महेश संस्कृत गुरुकुलम्‌का किशोरका ‘काँडा उमार्ने कविता’

हिमाल प्रेस ७ माघ २०७९ ७:२९
126
SHARES
महेश संस्कृत गुरुकुलम्‌का किशोरका ‘काँडा उमार्ने कविता’ मकर काव्य यामिनी २०७९ मा कविता वाचन गर्दै जीवनाथ आचार्य र काशीराज दाहाल। तस्बिरहरू : महेश सन्न्यास गुरुकुलम्।

देवघाटधाम (तनहुँ)- साहित्य सिर्जना गर्न शब्दज्ञान भएर मात्रै पुग्दैन, साधना चाहिन्छ। निरन्तरको साधनाले नै सरस र सरल काव्य सिर्जना गर्न सक्छ कविले। प्रश्न उठ्छ, साधना गर्न उमेर कति? तपाईँलाई लाग्न सक्छ, किशोर अवस्था पार गरेको, यथेष्ट अध्ययन गरेर शब्दभण्डारको ज्ञान भएको र समय परिस्थितिलाई राम्ररी बुझेपछि व्यक्ति साधनामा डुब्न थाल्छ।

तर साधना गर्नका लागि यी सबै कुरा आवश्यक पर्दो रहेनछ भन्ने उदाहरण बनेका छन् देवघाटस्थित महेश स‌ंन्यास गुरुकुलम्‌का छात्रहरू। जसरी निरन्तर बगिरहेकी कालीगण्डकीको धारले रगडीरगडी शालिग्राम तयार गर्छिन्, त्यसरी नै गुरुकुलम्‌का आचार्यहरूको प्रयासले किशोरहरू उच्चस्तरीय कविता रचना गर्न सफल भएका छन्। अर्थात् आचार्यहरूको प्रयासले नै बटुकहरू साहित्य सिर्जनामा उदीयमान हुँदैछन्।

कोकिलकण्ठी कवि किशोरहरूको कविता श्रवण गर्दा जोकोहीलाई लाग्न सक्छ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र आदिकवि भानुभक्त आचार्यजस्ता स्रष्टा यही समूहबाट फेरि जन्मने हुन् कि! भनिन्छ, तीक्ष्ण प्रतिभा भएका व्यक्तिले मात्रै समयानुकूल साहित्य रचना गर्न सक्छ।

यस्तै किशोरमध्येका एक हुन् कक्षा ७ का काशीराज दाहाल। गुरुकुलम्‌मा प्रवेश गरेको दुई वर्षमै उनले छन्दमा कविता लेखेर वाचन गरी पुस मसान्तको रातमा मकर स्नानका लागि देवघाटधाममा भेला भएका श्रद्धालुलाई साहित्यिक रसास्वादन मात्रै दिलाएनन्, गुरुकुलम्‌ले सनातन संस्कृति र सभ्यतालाई जीवन्त बनाइराख्न कसरी गौरवपूर्ण काम गरिरहेको छ भन्ने दृष्टान्त पनि प्रस्तुत गरे।

दाहालले ‘नेपाल परिचय’ शीर्षकमा मन्दाक्रान्ता छन्दमा रचित कविता वाचन गर्दै गर्दा प्रशंसामा गुरुकुलम्‌को खचाखच हलले ताली बजायो। उता मञ्चमा आसीन कवि देवी नेपाल र कवयित्री भवानी खतिवडाबीच कानेखुसी चलेको स्पष्ट देखिन्थ्यो। कविता वाचनका क्रममा कवयित्री भवानीले त्यो कानेखुसीलाई सभामा व्यक्त गरिन्। उनले भनिन्, ‘ज्ञानवृत्त गुरुहरू हेर्दा कलिला छन् तर उनीहरूले रचना गरेका कविता सुन्दा देवी सर र मेरा त जिउमा काँडा उम्रिए।’ दाहालले वाचन गरेको कविता कुनै प्रतिष्ठित कविको कविता भन्दा कम गुणस्तरीय थिएन।

यस्तै अर्का किशोर कवि हुन् कक्षा ८ का जीवनाथ आचार्य। ‘नेपाल’ शीर्षकमा उनले रचना गरेको शार्दूलविक्रीडित छन्दको कविता त्यस्तै अब्बल थियो। कवितामार्फत उनले नेपाली सौन्दर्यको बयान गरे भने माटोको महिमा गाउन बुद्धिले नसक्ने यथार्थ पनि प्रस्ट पारेका थिए।

पुस ३१ गते साँझ देवघाटस्थित महेश सन्न्यास गुरुकुलम्‌ले २० औँ मकर काव्य यामिनी २०७९ आयोजना गरेको थियो। उक्त कार्यक्रममा गुरुकुलम्‌का छात्रसहित विभिन्न ठाउँबाट पुगेका कविहरूले कविता वाचन गरेका थिए।

कवितामा देशप्रेम र वीरताको बयान

काव्य यामिनीमा वाचन गरिएका कवितामा देशप्रेमका भावना छताछुल्ल भएका थिए। उच्च हिमाली सौन्दर्यको बयानदेखि, त्यहाँको जनजीवन, जीवनशैली, प्राकृतिक सम्पदाको वर्णन वाचित कवितामा पाइन्छन्। बटुकहरूले वाचन गरेका कविता सुन्दा त्यहाँ नेपालको सम्पूर्ण भूगोल अटाएको आभास हुन्थ्यो। नेपाली वीरताको सम्मान, बहादुरीको प्रशंसा गरिएका कविता सुन्दा श्रोताहरू काव्य झंकार उत्पन्न भएको बताइरहेका थिए।

प्रकृतिलाई माया गर्नुपर्छ, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ र मौलिकपन भुल्नु हुँदैन भन्ने अभिव्यक्ति उनीहरूका कवितामा पाइन्छन्। सत्ता र स्वार्थको पछाडि लागेर कर्तव्य भुलेको यथार्थ कवितामा व्यक्त भएका थिए। भाषा, भेष र मौलिकता जोगाउनुपर्ने सन्देश उनीहरूका कविताले दिएका छन्।

अर्काको पछाडि दौडिनुभन्दा आफ्नो संस्कार र संस्कृतिलाई भुल्न नहुने, विचार स्वच्छ हुनुपर्ने, कुत्सित वृत्ति त्याग्नुपर्ने जस्ता सुधारवादी दृष्टिकोण प्रस्तुत गरेर बटुकहरूले सात्विक जीवनशैलीले मात्र लक्ष्यमा पुग्न सकिने भाव व्यक्त गरेका थिए। यसो गरेमा धर्ती स्वर्ग बन्ने र नेपाल आमा हँसाएर सुन्दर भविष्य कोर्ने उनीहरूको चाहना देखिन्छ।

जीवनप्रतिको आशा

काव्य यामिनीमा वाचन गरिएका अधिकांश कविता जीवन र भविष्यप्रतिको आशावादितामा केन्द्रित छन्। मानवीय कुण्ठा र निराशाको आवाज त्यति पाइँदैनन्। समसामयिक राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा रचना गरिएका कविता समाज सुधारका पक्षमा बोलेका छन्। लक्ष्यमा पुग्नका लागि बहादुरीपूर्वक अगाडि बढ्नुपर्छ भन्ने जीवनप्रतिको सकारात्मक दृष्टिकोण कवितामा पाइन्छ। प्रविधिले ल्याएको विकृतिमाथि व्यंग्य गरिएका कविताले  नयाँ पुस्ता प्रविधिको दुरुपयोगमा लाग्न थालेको चिन्ता व्यक्त गरिएका छन्।

यस्तै केही कविहरूले मायाप्रीतिका कविता सुनाएर काव्य यामिनीलाई थप रोचक बनाएका थिए। गुरुकुलमा बटुकहरू मात्रै अध्ययन गर्दैनन्। किशोरीहरूका लागि छुट्टै गुरुकुल सञ्चालित छन्। कार्यक्रममा गार्गी कन्या गुरुकुलम्‌का पूर्णिमा बुढाथोकी,चेतना वाग्ले, लक्ष्मीदेवी गौतमलगायतका किशोरीले पनि कविता सुनाए। रुपेश रिजालले भने संस्कृत भाषामा रचना गरिएको कविता सुनाए।

काव्य यामिनीमा गद्य कविताका साथै मन्दाक्रान्ता, शालिनी, मालिनी, नर्कुटक, झ्याउरे, भुजंगप्रयात, इन्दिरा, युक्तिका, शार्दूलविक्रीडित छन्दका कविता वाचन गरिएका थिए। ४० भन्दा बढी कविले वाचन गरेका कविताहरू  विषयवस्तु, कवित्व र छन्दसाधनाका दृष्टिकोणले निकै सबल छन्।

देवघाटधाम क्षेत्रमा प्रायः सबै गुरुकुलका कविकवयित्रीहरू सहभागी रहेको उक्त कार्यक्रममा  विश्वास ढकाल, वीरेन्द्र नेपाल, आदर्श घिमिरे, भवानी खतिवडा, शुभांग सुवेदी,  विवेक पराजुली, कृष्णशरण उपाध्याय, सुरेन्द्र अस्तफल, शिवराज दुवाडी, किरण भण्डारी, अपिल खनाल,  कपिलदेव भट्टराईलगायतले कविता वाचन गरेका थिए।

केही कविता मायाप्रेम र गजलशैलीका पनि थिए। यस्तै कविमध्ये एक हुन् लक्ष्मण संगम। उनले वाचन गरेको गजलको एउटा अंश :

यो मन हो तिमीले मात्रै दुखाउन सक्ने, यो शरीर त सुई लगाउँदा पनि दुख्छ।

गुरुकुलम्‌का ससाना छात्रहरूले छोटो अवधिमै कसरी स्तरीय कविता सिर्जना गर्न सक्षम भए त? प्राचार्य कमल सुवेदी भन्छन्, ‘यहाँ हरेक साता काव्य साधना हुन्छ। त्यसमा काव्य गुनगुनाउने गरिन्छ। गुरुकुलम्‌बाट लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, भानुभक्त आचार्य, माधव घिमिरेजस्ता कवि जन्मियून् भन्ने उद्देश्य छ। हामी त्यहीअनुसार अघि बढिरहेका छौँ।’

माघे संक्रान्तिका दिन नारायणी र कालीगण्डकीको संगमस्थलमा स्नानका लागि जाने काव्यपारखीलाई काव्यगंगाको आनन्द दिलाउने उद्देश्यले विगत २० वर्षदेखि महेश सन्न्यास गुरुकुल आश्रमले ‘मकर काव्य यामिनी’ आयोजना गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =