आर्सनलसँग हारेपछि टेन हाग भन्छन् : युनाइटेडका खेलाडीले मानसिकता परिवर्तन गर्नुपर्छ

हिमाल प्रेस ९ माघ २०७९ ९:२४
2
SHARE
आर्सनलसँग हारेपछि टेन हाग भन्छन् : युनाइटेडका खेलाडीले मानसिकता परिवर्तन गर्नुपर्छ

काठमाडौँ- म्यानचेस्टर युनाइटेडलाई उपाधि दाबेदार टिम बनाउन हो भने खेलाडीहरूले मानसिकता परिवर्तन गर्नुपर्ने प्रशिक्षक एरिक टेन हागले बताएका छन्। इंग्लिस प्रिमियर लिगमा आइतबार राति आर्सनलसँग ३–२ ले हारेपछि टेन हागले आफ्ना खेलाडीरूले महत्त्वपूर्ण खेलमा गल्ती गर्न नछाडेको भन्दै असन्तुष्टि व्यक्त गरे।

इमिरेट्स रंगशालामा आर्सनललाई ९० औँ मिनेटमा जित दिलाउन एड्वार्ड नेकेटियाले निर्णायक गोल गरेका थिए। त्यसअघि पहिलो हाफमा नेकेटियाले नै बराबरी गोल गरे।

शीर्ष दुईसँग दूरी घटाउने लक्ष्य लिएर मैदान उत्रिएको युनाइटेडले १७ औँ मिनेटमा गोल गरेको थियो। लिगका पछिल्ला पाँच खेलमा चार गोल गरेका मार्कस रासफार्डले लगभग २५ यार्ड टाढाबाट सुन्दर गोल गरेपछि युनाइटेड खेलमा अघि बढ्यो।

तर त्यसको सात मिनेटपछि नै नेकेटियाले आर्सनललाई खेलमा फर्काए। जाकाबाट आएको क्रसलाई नेकेटियाले गोलमा परिणत गरे। दोस्रो हाफको ५३ औँ मिनेटमा अन्ततः आर्सनलले अग्रता बनायो। बुकायो साकाले रासफोर्डले झैँ टाढाबाट गरेको प्रहारले पोस्टको दिशा लिएको थियो।

दोस्रो गोल खाएको ६ मिनेटपछि नै युनाइटेड खेलमा फर्किएको थियो। क्रिस्टियन एरिक्सनले प्रहार गरेको कर्नरबाट आएको बललाई आर्सनलका गोलरक्षक आरोन राम्स्डेलले पन्च गरेका थिए। तर बललाई कसैको नजरमा नरहेका लिसान्द्रो मार्टिनेजले हेडर गोलमा परिणत गरे।

खेल बराबरीमा टुंगिन लाग्दा नेकेटियाले आर्सनलको तेस्रो गोल गर्न सफल भए। लेफ्ट विंगबाट अलेक्जान्डर जिन्चेन्कोले दिएको क्रसलाई कप्तान मार्टिन ओडेगार्डले पहिलो टचमै नेकेटिया भएतिर पठाइदिए। ६ यार्ड बक्सभित्र रहेका नेकेटियाले पनि पहिलो टचमै गोल गरे।

‘तासको पत्ता ढले जसरी हामीले एकपछि अर्को गोल खायौँ,’ आक्रोशित देखिएका टेन हागले भने। गत बुधबार क्रिस्टल प्यालेससँगको खेलमा पनि युनाइटेडले यसरी नै ९० औँ मिनेटमै गोल खाएको थियो।

‘खेलको प्रकृति अनुसार आर्सनललाई बराबरी गर्नु नै ठूलो उपलब्धि हुने थियो। यस्तोमा अन्तिममा पुगेर गोल खानै हुँदैन। यस्तो महत्त्वपूर्ण खेलको निर्णायक समयमा गल्ती गरेर, गोल खाएर उपाधि जित्ने टिम बन्न सकिँदैन। खेलाडीहरूले मानसिकता परिवर्तन गर्नुपर्छ। मैले यो सन्देश सबै खेलाडीलाई दिइसकेको छु,’ टेन हागले भने।

यो हारपछि पनि युनाइटेड चौथो स्थानमा छ। युनाइटेड र तेस्रो स्थानको न्युकासल युनाइटेडले २०–२० खेलबाट ३९–३९ अंक बटुलेका छन्। शीर्ष दुईमा रहेका आर्सनल र सिटीको ५० र ४५ अंक छ। आर्सनलले १९ र सिटीले २० खेल खेलेको छ।

प्रकाशित: ९ माघ २०७९ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =