझेदारी छ।’

नेपाल-भारत विकास सहायताका परियोजनाले दुई देशका सरकार मात्रै नभएर जनताबीचको गहिरो सम्बन्ध र संस्कृतिलाई प्रतिबिम्बत गर्ने राजदूत श्रीवास्तवले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =